Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

हात चिर्न लगाउने शिक्षक पक्राउ, भन्छिन् घटनाबाट म लज्जित छु

आइतबार, २५ फागुन २०७६

काठमाडौं २५ फागुन / परीक्षामा कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई यातना दिने जडीबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्य पक्राउ परेकी छन् । कान्तिपुरमा शिर्षकमा प्रकाशित खबर अनुसार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई शनिबार बिहान पक्रेको हो ।

कर्माचार्यले १० वर्षदेखि उक्त विद्यालयमा पढाइरहेकी थिइन् । प्रहरी वृत्त बानेश्वरको हिरासतमा रहेकी उनले आफूले नियतवश यातना नदिएको र उक्त घटनाबाट आफू दुखित बनेको प्रारम्भिक बयान दिएकी छन् । ‘यो घटनाबाट म लज्जित छु, नियतवस मैले त्यस्तो कार्य गरेको होइन,’ उनको बयान उद्धृत गर्दै अनुसन्धानमा खटिएका प्रहरीले भने, ‘आवेग र आक्रोशमा यस्तो घटना हुन पुग्यो ।’ घटनाबारे विद्यालयका प्रिन्सिपल र अभिभावकलाई बोलाएर प्रहरीले जानकारी लिएको छ ।

उनले बिहीबार कक्षा ६ का २५ र ७ का नौ जना विद्यार्थीले आन्तरिक परीक्षामा कम नम्बर ल्याएको भन्दै पाखुरा र नाडीमा पेन्सिल तिखार्ने ब्लेडले चिर्न लगाएकी थिइन् । उनले हातमा ब्लेडले नचिरे आफैंले चिरिदिने धम्की दिएकी थिइन् । जति नम्बर कम आएको छ, त्यति नै पटक हातमा चिर्न लगाइएको थियो । सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीलाई १५ पटकसम्म चिर्न लगाइएको थियो । त्यसको भोलिपल्ट शुक्रबार अभिभावक आएर शिक्षिकाले आफ्ना छोराछोरीमाथि यातना दिएको भन्दै विद्यालयमा उजुरी गरेका थिए । त्यसपछि विद्यालयको आकस्मिक बैठकले कर्माचार्यलाई शुक्रबारै बर्खास्त गरेको थियो ।

यातना पाउनेमध्येकी कक्षा ६ की छात्रा विपासा गौतमका आफन्त प्रेम गौतमका अनुसार बिहीबार कम नम्बर ल्याउने विद्यार्थीलाई शिक्षिकाले जति नम्बर ल्याएको हो, त्यति नै संख्यामा नाडीमा ब्लेडले चिर्न लगाएकी थिइन् । ‘आन्तरिक परीक्षामा २० नम्बरमा कम्तीमा १५ नम्बर ल्याउनुपर्ने, नभए हात काटिदिने धम्की शिक्षिकाले दिएकी रहिछन्,’ प्रेमले भने, ‘घरमा यो कुरा भने चिरेको ठाउँमा नुन–खुर्सानी दलिदिने भन्दै धम्क्याएपछि विद्यार्थीले हात रक्ताम्य हुँदा पनि नभनी बसेका रहेछन् ।’

विपासा विद्यालय जान नमानेपछि सोधखोज गर्दा बल्ल घटनाबारे खुलेको उनले बताए । दाहिने हातमा ब्लेडले चिरेको घाउ देखिएपछि उजुरी गर्न उनीहरू विद्यालय गएका थिए । अन्य दुई विद्यार्थीले पनि घरमा बताएका रहेछन् ।

सुरुमा विद्यालयले घटना सामान्य भन्दै यातना दिनेलाई बचाउन खोजेको थियो । अभिभावकको भीड लागेपछि मात्रै बाध्य भएर शिक्षिकालाई सेवाबाट बर्खास्त गरेको गौतमले बताए । ‘यस प्रकारको दण्ड दिने कार्यलाई निरुत्साहन गर्दै शिक्षकहरूबाट दण्डरहित शिक्षणको सम्मान गर्दै कर्माचार्यलाई फागुन २३ देखि लागू हुने गरी विद्यालयको शिक्षक पदबाट अवकाश दिने निर्णय विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विद्यालयले जारी गरेको विज्ञप्तिमा छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले आरोपित शिक्षिकाविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइने बताए । ‘आइतबार म्याद थप गरेर घटनाको अनुसन्धान गर्छौं,’ सुवेदीले भने, ‘शिक्षकले विद्यार्थीलाई यातना दिएर पढाउन पाउँदैन, यो कानुनी अपराध हो ।’ अभद्र व्यवहारमा आरोपित कसुरदार ठहरिए १० हजार रुपैयाँ जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ को दफा ११८ मा छ ।

प्रतिक्रिया