Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

विद्यार्थीले पाएनन् नौ वर्षदेखि मूल प्रमाणपत्र

सोमबार, ०५ फागुन २०७६

काठमाडौं ५ फागुन / नेपाल संस्कृत विश्वविद्यालयबाट विभिन्न तहको अध्ययन पूरा गरेका विद्यार्थीले नौ वर्षदेखि मूल प्रमाणपत्र पाएका छैनन् । नयाँ पत्रिकामा भवानीश्वर गौतमले संस्कृत विश्वविद्यालयका विद्यार्थीले नौ वर्षदेखि पाएनन् मूल प्रमाणपत्र शिर्षकमा लेखेको खबर अनुसार प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त समारोह नहुँदा विद्यार्थीले मूल प्रमाणपत्र नपाएका हुन् । ०६७ पछि आएका दुई कार्यकालका पदाधिकारीले दीक्षान्त कार्यक्रम गर्न नसक्दा विद्यार्थी विभिन्न अवसर गुमाउन बाध्य छन् । अहिले उपकुलपतिलगायतका पद रिक्त छन् । 

विभिन्न तह उत्तीर्णपछि ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले समेत सास्ती खेप्नुपरेको छ । विदेश अध्ययन, सरकारी सेवामा प्रवेश गर्नेलगायतका काममा विद्यार्थीलाई समस्या परेको छ । मूल प्रमाणपत्र माग्न आउने विद्यार्थीलाई विश्वविद्यालयले सिफारिसपत्र दिएर पठाउने गरेको छ । परीक्षा नियन्त्रक नीलप्रसाद सापकोटाले नयाँ पदाधिकारी आएपछि मात्र दीक्षान्तका विषयमा छलफल र तयारी हुन सक्ने बताए । अहिले विश्वविद्यालय निमित्तको भरमा चलेको छ ।

पदाधिकारीले दीक्षान्त समारोहसमेत गर्न नसकी चार–चार वर्षको दुई कार्यकाल बिताएका छन् । उपकुलपतिको जिम्मेवारी सम्हालेका प्रा.डा. कुलप्रसाद कोइरालाको चारवर्षे कार्यकाल गत असोजमा सकियो । त्यसअघि उपकुलपति रहेका प्रा.डा. शिवहरि मरहठ्ठाको चारवर्षे कार्यकालमा समेत दीक्षान्त समारोह हुन सकेको थिएन । पदाधिकारीमा इच्छाशक्ति नहुँदा दीक्षान्त समारोह हुन नसकेको र त्यसको पीडा विद्यार्थीले भोग्नुपरेको एक प्राध्यापकले बताए । उपकुलपति, रेक्टर र रजिस्ट्रार भागबन्डामा नियुक्त हुने र नियुक्ति पाएदेखि नै विवादमा पर्ने गरेकाले विद्यार्थीको हितमा काम हुन नसकेको ती प्राध्यापकको भनाइ छ । 

दीक्षान्त नहुँदा सरकारी विज्ञापनमा प्रतिस्पर्धा गर्न, विदेश अध्ययनमा जानदेखि पदक पाउनसमेत समस्या छ । राष्ट्रपतिबाट प्रत्येक वर्ष प्रदान हुने विभिन्न श्रेणीका विद्याभूषण पदक पाउनबाट समेत उत्कृष्ट विद्यार्थी वञ्चित भएका छन् । पहिले विश्वविद्यालयबाट पदक लिइसकेपछि मात्र राष्ट्रपतिबाट विद्याभूषण पदक दिने व्यवस्था छ । मूल प्रमाणपत्र नहुँदा समस्या हुने गरेको विद्यार्थीले गुनासो गरिरहेको नियन्त्रक सापकोटाले बताए । उनले भने, ‘मूल प्रमाणपत्र माग्न आउने विद्यार्थीलाई ०६७ देखि दीक्षान्त नभएकाले सिफारिस दिएर पठाउने गरेका छौँ ।’ दीक्षान्त नहुनुमा विद्यार्थीको कुनै गल्ती नभए पनि दुःख पाइरहेको उनले बताए । 

गत ७ कात्तिकमा बसेको संस्कृत विश्वविद्यालय सभाले ०७७ जेठ मसान्तसम्म दीक्षान्त समारोह गर्ने निर्णय गरेको थियो । तर, पूर्णकालीन पदाधिकारी नहुँदा नीतिगत निर्णय हुन सकेको छैन । यसअघिका रेक्टर प्रा.डा. रमेश ढकाललाई कुलपति तथा प्रधानमन्त्री केपी ओलीले बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका छन् । रेक्टर पद रिक्त छ ।

ढकालले प्रा. माधव अधिकारीलाई निमित्त रजिस्ट्रारको जिम्मेवारी दिएका छन् । अहिलेका पदाधिकारीले दैनिक प्रशासनिक कामबाहेक नीतिगत निर्णय गर्न सक्दैनन् ।
परीक्षा नियन्त्रक सापकोटाले आगामी जेठसम्म दीक्षान्त गर्न कठिन हुँदै गएको बताए । कतिपय विषयमा कार्यकारी परिषद्ले निर्णय गर्नुपर्ने भएकाले कठिन हुँदै गएको उनको भनाइ छ । परीक्षा नियन्त्रण कार्यालयबाट ग्रेस लिस्ट बनाउने, पदक पाउने विद्यार्थीको छनोट र पदकको तयारी, प्रमाणपत्र लेखाउनेलगायतका काम भइरहेको सापकोटाले बताए ।

प्रतिक्रिया