Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

शिक्षा विभाग प्रमुख बनाइदिन हारगुहार

बुधबार, ०७ फागुन २०७६

काठमाडौं ७ फागुन / स्थानीय तहको शिक्षा विभाग प्रमुखमा १३ जना उपसचिवले सहमति पाएका छन्। देशकै पहिलो काठमाडौं महानगरपालिकाको तीन महिनादेखि रिक्त विभागीय प्रमुख हुन तँछाडमछाड देखिएको छ।

विभागीय प्रमुख हुन तँछाडमछाड शिर्षकमानेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेको खबर अनुसार आफूनिकटका कर्मचारीलाई शिक्षा विभाग प्रमुख बनाइदिन मन्त्रीदेखि विभिन्न राजनीतिक दलका उपल्लो नेताले महानगरपालिका मेयरसमक्ष हारगुहार गरेका छन्।

‘सहमति लिएका अधिकांश कर्मचारीले नेकपाका शक्तिशाली नेताको सोर्सफोर्स लगाइरहेका छन्’–कामपा स्रोतले भन्यो।

सहमति लिनेमध्ये पहिलो नम्बरमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलका तत्कालीन निजी सचिवालयका प्रमुख उपसचिव पुष्प ढकाल हुनुहुन्छ। अहिले माडी नगरपालिकाका शिक्षा विभाग प्रमुख रहेका उहाँ मन्त्री पोखरेलको पहिलो रोजाइमा पर्नुभएको छ। उहाँले यही कात्तिक ४ गते महानगरपालिकामा सहमति लिनुभएको हो।

धनुषाको नगराइन नगरपालिकाबाट माडीमा सरुवा भएका ढकालले शिक्षा विभाग प्रमुख भएरै छाड्ने बताउँदै आउनुभएको छ। दोस्रो नम्बरमा शंखरापुर नगरपालिकाका शिक्षा विभाग प्रमुख रहेका बौधराज निरौलाले मंसिर २ गते सहमति लिनुभएको हो।

तेस्रो नम्बरमा सहमति लिएका रामप्रसाद सुवेदी अख्तियारका कार्यरत हुनुहुन्छ। उहाँले मंसिर ६ गते सहमति लिनुभएको थियो। कागेश्वरी मनोहरा नगरपालिकाका शिक्षाविभाग प्रमुख गोविन्दप्रसाद शर्मा, वेनी नगरपालिकाका शिवप्रसाद रेग्मी, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपसचिव ईश्वरीप्रसाद पोखरेल, बेलकोट नगरपालिकाका शिक्षा विभाग प्रमुख ज्ञानेन्द्र वन, विदुर नगरपालिकाका शिक्षा विभाग प्रमुख दिवाकर चापागाईंले कामपाबाट सहमति लिइसक्नुभएको छ।

एकजनालाई सहमति दिएर नियुक्ति गर्नुपर्नेमा कामपाका कार्यकारी अधिकृत(सचिव)ले निवेदन दिएका सबैलाई सहमति दिनुभएको छ। तीमध्ये अधिकांशले मंसिरमै सहमति लिएका हुन्। मंसिरमा खाली भएको सो पदका लागि सबैले आफू योग्य रहेको बताउँदै आएका छन्।

यस्तै सुन्दरहरैचा नगरपालिकाका शिक्षा विभाग प्रमुख दामोदर चापागाईं , शिक्षा तथा मानवस्रोत विकास केन्द्रका रमा अर्याल पन्थी, कर्णाली प्रदेश गुर्भाकोट नगरपालिका सुर्खेतका कर्णबहादुर कुँवर र भरतपुर महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले सहमति लिइसक्नुभएको छ।

कुँबर र कोइरालाले पुस २७ र २८ गते सहमति लिनुभएको हो। ९१ सामुदायिक र ६ सय ४३ निजी विद्यालय रहेको कामपाभित्र शिक्षामा व्यापक सुधार गर्ने दाबी गर्दै सहमति लिइएको हो। सहमति लिएकामध्ये दुईजना अधिकृत र ११ उपसचिवस्तरका छन्।

कामपा प्रवक्ता ईश्वरमान डंगोलले सहमति लिएकामध्येबाट तीनजनाको नाम सिफारिस गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको जानकारी दिँदै भन्नुभयो– ‘करिब डेढ महिनाअघि तीनजनाको नाम पठाएका छांै, मन्त्रालयले एकजनाको नाम सिफारिस गरी महानगरमा पठाएपछि सोहीअनुसार नियुक्ति गर्नेछौं।’

सहमति लिएका अधिकांशले विभिन्न राजनीतिक र कर्मचारीको शक्ति प्रयोग गर्दै मेयर, उपमेयर, कार्यकारी अधिकृत र उच्च तहका कर्मचारीलाई भनसुन गरेका छन्। कामपाले भने योग्यलाई प्रमुख बनाउने भन्दै सोहीअनुसार सिफारिस गरी मन्त्रालयमा पठाएको जनाएको छ। यदि मन्त्रालयले पठाएको नाममा महानगरले नियुक्ति नगरे कसलाई विभागीय प्रमुख बनाउने भन्ने विषयमा पुनः समस्या हुने देखिएको छ।

कक्षा ८ र एसईईको परीक्षा व्यवस्थापन गर्ने समयमा समेत प्रमुख पाउन नसकेपछि महानगरको अधिकांश काम भद्रगोल हुँदै आएको छ। प्रवक्ता डंगोलले केही दिनभित्रै प्रमुख नियुक्त हुने दाबी गर्दै भन्नभयो–‘हामी मन्त्रालयको निर्णयको प्रतीक्षामा छांै, नाम सिफारिस गर्नासाथ प्रमुख नियुक्त हुन्छ।’

प्रतिक्रिया