विद्यार्थीको हातमा झोला थिएन, एकसरो मैलो लुगा र चुँडिएको चप्पल लगाउने धेरै


काठमाडौं १ फागुन / संविधानले शिक्षालाई अधिकारका रुपमा ग्यारेण्टि गरे पनि अधिकाँश सामुदायिक विद्यालयको अवस्था दयनीय रहेको खबर सार्वजनिक हुने क्रम जारी छ । बैतडीको गढीमा रहेको दशरथचन्द आधारभूत विद्यालयको अवस्थाले उक्त तथ्यलाई पुष्टि गरेको छ । 

गोरखापत्रमा भाषा पाठशालामा हलिया बालबालिका मात्र शिर्षकमा लक्ष्मी खतिवडा र गोकर्ण दयालले लेखेको खबर अनुसार विद्यालयको इतिहास निकै पुरानो भए पनि अहिले यहाँ अध्ययनरत बालबालिकाको अवस्था अत्यन्तै दयनीय छ । बैतडीको गढीमा वि.सं. १९७६ जेठ २ गते भाषा पाठशाला स्थापना भएको विद्यालयको साइन बोर्डमा लेखिएको छ । तर तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरले वि.सं. १९५७–५८ मा ११४ दिन प्रधानमन्त्री हुँदा तराई र पहाडमा भाषा पाठशाला खोलेका थिए । सम्भवतः त्यसै बेला खोलिएको भाषा पाठशाला हुन सक्ने कतिपयको भनाइ छ । त्यस्तो ऐतिहासिक विद्यालयमा अहिले भने हलिया समुदायका बालबालिका मात्र अध्ययन गर्छन् । यसअघि गाउँका ठूलाबडाका छोराछोरीले पनि पढ्ने गरेको यो विद्यालयमा अहिले दलित र मुक्त

हलियाका बालबालिका मात्र अध्ययन गर्ने गरेको स्थानीयवासी बताउँछन् । गोरखापत्रकर्मी विद्यालयमा पुगेको दिन विद्यालयले उनीहरूलाई पहिलो पटक दिउँसोको समयमा निःशुल्क खाजा वितरण गरेको थियो । भोक लागेको समयमा विद्यालयमा हलुवा, चना र पुरी खान पाउँदा उनीहरू फुरुङ्ग देखिन्थे ।

लामबद्ध भएर उभिएका उनीहरूलाई हामीले सोध्यौँ, “आज सबैभन्दा बढी भोक कसलाई लागेको थियो । ल हात उठाऊ त ? विद्यालयको चउरमा लामबद्ध सबैले खुसी हुँदै एकै पटक हात उठाए । ” त्यसपछि एकले नजिकै रहेको साथीलाई देखाउँदै भन्न थाले, “यो पनि आज भोकै विद्यालय आएको, त्यो पनि भोकै आएको । ”

दुुई चार जनाबाहेक कुनै विद्यार्थीको हातमा झोला थिएन । सुकिलो पोसाक थिएन । न्यानो लुगा थिएन । गाता भएको किताब थिएन । घरमा काम गर्दा लगाउने एकसरो मैलो लुगा र चुँडिएको चप्पल लगाउने धेरै थिए । कति विद्यार्थीले चप्पलको तुना चार पाँचवटासम्म काँटीले अड्याएको प्रस्ट देखिन्थ्यो । कतिको चुँडिएकै चप्पल थियो । शताब्दी नाघेको ऐतिहासिक विद्यालयको भौतिक संरचना पनि अत्यन्तै जीर्ण छ । शौचालयमा पानी छैन । विद्यालयको भवनपछाडि आधा भागमा पहिरो खस्न लागेको छ ।

हुरीले विद्यालयको छानो उडाउँदा रेडक्रसले ५० हजार रुपियाँ सहयोग गरेर बल्ल विद्यार्थी ओत लाग्न पाएको एक शिक्षकले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुराम भुलले भन्नुभयो, “यो विद्यालयमा गरिब, दलित र मुक्त हलियाका बालबालिका मात्रै अध्ययनरत भएकाले विद्यालय सुधार गर्न कसैले चासो नदेखाएको हो । ”विद्यालयमा ६५ विद्यार्थी भर्ना भए पनि हरेक दिन ३० देखि ४० जना मात्र नियमित विद्यालय आउने उहाँले बताउनुभयो । प्रधानाध्यापक सरपसिंह ठगुन्नाका अनुसार हलिया समुदायका अभिभावक दिनभरि गिट्टी कुटने र ज्यामी काम गर्छन् । त्यसरी कमाएको पैसाबाट रक्सी खाने र घरमा बालबालिकालाई कुटपिटसमेत गर्छन् । यो समुदायसँगै विद्यालयको अवस्था पनि सुधार हुन सकेको छैन ।