Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

शिक्षा मन्त्रालयको निर्णय विपरीत बारम्बार ‘काज’

सोमबार, १२ फागुन २०७६

काठमाडौं १२ फागुन / शिक्षा मन्त्रालयको निर्णयविपरीत लुम्बिनी बौद्ध विश्वविद्यालयले काठमाडौंमा परीक्षा नियन्त्रण कार्यालयको नाममा सम्पर्क कार्यालय सञ्चालन गरिरहेको छ । कान्तिपुरमा सुदीप कैनीले उपकुलपति बारम्बार ‘काठमाडौं काज’ शिर्षकमा लेखेको खबर अनुसार उपत्यकाबाहिर केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले काठमाडौंमा स्थापना गरेको सम्पर्क कार्यालय बन्द गराउने निर्णय शिक्षा मन्त्रालयले गरेको थियो ।

अघिल्लो वर्ष जेठ १० मा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त निर्णय गरे पनि लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले सम्पर्क कार्यालय चलाएको हो । स्रोतका अनुसार काठमाडौंको कुपन्डोल क्षेत्रमा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय सञ्चालनमा छ । परीक्षा नियन्त्रण कार्यालयबाटै विश्वविद्यालयले अन्य समन्वयका गतिविधि पनि गर्दै आएको छ ।

अधिकांश समय काठमाडौंमा काजमा बस्ने उपकुलपति हृदयरत्न वज्राचार्यले उपत्यकामा समन्वय कार्यालय खोल्न शिक्षा मन्त्रालयसँग अनुमति माग्दै आएका छन् । ‘मन्त्रालयले निर्णय गर्नुअघिदेखि रहेको कार्यालय बन्द गरिएको छैन,’ विश्वविद्यालयनिकट स्रोतले भन्यो, ‘त्यसलाई वैधता दिन विश्वविद्यालयले सहकुलपति र शिक्षा मन्त्रालयसँग अनुमति माग्दै आएको छ ।’ शिक्षा मन्त्रालयका उच्चशिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले लुम्बिनी बौद्ध विश्वविद्यालयले सम्पर्क कार्यालय खोल्न अनुमति मागेको बताए । ‘मन्त्रालयले सम्पर्क कार्यालय चलाउन रोकेको छ, लुम्बिनी बौद्ध विश्वविद्यालयले दैनिक कामकाज गर्न समस्या भएको कारण देखाएर अनुमति मागेको हो तर कुनै निर्णय भएको छैन,’ उनले भने ।

उपकुलपति वज्राचार्यले गत पुस १४ मा मन्त्रालयलाई पत्राचार गरेर विश्वविद्यालयको समन्वय तथा परीक्षा इकाई खोल्न सहमति माग गरेका हुन् । उनी अघिल्लो फागुन ९ मा उपकुलपति नियुक्त भएका थिए । नियुक्त भएलगत्तै उनले कार्यकारी परिषद्बाट सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने निर्णय गराएका हुन् । उपकुलपतिमा नियुक्त भएपछिको उनको पहिलो निर्णय नै त्यही थियो । त्यसपछि गत जेठ २६ मा ‘अफिस व्यवस्थापन’ सम्बन्धमा भन्दै काठमाडौंमा समन्वय कार्यालय खोल्न विश्वविद्यालयले मन्त्रालयसँग अनुमति माग्यो । तर कुनै निर्णय नभएपछि पुनः गत पुसमा निवेदन दिइएको हो ।

विश्वविद्यालयको अनुमति माग्ने निर्णयमा कुनै छलफल नभएको सापकोटाले जनाए । ‘मन्त्रालयले भएका सम्पर्क कार्यालय पनि हटाउनु भनेको छ,’ उनले भने, ‘काठमाडौंबाहिर केन्द्रीय कार्यालय भएका विश्वविद्यालयले उपत्यकामा सम्पर्क कार्यालय चलाउनु अवैध हो ।’ विश्वविद्यालयलाई सम्पर्क कार्यालय आवश्यक भए मन्त्रीस्तरीय निर्णयबाट मात्रै अनुमति पाउने उनले जनाए ।

विश्वविद्यालयले गोप्य रूपमा सञ्चालन गरेको परीक्षा नियन्त्रण कार्यालयबाटै परीक्षाका अधिकांश काम हुँदै आएको छ । अधिकांश आंगिक क्याम्पस केन्द्रीय कार्यालय रहेको लुम्बिनी क्षेत्रमा रहे पनि सम्बन्धन पाएका निजी क्याम्पसको सहजताका लागि विश्वविद्यालयका पदाधिकारीले परीक्षा कार्यालय चलाउन अनुमति दिएको स्रोतले जनायो । परीक्षाबाहेक विश्वविद्यालयका अन्य गतिविधि पनि परीक्षा नियन्त्रण कार्यालयबाटै गर्ने गरिएको छ । उपकुलपति वज्राचार्यसमेत अधिकांश समय केन्द्रीय कार्यालयबाहिरै रहने गरेका छन् । उनको हाजिरीमा धेरै समय ‘काठमाडौं काज’ भनेर उल्लेख छ ।

२ सय ७० दिन विश्वविद्यालय खुल्दा उनी एक सय दिन मात्रै विश्वविद्यालयमा हाजिर भएका हुन् । गत कात्तिकमा उनी १३ दिनमात्रै विश्वविद्यालयमा हाजिर भएका छन् । अन्य दिन काठमाडौं काजमा बिताएका छन् । वैशाखयताका महिनामा धेरै दिन काठमाडौं काज भनेर उनी विश्वविद्यालयमा अनुपस्थित भएका हुन् । कान्तिपुरलाई प्राप्त उपकुलपति वज्राचार्यको हाजिरीमा २ सय ७० दिन विश्वविद्यालय खुल्दा एक सय दिन मात्रै उनको हाजिर जनाइएको छ । हाजिर भएको दिन पनि उनी पूरै समय कार्यकक्षमा बसेका छैनन् ।

काठमाडौंमा सम्पर्क कार्यालय नहुँदा कलेजहरूसँग समन्वय, परीक्षा सञ्चालन, पाठ्यक्रम विकास तथा कार्यान्वयन, शिक्षक अभिमुखीकरणजस्ता क्रियाकलाप गर्न असहज भएको विश्वविद्यालयले जनाएको छ । समन्वय इकाई र परीक्षा शाखा उपत्यकामा नहुँदा ढिलाइ र आर्थिक व्ययभार थपिएको तर्क उपकुलपति वज्राचार्यले गर्दै आएका छन् । उनले काठमाडौंमा सम्पर्क कार्यालय अपरिहार्य रहेको दाबी गरे । ‘अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय हो, केन्द्रमै कार्यालय चाहिँदो रहेछ,’ उनले भने । पहिलाका उपकुलपतिहरूभन्दा आफू बढी समय बसेको उनले बताए । ‘धेरै काम काठमाडौंमै पर्छ, भ्याएसम्म केन्द्रीय कार्यालयमा बसेको छु,’ उनले भने । विश्वविद्यालयले सम्पर्क कार्यालय उपत्यकामा खोल्ने र पदाधिकारी पनि यतै बस्ने प्रवृत्ति बढेपछि कार्यालय हटाउने निर्णय मन्त्रालयले गरेको थियो ।

प्रतिक्रिया