Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

दलीय भागवण्डामा नियुक्ति शुरु

बुधबार, २१ फागुन २०७६

काठमाडौं २१ फागुन / सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसको सहमतिमा भागवण्डामा विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न थालिएको छ ।

मंगलबार सुदूरपश्चिम विश्वविद्यालयमा प्रा.डा. अम्मरराज जोशीले उपकुलपतिमा नियुक्ति पाए । कान्तिपुरमा सुदीप कैनीले उपकुलपतिमा दलीय भागवण्डा शिर्षकमा लेखेको खबर अनुसार उनलाई कांग्रेस कोटामा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले नियुक्ति गरेका हुन् ।

सोमबार नेकपाको पूर्वएमाले खेमाबाट पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरिएको थियो । स्रोतका अनुसार नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच ६ विश्वविद्यालयमा रिक्त उपकुलपतिसहित २१ पदाधिकारी भागवण्डामा नियुक्त गर्ने सहमति भएको छ ।

भागवण्डामा पूर्वएमाले र पूर्वमाओवादी खेमाबाट दुई/दुई विश्वविद्यालयका उपकुलपतिसहित १४ जना पदाधिकारी नियुक्त गर्ने सहमति नेताहरूबीच भएको स्रोतले जनायो । कांग्रेसको भागमा दुई उपकुलपतिसहित सात पदाधिकारी परेको छ । विश्वविद्यालयमा रिक्त रहेका रजिस्ट्रार, रेक्टर, सेवा आयोग अध्यक्षलगायत पदाधिकारी प्रमुख दुई राजनीतिक दलले बाँडेका हुन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उपकुलपति नियुक्तिका लागि सम्भावित उम्मेदवारहरूको नाम पेस गर्दा प्रधानमन्त्री ओलीले छलफलपछि मात्रै सिफारिस गर्न सुझाएको शिक्षा मन्त्रालय निकट स्रोतले बतायो । उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्रीको संयोजकत्वमा सिफारिस समिति छ ।

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीले तीन विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरेका हुन् । सोहीअनुसार मध्यपश्चिममा पूर्वएमाले खेमाबाट प्रा.डा. नन्दबहादुर सिंह र पूर्वाञ्चलमा प्रा.डा. यादव कोइरालाले प्रधानमन्त्री कार्यालयबाट नियुक्तिपत्र बुझेका हुन् । कांग्रेसले सुदूरपश्चिम र संस्कृत विश्वविद्यालयसहित त्रिभुवन विश्वविद्यालयको रेक्टर पाउने सहमति भएको प्राध्यापक संघ निकट एक प्राध्यापकले बताए । संस्कृतमा प्रा.डा. प्रेमनारायण अर्याललाई उपकुलपति नियुक्ति गर्ने तयारी भएको स्रोतको दाबी छ । शिक्षामन्त्री पोखरेल अध्यक्ष रहेको सिफारिस समितिले नाम सिफारिस गर्न बाँकी रहेकाले अर्यालले नियुक्ति पाउन बाँकी छ ।

पूर्वमाओवादीलाई कृषि तथा वन विज्ञान र पोखरा विश्वविद्यालयको उपकुलपति भागमा परेको उक्त स्रोतले जनायो । यी विश्वविद्यालयको सिफारिस समितिमा पनि शिक्षामन्त्री नै अध्यक्ष रहेकाले नाम सिफारिस नहुँदा नियुक्ति रोकिएको छ । नियुक्ति भएका पूर्वाञ्चलबाहेक दुई विश्वविद्यालयमा भने राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य उषा झाको अध्यक्षतामा सिफारिस समिति बनेको थियो । उनले प्रधानमन्त्रीकै निर्देशनमा नियुक्ति पाउनेहरूसहित तीन/तीन जनाको नाम सिफारिस गरेकी थिइन् । चितवनको कृषि तथा वन विश्वविद्यालयमा अध्यक्ष दाहालले प्रा.डा. पुण्य रेग्मीलाई उपकुलपति नियुक्ति गर्न चाहेको स्रोतले उल्लेख गरेको छ ।

पोखरा विश्वविद्यालयमा दाहाल, नेता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री पोखरेलले छुट्टाछुट्टै उम्मेदवारलाई अघि सारेका कारण पनि तत्काल सहमति हुने सम्भावना छैन । पार्टीभित्रै एकमत नभएकाले शिक्षा मन्त्रालयले पोखरामा प्रा.डा. इन्द्रप्रसाद तिवारीलाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएको छ । उपकुलपतिको सिफारिसमा कुलपतिले अन्य पदाधिकारी नियुक्त गर्ने प्रावधान छ ।

६ वटै विश्वविद्यालयमा उपकुलपति नियुक्तिपछि बाँकी पदाधिकारी भागवण्डामा नियुक्त गर्दै जाने सहमति भएको स्रोतले जनायो । उच्चस्तरीय शिक्षा आयोगले प्रतिस्पर्धाबाट उपकुलपतिलगायत पदाधिकारी नियुक्ति गर्ने नीति अवलम्बन गर्न सुझाव दिएको थियो । शिक्षाविद्हरूले शिक्षामन्त्रीलगायत राजनीतिक व्यक्तिलाई सिफारिस समितिमा राख्ने प्रावधान नै बदल्न सुझाएका थिए । नेताहरूले चयन गर्ने व्यक्तिलाई नियुक्ति दिन सिफारिस समितिलाई निर्देशन दिएर कुलपतिलाई प्रभावित पार्ने गरेको शिक्षाविद् मनप्रसाद वाग्लेले बताए ।

प्रतिक्रिया