Edukhabar
आइतबार, ०८ भदौ २०८२
खबर/फिचर

एक बर्ष अघि अवकास भएका शिक्षकलाई ६ बर्ष कैद दावी सहित मुद्दा

सोमबार, ०५ फागुन २०७६

काठमाडौं - २४ बर्ष अघि प्राथमिक तहको शिक्षकमा नियुक्ति हुँदा बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकास भएको एक बर्ष पछि ६ बर्ष कैद दावी सहित मुद्दा दायर गरेको छ । ओखलढुंगाको साविक चम्पादेवी गाउँ विकास समिति र हाल चम्पादेवी गाउँपालिका वडा नं. १ पुनाटारका सेवा निवृत्त शिक्षक खेटराज बराल विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । 

२०५१ साल चैत ९ गते श्री चम्पादेवी प्राथमिक विद्यालयमा प्राथमिक तह चतुर्थ श्रेणी अस्थायी शिक्षकमा नियुक्ति भएका बरालले बुझाएको मिथिला संस्कृत विश्वविद्यालय, कोरीयाही पटना भारतको मध्यमा तहको परीक्षा पास गरेको शैक्षिक प्रमाणपत्र झुठ्ठा तथा नक्कली रहेको अख्तियारको दावी छ । ०७५ फागुन २९ गते बालादेवी आधारभूत विद्यालयबाट स्वत अवकाश लिएका बरालको उक्त कार्य भ्रष्टाचार जन्य भएको आरोप सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको दावी सहित अख्तियारले मुद्दा दायर गरेको हो । 

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ मा कुनै व्यक्तिले राष्ट्र सेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने उद्देश्यले शिक्षा सम्बन्धी कुनै योग्यता, नाम, तीनपुस्ते, उमेर, जात थर, वतन, नागरिकता वा योग्यता ढाँटेमा कसुरको मात्रा अनुसार २ वर्ष देखि ६ वर्षसम्म कैद वा जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ । यस्तै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ मा झुट्टा प्रमाणपत्र पेश गरेमा कसुरको मात्रा अनुसार छ महिना देखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँ देखि बीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । अख्तियारले उक्त दुवै व्यवस्था अनुसार कारवाहिको माग गर्दै अदालतमा मुद्दा दायर गरेको जनाएको छ । 

यस्तै केदारेश्वर उच्च माध्यमिक विद्यालय, लाना, डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहराले भवन निर्माण र छात्रबृत्तिको रकम हिनामिना गरेको दावी सहित अख्तियारले अर्को मुद्दा पनि दायर गरेको छ । साविक जिल्ला शिक्षा कार्यालय डोटीले निकासा गरेको रकम र विद्यालय आन्तरिक स्रोतको गरी जम्मा ४१ लाख ५४ हजार ५ सय बाट सात लाख २९ हजार नौ सय ४६ रुपैयाँ ४१ पैसा हिनामिना गरेको दावी सहित अख्तियारले मुद्दा दायर गरेको हो । 

जिशिकाले निकाशा गरेको रकमबाट निर्माण भएको कामको मूल्याँकन गर्दा ३१ लाख ९ हजार ९ सय ४५ रुपैंया बराबरको मूल्याङ्कन गरेको र स्थलगत निरीक्षणको क्रममा गरिएको मूल्याङ्कनबाट ३१ लाख १६ हजार ५६ रुपैंया ५९ पैसा  बराबरको कार्य भएको देखिएको अख्तियारले दावी गिरेको छ । तर  विद्यालयको खातामा तीन लाख आठ हजार पाँच सय जम्मा गरेको देखिंएको अख्तियारको दावी छ । 

 

प्रतिक्रिया