Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

राम्रो गर्ने प्रअ र व्यवस्थापन समिति अध्यक्षलाई सम्मान

सोमबार, ०५ फागुन २०७६

काठमाडौं - राम्रो काम गरेर विद्यालय सुधार गरी सार्वजनिक शिक्षालाई विश्वसनीय बनाउन योगदान दिएको भन्दै विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षलाई सम्मान गरिएको छ । शिक्षा पत्रकार समूहले आफ्नो २० औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको कालिमाटि, टंकेश्वर स्थित नील बाराही माविकी प्रधानाध्यापक डा. जानुका पौडेल र बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित सरस्वती माविका व्यवस्थापन समिति अध्यक्ष धर्मसिंह थारुलाई सम्मान गरेको हो । 

उक्त सम्मान प्रदान गर्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा भईरहेका राम्रा अभ्यासलाई उजागर गर्दा सार्वजनिक शिक्षा सुधारमा सघाउ पुग्ने बताउँदै त्यस तर्फ केन्द्रित हुन सञ्चारकर्मीलाई आग्रह गरे । 

'विभिन्न पालिकामा भईरहेका असल अभ्यासलाई मूल प्रवृत्ति बनाउन आवश्यक छ' उनले भने, 'नयाँ संविधान संगै शिक्षामा ठूलो परिवर्तन भएको छ, संविधानले शिक्षालाई मौलिक हक अन्र्तगत राखेको छ, त्यस व्यवस्थाका आधारमा काम गर्दै जानु पर्ने छ, त्यस तर्फ मन्त्रीको हैसियतमा म विश्वस्त बनाउन चाहन्छु ।' 

संघीयता संगै आवश्यक विभिन्न ऐन निर्माणको चरणमा रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले  आफूहरु वृहत छलफलबाटै शिक्षा सुधारमा केन्द्रित रहेको दावी गरे । 

सम्मानितहरुका तर्फबाट प्रअ पौडेलले टेक्ने समाउने केही नहुँदा पनि विद्यालयमा रहेको आफ्नो पुरै टिमको मेहनतले सुधार भएको बताईन् । शिक्षकले आफूले आफैंलाई सम्मान गर्ने हो भने सुधार शुरु हुने आफ्नो अनुभव रहेको बताउँदै उनले राम्रो गर्दै जाँदा कतै न कतैबाट प्रोत्साहन मिल्दो रहेछ भन्ने पुष्टि भएको उल्लेख गरिन् । विद्यार्थीको पठन पाठनमा शिक्षकलाई केन्द्रित गर्ने गरी विश्वासको वातावरण निर्माण गर्दा सुधार हुने अनुभव प्राप्त गरेको अध्यक्ष थारुले बताए । 

'हामी त गाउँ घरको मान्छे, विद्यालय राम्रो बनाउनु पर्छ भन्ने मात्रै जानेका छौं कसरी राम्रो गर्ने भन्ने कुरा त शिक्षकहरुलाई नै थाह छ' कार्यक्रम पछि एडुखबरसँग कुरा गर्दौ उनले भने 'अभिभावकको मन जित्ने गरी काम गर्नु पर्छ है भनेर शिक्षकलाई सम्झाउँदै आएका छौं, त्यसैले राम्रो भएको होला ।'

कार्यक्रममा समुहका पूर्व सदस्य तीर्थराज भुषालको स्मृतिमा स्थापना गरिएको २५ हजार रुपैंया राशीको शिक्षा पत्रकारिता पुरस्कारबाट कान्तिपुरकी बुटवल स्थित सम्बाददाता अमृता अनमोललाई पुरस्कृत गरिएको थियो । 

कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमा, प्रा.डा. विद्यानाथ कोइराला, राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झा लगायतले सार्वजनिक शिक्षा सुधारको विकल्प नभएको बताए । अध्यक्ष रोश्ना सुव्वाले सार्वजनिक विद्यालयमा भईरहेको सिकाइका बारेमा समुहले गरेको खोजको साराँश प्रस्तुत गर्दै शिक्षक जिम्मेवार नहुँदा सम्म शिक्षण सिकाइमा सुधार सम्भव नहुने उल्लेख गरिन् ।

वार्षिकोत्सव सँगै भईरहेको समूहको १० औं महाधिवेशनले आगामी २ बर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।  

 

प्रतिक्रिया