Edukhabar
मंगलबार, ११ बैशाख २०८१
अन्तैवाट

अतिक्रमणको चपेटामा परेको विद्यालयको जग्गा फिर्ता गर्न निर्देशन

बुधबार, ०७ फागुन २०७६

काठमाडौं ७ फागुन / १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्युरीखेतको १० बिघा जमिन खाली गराउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले पञ्चपुरी नगरपालिका र इलाका प्रहरी कार्यालय बाबियाचौरलाई निर्देशन दिएको छ। नागरिकमा नगेन्द्र उपाध्यायले विद्यालयको जमिन कब्जा प्रकरण, खाली गराउन प्रशासनको पत्र शिर्षकमा प्रकाशित खबर अनुसार आफूले प्रयोग गर्दै आइरहेको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित सामुदायिक–ऐलानी जमिन स्थानीयले २०६२ जेठ २२ गते विद्यालयका नाममा हस्तान्तरण गरेका थिए। पछि विद्यालयको सो जमिन विभिन्न व्यक्तिले कब्जा गरेर भौतिक संरचना निर्माणका साथै खेतीपातीसमेत गरिरहेका छन्।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले विद्यालयको अतिक्रमणमा परेको जमिन खाली गराउन पञ्चपुरी नगरपालिका र इलाका प्रहरी कार्यालय बाबियाचौरलाई निर्देशन दिइएको बताए। ‘विद्यालयको जमिन अतिक्रमण भएको समाचार आएपछि प्रहरीसँगको समन्वयमा खाली गराउन पञ्चपुरी नगरपालिकालाई पत्राचार गरेका छौं,’ प्रजिअ न्यौपानेले भने, ‘नगरपालिकाबाट सम्भव नभए जिल्लाबाटै गएर भए पनि अतिक्रमणकारीलाई हटाउँछौं।’

 विद्यालयको जमिन विभिन्न व्यक्तिले कब्जा गरेको समाचार नागरिक दैनिकले प्रकाशन गरेपछि प्रशासनले जमिन खाली गराउन पहल थालेको हो।
जिल्ला प्रशासन कार्यालयको पत्रपछि पञ्चपुरी नगरपालिकाले छलफल गरेर समस्या समाधान गर्न विद्यालय रहेको वडा कार्यालयलाई पत्राचार गरेको छ। नगरप्र्रमुख उपेन्द्रबहादुर थापाले विद्यालयको स्वामित्वमा रहेको जमिन अतिक्रमणको सन्दर्भमा छलफल गर्न वडा कार्यालयलाई जिम्मेवारी दिइएको बताए। ‘सरोकारवालाहरूलाई बोलाएर विद्यालयको जग्गा विवाद समाधान गर्न दुई नम्बर वडा कार्यालयलाई निर्देशन दिएका छौं,’ नगरप्र्रमुख थापाले भने, ‘वडा कार्यालयमा समाधान हुन नसके सरोकारवालाहरूलाई नगरपालिकामा उपस्थित गराउन भनिएको छ।’ उनले वर्षौदेखिको समस्या भएकाले तत्कालै समाधान गर्न भने समस्या रहेको बताए।

१३ वर्षदेखि विद्यालयको १० बिघा जमिन विभिन्न व्यक्तिले कब्जा गरेको समाचार नागरिक दैनिकले प्रकाशन गरेपछि प्रशासनले जमिन खाली गराउन पहल थालेको हो। प्रजिअ न्यौपानेले स्थानीयस्तरमा विवाद समाधान नभए जिल्ला प्रशासनले हस्तक्षेप गर्ने जानकारी दिए। ‘विद्यालयले प्रयोग गर्दै आइरहेको जमिन कसैले पनि कब्जा गरेर व्यक्तिगत संरचना बनाउन र उपभोग गर्न पाउँदैन,’ उनले भने, ‘स्थानीय सरकारले जमिन खाली गराउन नसके हामी गएर हटाउँछौं।’

विद्यालयको नाममा रहेको सामुदायिक–ऐलानी जमिन हर्षबहादुर आले, गम्भीर आले, अम्मरसिंह आले, रुद्रबहादुर सलामी, दलबहादुर सुनारलगायत २४ जनाले कब्जा गरेर भौतिक संरचना निर्माण गर्नुका साथै विद्यार्थी खेल्ने मैदानमा समेत खेतीपाती गरिरहेका छन्।

‘स्थानीयले प्रयोग गर्दै आइरहेको सो सामुदायिक–ऐलानी जमिन २०६२ जेठ २२ गते विद्यालयका नाममा हस्तान्तरण गरिएको थियो,’ प्रधानाध्यापक डिलबहादुर घर्तीले भने, ‘त्यसको एक वर्षपछि नै अतिक्रमण सुरु भयो। अहिले त विद्यालयको छ कोठे भवनमात्रै बाँकी छ।

प्रतिक्रिया