Edukhabar
बुधबार, ०५ बैशाख २०८१
अन्तैवाट

पठन पाठनले शैक्षिक गुणस्तरमा सुधार

सोमबार, ०५ फागुन २०७६

काठमाडौं ५ फागुन / रुकुम (पूर्व) का विभिन्न विद्यालयमा शुरुआत गरिएको मातृभाषाको पठन पाठनले शैक्षिक गुणस्तरमा सुधार आएको छ । गोरखापत्रमा सिकाइमा गुणस्तर वृद्धि गर्दै मातृभाषा शिक्षा शिर्षकमा प्रकाशित खबर अनुसार जिल्लामा अधिकांशले मगर खाम भाषा बोल्ने गर्दछन् ।
शैक्षिक गुणस्तर वृद्धि र विद्यार्थीलाई सिकाइमा सहज तुल्याउन यहाँका भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका सामुदायिक विद्यालयले मातृभाषा (खाम ) मा पढाउन थालेपछि विद्यार्थीको सिकाइमा सुधार र सजिलै बुझ्ने गरेको जनाइएको छ ।
मगर समुदायका विद्यार्थी नेपाली विषयमा कमजोर भएपछि त्यसको सुधारमा बहुभाषा शिक्षा पढाउन थालिएको हो । भूमे गाउँपालिकाका ४८० र पुथा उत्तरगङ्गा गाउँपालिकाका २०० भन्दा बढी विद्यार्थी मातृ भाषामा पढिरहेका छन् । यी गाउँपालिकामा मगर समुदायका मात्रै भेला, सम्मेलन, छलफल र अन्य कार्यक्रममा मातृभाषा नै बोल्ने गरिएको छ । सानैदेखि आमाबुबाबाट मातृभाषा सिक्ने गरेको र विद्यालयमा पढ्न जाँदा नेपाली भाषा नै नबुझ्ने गरेको अवस्था रहेकोे छ ।

अहिले भूमेका १२ र पुथा उत्तरगङ्गाका १३ विद्यालयले मातृभाषामा पढाउन थालेका छन् । भूमेका आठ विद्यालयले छ वर्षदेखि र चार विद्यालयले दुई वर्षदेखि मातृभाषामा आधारित बहुभाषा शिक्षा पढाइरहेका छन् । त्यसैगरी पुथा उत्तरगङ्गा गाउँपालिकाका १३ विद्यालयले गत वैशाखदेखि कक्षा १ मा मातृभाषामा पढाउन थालेका छन् । नेपाली भाषाका पाठ्यपुस्तक पढ्न असहज मानेपछि मातृभाषामै पढाउन थालिएको महेन्द्र माध्यमिक विद्यालयका प्रध्यानाध्यापक खिमबहादुर बुढाक्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्बन्धित विषयलाई मातृभाषामा अनुवाद गरी पठनपाठन भइरहेको छ । अभिभावकबाट मातृभाषा मात्रै जानेको तथा त्यसमै कुरा गरिरहेकालाई मातृभाषा सिकाइका लागि राम्रो भएको उहाँले बताउनुभयो । आधारभूत तहमा जग बलियो भयो भने माथिल्लो तहमा पढ्न सहज हुने भएकाले १ देखि ३ कक्षासम्म मातृभाषामा पढाउन थालिएको उहाँले बताउनुभयो । आउने शैक्षिक सत्रदेखि कक्षा २ र अर्कोबाट ३ कक्षासम्म मातृ भाषामा पढाउने विद्यालयले जनाएको छ । उच्च माविसम्मको शिक्षा गाउँमै पूरा गरे पनि बाँकी शिक्षा, लोकसेवा अन्य क्षेत्रमा प्रतिष्पर्धा गर्दा नेपाली कमजोर देखिएपछि खाम भाषामै पढाउन थालेको विद्यालयले जनाएको छ ।

यसैगरी भूमे गाउँपालिका–२ गावाङ हिमालय आधारभूत विद्यालयका प्रध्यानाध्यापक गोवद्र्धन बुढामगरले मातृभाषाले वार्षिक विषयगत सिकाइले उपलब्धि बढेको जानकारी दिनुभएको छ । उहाँका अनुसार यस कार्यले अहिले विद्यार्थी नियमित भएको र उपस्थिति दर बढेको छ । अहिले यी दुई गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले जनक शिक्षा सामग्री केन्द्रले तयार पारेको पाठ्यपुस्तकलाई खाम भाषामा अनुवाद गरी पढाइ रहेका छन् । 

प्रतिक्रिया