Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

उमेर ढाँटेर धेरै पढाउनेबाट पारिश्रमिक असुली

सोमबार, १२ फागुन २०७६

काठमाडौं १२ फागुन / उमेर ढाँटेर लामो समय जागिर खाने त्रिभुवन विश्वविद्यालयका प्राध्यापकबाट पारिश्रमिक असुली गरिएको छ । नयाँ पत्रिकामा भवानीश्वर गौतमले उमेर ढाँटेर धेरै पढाउने त्रिवि प्राध्यापकबाट पारिश्रमिक असुली शिर्षकमा लेखेको खबर अनुसार एसएलसीको सर्टिफिकेट पेस नगरी र नागरिकतामा उल्लेख भएको जन्ममितिको आधारमा लामो समयसम्म पढाएका प्राध्यापकहरू असुलीमामा परेका हुन् । अवकाश पाउनुपर्ने समयभन्दा बढी काम गर्दा त्रिविमा कर्मचारीभन्दा प्राध्यापकले धेरै जरिवाना तिर्ने गरेका छन् । 

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र केन्द्रीय विभागमा पढाइरहेका प्राध्यापक कृष्णप्रसाद आचार्यले भर्खरै मात्र २० महिनापहिलेको मितिमा अनिवार्य अवकाश पाएको पत्र पाए । उनलाई कर्मचारी प्रशासनले ५ फागुन ०७६ मा ३ साउन ०७५ मा अनिवार्य अवकाश पाएको पत्र दिएको थियो । 

आचार्यको जस्तै समस्या भएको छ, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक मोहनसिंह राउतको पनि छ । उनले अनिवार्य अवकाश पाउनुभन्दा झन्डै दुई वर्ष बढी पढाएका छन् । नागरिकतामा भएको जन्ममितिका आधारमा पढाइरहेका उनीहरूको एसएलसीको सर्टिफिकेटमा बढी उमेर रहेको पाइएको हो ।

राउतको फाइल अहिले त्रिवि कार्यकारीमा पुगेको छ । ‘उहाँहरूले जागिर खाने वेलामा एसएलसीको सर्टिफिकेट पेस गर्नुभएको रहेनछ । बढुवा हुने वेलामा एसएलसीको सर्टिफिकेट पेस गर्नुभएको रहेछ,’ त्रिविका एक कर्मचारीले भने, ‘अहिले बढुवाका लागि पेस गरेको फाइल केलाउँदा एसएलसीको सर्टिफिकेट भेटियो ।’ 

त्रिवि कर्मचारी प्रशासनले ५ फागुनमा आचार्यलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंको उमेरहदका कारण अनिवार्य अवकाश पाउनका लागि शैक्षिक प्रमाणपत्रअनुसार जन्ममिति वि.सं. २०१२-०४-०३ अनुसार वि.सं. २०७५-०४-०३ मा तपार्इंको उमेर ६३ वर्ष पूरा हुने हुँदा त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को ५०.१ -अनुसार वि.सं. २०७५-०४-०३ गतेदेखि तपाईंलाई त्रिवि सेवाबाट अनिवार्य अवकाश प्रदान गर्ने भनी मिति २०७६-११-०५ मा निर्णय भएको व्यहोरा अनुरोध गर्दछु ।’

त्रिविमा उच्चपदस्थ व्यक्तिहरूले उमेर ढाँटेर जागिर खाने गरेको पाइएको एक कर्मचारीले बताए । कर्मचारीभन्दा प्राध्यापकमा समस्या बढी छ । उमेर लुकाएर बढी समय जागिर खाने कतिपय अदालतसमेत जाने गरेका छन् । चालू आर्थिक वर्षमा अवकाश पाउने समयभन्दा बढी पढाएकाबाट लिएको सेवासुविधा असुल गर्न तीन÷चारवटा केस त्रिवि प्रशासनमा आएको छ । कर्मचारीमा कार्यालय सहयोगी तहमा मात्र केही समस्या रहेको ती कर्मचारीको भनाइ छ ।

लामो समय जागिर खाँदा सेवासुविधा र पेन्सनसमेत बढी आउने आसले उमेर र सर्टिफिकेट लुकाउने प्रवृत्ति देखिएको छ । आव ०७५-०७६ मा तीनजना प्राध्यापकले बढी पढाउँदा पाएको रकम फिर्ता गर्नुपरेको थियो । पद्मकन्या क्याम्पसका प्राध्यापकले सात महिना बढी पढाएपछि असुलीमा परेका थिए । कतिपयले असुली नगर्न त्रिवि प्रशासनलाई नेता लगाएरसमेत दबाब दिने गरेका छन् ।

गत साउनमा त्रिवि कर्मचारी प्रशासनले अवकाशसम्बन्धी काममा अप्ठ्यारो परेकाले अवकाश पाउनुभन्दा ६ महिनापहिले फारम भरेर कर्मचारी प्रशासनमा पेस गर्न सूचनासमेत जारी गरेको थियो । अवकाश सेवासम्बन्धी विवरण उपलब्ध नगराउँदा पर्ने समस्याका बारेमा शिक्षक कर्मचारी र कार्यरत कार्यालय जिम्मेवार हुने भन्दै सूचना निकालेको थियो । तर, त्यो सूचनालाई समेत बेवास्ता गरिरहेको त्रिवि कर्मचारीको भनाइ छ । 

धेरै पढाउनेको रकम पेन्सनबाटै असुल हुन्छ : प्रा. पेशल दाहाल, रजिस्ट्रार, त्रिवि

 

प्रतिक्रिया