Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
अन्तैवाट

स्थानीय सरकारको छात्रवृत्तिबाट पाइलट

बुधबार, १४ फागुन २०७६

काठमाडौं १४ फागुन / रुकुम पश्चिमको आठबिसकोट गाउँपालिकाले उपलब्ध गराएको छात्रबृत्तिबाट २ जना विद्यार्थीले पाइलट कोर्ष पुरा गरेका छन् । आठबिसकोट–५ मिगृका ललित भण्डारी र वडा १० का गोविन्द केसीले उक्त कोर्ष पुरा गरेको खबर कान्तिपुरमा हरि गौतमले लेखेका छन् ।

आठबिसकोटले बनायो दुई पाइलट शिर्षकमा प्रकाशित उक्त खबर अनुसार अध्ययन र तालिमका लागि नगरपालिकाले एक करोड रुपैयाँ ऋण सहयोग गरेपछि १४ महिने कोर्स पूरा गर्न सम्भव भएको हो ।

फिलिपिन्सबाट घर फिरेका उनीहरू अब हवाईसेवा कम्पनीले पाइलट माग्दा जान तयार छन् । ‘सानैदेखि पाइलट बन्ने रहर थियो, पैसा थिएन,’ भण्डारीले भने, ‘नगरपालिकाले सहयोग गरेपछि मेरो सपना पूरा गर्न सम्भव भएको हो ।’

भण्डारी र केसीले फिलिपिन्सको रोयल फ्लाइट ट्रेनिङ एकेडेमीबाट पाइलट कोर्स गरेका हुन् । नगरपालिकाले उनीहरूलाई ५०/५० लाख रुपैयाँ ऋण दिएको छ । स्थानीय आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामार्फत बिनाब्याज ऋण पाएपछि पाइलट पढ्न पाएका हुन् । पाइलट पढ्न चाहनेका लागि दिइने ऋण धितो जमानीमा दिने व्यवस्था गरिए पनि लिनेले ब्याज तिर्नु पर्दैन । पढेर जागिरमा जोडिएपछि ऋण तिर्ने किस्ता सुरु हुन्छ ।

अब उनीहरूले नेपालमा नागरिक उड्डयन प्राधिकरणको उडान अनुमतिसम्बन्धी परीक्षा दिनुपर्छ । त्यो पास भएपछि नेपाली आकाशमा उडानका लागि योग्य हुने केसीले बताए ।
पढेर पाइलट भएर घर फर्किएका दुवैलाई गाउँमा सम्मान गरिएको छ । आठबिसकोट नगरप्रमुख गोर्खबहादुर केसीले गत आर्थिक वर्षदेखि विभिन्न क्षेत्रमा पठनपाठनका लागि ऋण सहयोग गर्ने नगरपालिकाको नीतिअनुसार दुई युवाले पाइलट बन्ने अवसर पाएको बताए ।

सम्पूर्ण कोर्स सक्न करिब ८५ लाख खर्च भए पनि नगरपालिकाले ५० लाख बिनाब्याजको ऋणले धेरै राहत भएको छ । नगरपालिकाले कार्यविधि नै बनाएर अध्ययनका लागि ऋण तथा आर्थिक सहयोग गर्ने कार्यक्रम ल्याएको छ । नगर प्रमुख केसीका अनुसार पहिलो वर्ष दुई पाइलट, दुई डाक्टर र दुई इन्जिनियर उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।

नगरपालिकाको रोहवरमा संस्थाबाट ऋण लिएर पढेकाले जागिर नपाउँदासम्म ब्याज लाग्दैन । जागिर सुरु भएपछि ६ प्रतिशत ब्याज लाग्ने कार्यविधि बनाइएको छ । ऋण चुक्ता गरिसक्ने अवधि भने नतोकिएको सहकारीका अध्यक्ष हरिप्रसाद शर्माले बताए । घर, जग्गा धितो राखेर ऋण दिने र धितोको मूल्यांकन थोरै भए सामूहिक जमानीमा ऋण दिने नियम रहेको शर्माले बताए ।

प्रतिक्रिया