Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

सामुदायिक विद्यालयमा स्वास्थ्यकर्मी नियुक्त

आइतबार, ०४ फागुन २०७६

काठमाडौं ४ फागुन / निजगढ नगरपालिकाले नगर क्षेत्रका तीनवटा सामुदायिक विद्यालयमा स्वास्थ्यकर्मी नियुक्त गरेको छ ।वसन्त खतिवडाले नयाँ पत्रिकामा लेखेको खबर अनुसार स्थानीय तहमा स्वामित्व आएसँगै विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिएर विद्यालयमा स्वाथ्यकर्मी (अनमी) नियुक्त गरिएको निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले बताए । 

निजगढमा २७ वटा सामुदायिक विद्यालय छन् । त्यसमध्ये पहिलो चरणमा नेत्रोदय मावि निजगढ, नेरा मावि लाल र नेरामावि सिंगोलमा नगरपालिकाले अनमी खटाएको छ । बाँकी विद्यालयमा पनि क्रमशः स्वास्थ्यकर्मीको व्यस्था गर्दै जाने मेयर खनालले बताए ।

नगरपालिकाले ‘विद्यालय स्वास्थ्यकर्मी’ सञ्चालन कार्यविधि भने निर्माण गरिसकेको छैन । विद्यालयमा खटिने स्वास्थ्यकर्मीले कुनै विद्यार्थी बिरामी भए सामान्य औषधि तथा प्राथमिक उपचार गर्नेछन् । ‘विद्यार्थीमा कुनै ठूलै समस्या देखिए स्वास्थ्यकर्मीले नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गर्ने गरी स्वास्थ्यकर्मीलाई परिचालन गरेका छौँ,’ खनालले भने ।

विद्यार्थीले जीवनको अधिकांश समय विद्यालयमै बिताउने भएकाले उनीहरूको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिएर विद्यालयमा स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरिएको नगरपालिकाका शिक्षा शाखाप्रमुख राजु बानियाँले बताए । विद्यालयमा राख्न पाइने औषधिको सूची तयार गरेर काम सुरु गरिएको नेत्रोदय माविकी स्वास्थ्यकर्मी राधिका खड्काले बताइन् । 

प्रतिक्रिया