Edukhabar
विहीबार, २७ बैशाख २०८१
विदेशमा शिक्षा

सरकारद्वारा एनओसीमा रोक, विद्यार्थीको ख्याल गरिएको शिक्षा मन्त्रीको भनाई

सोमबार, १९ फागुन २०७६

काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको (कोभिड–१९) बढ्दो जोखिमलाई मध्यनजर गर्दै सरकारले विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई तत्कालका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नदिने भएको छ । आईतबार बसेको मन्त्री परिषद् बैठकले उक्त निर्णय गरेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । विद्यार्थीको ख्याल गरेर उक्त निर्णय गरिएको मन्त्री पोखरेलले बताए । 

'संसारका ६८ देशमा कोरोना फैलिसकेको छ,  हाम्रा नागरिकको ख्याल गर्नु सरकारको मुख्य दायित्व भएकाले तत्कालका लागि एनओसी नदिने निर्णय गरिएको हो' एडुखबरसँग कुरा गर्दै उनले भने 'कुन देशमा रोक्ने र कुन देशमा खुल्ला गर्ने भन्ने बारेमा अवस्था विश्लेषण गरेर थप निर्णय  गर्ने सरकारको योजना छ ।' 

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सरकारले बनाएको समितिले गर्ने अध्ययन र अवस्था विश्लेषणका आधारमा आवश्यकता अनुसार अन्य निर्णय हुँदै जाने मन्त्री पोखरेलले जानकारी  दिए । 

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार बर्षको सरदर एक लाख बढी नेपाली विद्यार्थीले विभिन्न मुलुकमा उच्च शिक्षा अध्ययन गर्न जानका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिदैं आएका छन् । अहिले वैदेशिक शिक्षामा जाने विद्यार्थीमध्ये सबै भन्दा धेरैको रोजाई अष्ट्रेलिया छ भने दोस्रो रोजाईमा जापान छ । यी दुबै मुलुकमा उक्त भाईरसको सक्रमण देखिएको छ । 

चीनको वुहानबाट शुरु भएको कोभिड–१९ को बढ्दो जोखिमका कारण सरकारले भ्रमण बर्ष २०२० लाई पनि स्थगित गरेको छ । नेपाल आउने विदेशीलाई आगमन भिसा (अन(अराइभल) भिसा समेत तत्कालका लागि स्थगित गर्ने सरकारले निर्णय गरेको छ । धेरै मानिस संलग्न हुने कार्यक्रम गर्दा संक्रमणको सम्भावना अधिक हुने भन्दै सरकारले ठूला सभा सम्मेलनहरू सकेसम्म नगर्न समेत अपिल गरेको छ । जोखिमलाई ध्यान दिदैं सरकारले आइतबारदेखि नै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने सबै यात्रुको स्वास्थ्य जाँच पनि सुरु गरेको छ । विदेशबाट आउने पर्यटक, नेपाली तथा तेस्रो मुलुक जाने ट्रान्जिटका यात्रु सबैले स्वास्थ्य जाँचको डेस्क अनिवार्य पार गर्नुपर्ने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया