Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

थपिएको एक वर्ष पनि सकियो, चुनाव कहिले टुङ्गो छैन

विहीबार, १५ फागुन २०७६

काठमाडौं १५ फागुन / त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरू बुधबारदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)विहीन भएका छन् । पछिल्लो पटक ०७३ सालमा स्वविय निर्वाचन भएका केही क्याम्पसमा थपिएको एक वर्षसमेत गरी बुधबारबाट कार्यकाल सकिएको छ ।  अधिकांश क्याम्पसमा ०६५ सालयता स्ववियू निर्वाचन भएको छैन । 

त्रिविले १४ फागुनका लागि घोषणा गरेको स्ववियु निर्वाचन नभएपछि अनिश्चित कालका लागि स्थगित गरेको थियो । ठूला विद्यार्थी संगठनहरू स्ववियु निर्वाचन गराउन एक नभएका कारण त्रिविले अनिश्चितकालका लागि निर्वाचन स्थगित गरेको थियो । नेविसंघले रेक्टर नियुक्ति गर्नुपर्नेलगायतका माग राखेपछि संगठनहरूबीचमा एकता हुन सकेको थिएन ।

स्ववियु निर्वाचनको घोषणा गरेपछि त्रिविले उपत्यकाका क्याम्पस प्रमुखहरूको भेला र विद्यार्थी संगठनहरूसंग छलफल गरेको थियो । त्यतिवेला नेविसंघको केन्द्रीय नेतृत्वविहीन रहेको र नयाँ नेतृत्व आएपछि रेक्टर नियुक्तिलाई प्राथमिकता दियो । स्ववियु नियमअनुसार मतदान हुनुभन्दा एक महिनाअघि कार्यतालिका सार्वजनिक हुनुपर्छ । 

नयाँ पत्रिकामा त्रिविका क्याम्पस स्ववियु विहीन शिर्षकमा प्रकाशित खबर अनुसार  संगठनहरूबीच एकमत नहुँदा पूर्वघोषित निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न समय नपुगेको त्रिविका उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटाले बताए । 

०७३ सालमा त्रिविका ६२ मध्ये २६ आंगिक क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । स्ववियु नियममा दुई वर्षमा निर्वाचन गर्ने व्यवस्था छ । अघिल्लो पटकदेखि स्ववियुमा २८ वर्षे उमेर हद लागेको छ । त्रिविका आंगिक, सामुदायिक र केही निजीमा समेत गरी करिब पाँच सय क्याम्पसमा स्ववियु निर्वाचन हुने गरेको छ । ०७५ सालमा पनि स्ववियु निर्वाचनको प्रयास सफल हुन सकेको थिएन । 

यसैबीच, त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति बाँस्कोटाले आगामी चैत मसान्तसम्ममा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न उपयुक्त हुने बताएका छन् । चैत अन्तिम सातामा निर्वाचन गर्दा विद्यार्थीको परीक्षालगायतमा कम असर पर्ने भएकाले यो समयमा निर्वाचन गर्ने वातावरण बनाउन त्रिवि लागेको उनले बताए । 

रत्नराज्यलक्ष्मी क्याम्पसको स्ववियुले बुधबार आयोजना गरेको कार्यक्रममा उपकुलपति बाँस्कोटाले त्रिवि जति सक्यो छिटो निर्वाचन गराउने पक्षमा रहेको बताए । ‘निर्वाचन गराउन लागि परेका छौँ । रेक्टर नियुक्त गरेर त्यसको भोलिपल्टै विद्यार्थीसँग छलफल गर्ने योजनामा छु,’ उपकुलपति बाँस्कोटाले भने, ‘नेविसंघले रेक्टर नियुक्तको माग गर्नु नाजायज होइन, तर त्यही माग राखेर निर्वाचनमा जान नपर्ने कारण थिएन ।’ उनले ठूला संगठन एक ठाउँमा उभिन नसक्दा स्ववियु निर्वाचन हुन नसकेको पनि बताए । एक महिनाअघि कार्यतालिका सार्वजनिक गरेर निर्वाचनको तयारी गर्ने उनले बताए ।

आरआर क्याम्पसप्रमुख डा. निर्मलाकुमारी सुवालले स्ववियु हुँदा प्रशासनलाई काम गर्न सहज भएको बताइन् । स्ववियुले समन्वयकारी भूमिका खेल्दा सहज हुने गरेको उनको भनाइ छ । सोही क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाहीले समयमा स्ववियू निर्वाचन नहुँदा नेतृत्व उत्पादन गर्ने नर्सरी नै बन्द भएको बताए ।

पञ्चायत र शाहीकालमा समेत नियमित भएको स्ववियु निर्वाचन लोकतान्त्रिक व्यवस्थामा रोकिनु अस्वाभाविक भएको उनको भनाइ छ । स्ववियु निर्वाचन भएका क्याम्पसमा पढाइ सुरु भइरहेको र नभएका क्याम्पसमा अस्थिरता, झगडा भएको बताए । स्ववियु उपसभापति श्रीकृष्ण उप्रेतीले निर्वाचन नहुनुमा नेविसंघ, अनेरास्ववियुलगायत सबै पक्ष दोषी रहेको बताए । 

नेकपानिकट अनेरास्ववियुका अध्यक्ष ऐन महरले १४ फागुनका लागि घोषणा गरेको स्ववियु निर्वाचन नहुुनुमा विश्वविद्यालय र ठूला दुई विद्यार्थी संगठन मुख्य जिम्मेवार रहेको बताए । उनले त्रिविलाई आगामी चैत मसान्तसम्म निर्वाचन हुने वातावरण गराउन आग्रह पनि गरे ।

नेवि संघका अध्यक्ष राजीव ढुंगानाले स्ववियु निर्वाचनका लागि त्रिवि चाहिने जति गम्भीर नभएको र प्रयास पनि नगरेको आरोप लगाए । उनले स्ववियु निर्वाचनका लागि रेक्टर नियुक्ति र विश्वसनीय वातावरण बनाउन आग्रह गरे । 

प्रतिक्रिया