Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

लक्ष्य असफल हुने संकेत

विहीबार, ०१ फागुन २०७६

काठमाडौं १ फागुन / आगामी शैक्षिक सत्रबाट कक्षा ६ देखि ८ सम्मका रङ्गीन पाठ्यपुस्तक सबै विद्यार्थीको हातमा पुर्याउने लक्ष्य असफल उन्मुख देखिएको छ । 

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले समयमै पाठ्यपुस्तक पुर्याउँछु भन्दै ढाँट्दै जनक शिक्षा शिर्षकमा लेखेको खबर अनुसार कागज अभावको कारण देखाउँदै जनकशिक्षा सामग्री केन्द्रले पुस्तक छाप्न सकेको छैन। तथ्याङ्कअनुसार कक्षा ६–८ मा अध्ययनरत विद्यार्थीका लागि १ करोड १० लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ। तीमध्ये हालसम्म करिब २७ लाख थान मात्र पाठ्यपुस्तक छपाइ भएको छ। रङ्गीन पुस्तक छपाइ गर्न नसकेपछि जनकले आजबाट शैक्षिक सत्र शुरू हुने डोल्पा, हुम्ला, जुम्ला, मनाङ र मुस्ताङमा केही रङ्गीन र बाँकी एक रङको पुस्तक पुर्याएको छ।

जनक स्रोतका अनुसार स्टक क्लियर गर्न भन्दै फागुनबाट शैक्षिक सत्र शुरू हुने जिल्लाका अधिकांश विद्यार्थीका हातमा एक रङको पाठ्यक्रम पुर्याएको छ। जनक शिक्षाका प्रवक्ता चित्र आचार्यले कागज अभावले गर्दा पाठ्यपुस्तक छपाइ गर्न ढिलाइ भएको स्विकार्नुभयो।

उहाँले भन्नुभयो– ‘मंगलबार राती कागज आइपुगेको छ, अब थप पाठ्यपुस्तक छपाइलाई निरन्तरता दिनेछौं।’ कागज अभावका कारण विगत तीन दिनदेखि पाठ्यपुस्तक छपाइ हुनसकेको थिएन।

प्रवक्ता आचार्यका अनुसार हालसम्म कक्षा ६ र ७ का लागि १०–१० र ८ कक्षाको ७ गरी २७ लाख थान पाठ्यपुस्तक छपाइ भएको छ। कक्षा ६–८ को अझै ८० लाख थान पाठ्यपुस्तक छपाइ हुन बाँकी छ।

सरकारले चार वर्षअघि १–३ र दुई वर्षअघि ४ र ५ कक्षाका लागि रङ्गीन पुस्तक छपाइ गर्ने निर्णय गरेको थियो। यो वर्ष आगामी शैक्षिक सत्र २०७७ का लागि कक्षा ६–८ को रङ्गीन पुस्तक छपाउने निर्णय गरेको हो।

जनकले यसअघि ट्याग नभएको कागज ल्याएर पहिलो चरणमा रङ्गीन पुस्तक छपाइ गरेको थियो। कागज ल्याउँदा अनिवार्य रूपमा कम्पनीको ट्याग लगाउनुपर्ने विषय उठान भएपछि सबै व्यवस्था मिलाउन जनक कागज ल्याउन केही दिन ढिलो गरेको हो।

पहिलो चरणको कागज आएको करिब एक महिनापछि हिजो एक हजार मेट्रिक टन कागज आएको छ।पाठ्यक्रम विकास केन्द्रले समयमै कम्प्युटर रेडी कपी (सीआरसी) नदिएको वहानामा ढिलाइ गरेको जनकले स्टकमा रहेको एक रङको पुस्तक सक्ने तयारी गरिरहेको छ।

केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले कक्षा ६–८ का सबै विद्यार्थीलाई अनिवार्य रूपमा रङ्गीन पुस्तक उपलब्ध गराउनुपर्ने बताउँदै भन्नुभयो– ‘हामीले समयमै सीआरसी दिइसकेका छौं, यो वा त्यो वहानामा पुस्तक छपाइमा कमी आउनुहुँदैन।’

केन्द्रले वैशाख २ गतेदेखि शुरू हुने शैक्षिक सत्रमा १ देखि ८ कक्षासम्म अध्ययन गर्ने बालबालिकाको हातमा रङ्गीन पुस्तक पुर्याउने योजनाअनुसार समयमै सीआरसी उपलब्ध गराएको थियो।

शिक्षा तथा मावन स्रोत विकास केन्द्रका पाठ्यपुस्तक शाखाका निर्देशक राजकुमार थापाले कक्षा १–८ सम्मका विद्यार्थीलाई समयमै रङ्गीन पुस्तक पुर्याउने विषयमा दुईमत नरहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘तोकिएकै समयमा पुस्तक पुग्ने विषयमा कुनै शंका छैन, हाल कक्षा ५ देखि १० सम्म ४१ लाख ९४ हजार ३७ विद्यार्थीका लागि १ करोड ९८ लाख पाठ्यपुस्तक छपाइ भइसकेको छ।’

जनकका प्रवक्ता आचार्यले हालसम्म १ करोड ३० लाख थान पुस्तक छपाइ भइसकेको जानकारी दिनुभयो। पछिल्लो समय जनकले ठेकेदारमार्फत् काम गराएर समयमै पाठ्यपुस्तक पुग्ने दाबी गरे पनि रङ्गीन छपाइ गर्नुपर्ने भएकाले ढिलाइ भएको छ।

झन्डै ६० लाख विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्ने सम्भावना कम भएपछि जनक शिक्षा सामग्री संस्था लिमिटेडले निजी छापाखानालाई पुस्तक छाप्न दिने तयारी गरेको छ।

भएका कर्मचारीसँग अविश्वास गर्दै जनकले ठेकेदारको भरमा छपाइको काम गर्न थालेपछि कर्मचारीले विरोध गरेका थिए। ठेकेदारबाट काम गराउन नसक्ने भएपछि सुटुक्क निजीलाई दिने तयारी गरेको थियो।

‘तर युनियनले विरोध जनाएपछि भएका कर्मचारीलाई ओभरटाइम दिएर जनकमै छपाउने सहमति भएको हो।’ –जनकका एक कर्मचारीले भने। ‘जनकका प्रवक्ताको समेत जिम्मेवारी लिनुभएका चित्र आचार्यको सल्लाहमा प्रबन्ध सञ्चालक महेशप्रसाद तिमल्सिनाले निजी प्रेसलाई छपाइको काम दिने तयारी गर्नुभएको थियो, हामी कर्मचारीले विरोध जनाएपछि तत्कालका लागि रोकिएको छ।’ –ती कर्मचारीले नेपाल समाचारपत्रसंँग भने।

कर्मचारीको माग सम्बोधन गर्न केन्द्रका प्रबन्ध सञ्चालक तिमल्सिनाले ठेकेदारले मात्रै छपाइ गर्न असम्भव भएपछि हिजो बुधबारबाट प्रेसका कर्मचारीसमेत खटाएर काम गराउने तयारी गर्नुभएको छ।

प्रतिक्रिया