Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

शिक्षक लाईसेन्स नतिजा : परीक्षार्थीको अवस्था कमजोर रहेको प्रारम्भिक संकेत

बुधबार, १४ फागुन २०७६

भक्तपुर - गत असोजमा भएको शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) को परीक्षाफल प्रकाशन शुरु भएको छ । शिक्षक सेवा आयोगले बुधबार माध्यमिक तहका विभिन्न सात विषयको नतिजा सार्वजनिक गरेसँगै नतिजा प्रकाशनको काम शुरु भएको हो । ईलेक्ट्रिकल इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङ, पशु विज्ञान, बाली विज्ञान, कानून, कम्प्युटर ईञ्जिनियरिङ र कम्प्युटर विज्ञानको नतिजा प्रकाशन गरेको आयोगले जनाएको छ ।

कम परीक्षार्थी रहेका विषयबाट नतिजा प्रकाशनको काम शुरु गरिएको आयोगले जनाएको छ । अब क्रमैसँग अन्य विषयको नतिजा सार्वजनिक गर्दै जाने आयोगको तयारी रहेको जनाईएको छ ।

न्यूनतम ५० अँक प्राप्त गर्ने उम्मेद्वारहरु उत्तीर्ण हुने व्यवस्था अनुसार नतिजा सार्वजनिक गरिएको हो । नतिजा प्रकाशन सँगै परीक्षार्थीको अवस्था कमजोर रहेको देखिएको आयोग श्रोतले जनाएको छ ।

'बस्तुगत तर्फ ठिकै देखिए पनि लिखितको अवस्था ज्यादै कमजोर देखिन्छ' उक्त श्रोतले भन्यो 'गणित, विज्ञान, अँग्रेजी जस्ता विषयका परिक्षार्थीको अवस्था त झन् कमजोर देखिएको छ ।'

यो अवस्थाले अझै पनि कमजोर जनशक्ति नै शिक्षक हुन तयार भईरहेको पुष्टि गर्छ । तर आयोगका प्रशासकीय प्रमुख बैकुण्ठप्रसाद अर्याल अहिले नै त्यो निष्कर्शमा पुग्न नहुने बताउँछन् ।

'अहिले त जम्मा ७ विषयको नतिजा सार्वजनिक गरिएको छ, यही नतिजाका आधारमा समग्र चित्रण गर्न हतार हुन्छ' उनले भने 'सबै नतिजा सार्वजनिक भए पछिको विश्लेषण बल्ल परिपक्क हुने छ, अहिले हतार नगरौं ।'

प्रतिक्रिया