Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

नमुना विद्यालय निर्माण योजना अनुसार धमाधम काम

आइतबार, २५ फागुन २०७६

काठमाडौं २५ फागुन / माध्यमिक तहको शिक्षा दिने गरी सिन्धुपाल्चाेकको हेलम्बु गाउँपालिकाले नमुना सामुदायिक विद्यालय निर्माण योजना अघि बढाएको छ। 

नागरिकमा ध्रुव दंगालले एकीकृत नमुना विद्यालय बनाउँदै हेलम्बु शिर्षकमा लेखेको खबर अनुसार गाउँपालिकाले हेलम्बु मोडेल स्कुलको नाम दिएर इचोकको घोप्टेघ्याङमा नमुना विद्यालय भवन बनाइरहेको छ।

गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने उद्देश्यले माध्यमिक तहको पढाइ एउटै थलोमा सञ्चालन गर्ने उद्देश्यले आवासीय विद्यालय भवन निर्माण थालिएको बताए। ‘गाउँपालिकाभित्रका नौदेखि १२ कक्षाका विद्यार्थी यो विद्यालयमा पढ्छन्,’ उनले भने। उनका अनुसार सो विद्यालयमा पठनपाठन सञ्चालन भएपछि गाउँपालिकाका अन्य विद्यालयबाट माध्यमिक तह हटाइनेछ। सीमित स्रोत, साधन एकीकृत गरेर गुणस्तरीय शिक्षा दिन यो नीति अघि सारिएको उनले जानकारी दिए।

गाउँपालिकाका अनुसार मोडेल स्कुलका १४ कोठे दुईवटा भवन निर्माण भइरहेका छन्। अर्को चारकोठे भवन छिट्टै निर्माण थाल्ने तयारी छ। यो वर्ष १८ कोठे विद्यालय भवन तयार हुने अध्यक्ष शेर्पाले जानकारी दिए। चार करोड २५ लाख रुपैयाँ लागतमा विद्यालय भवन बनिरहेका हुन्। नमुना विद्यालयका लागि जिल्ला समन्वय समिति, संघीय सरकारको निःसर्त अनुदान र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुदानबाट बजेट व्यवस्थापन गरिएको शेर्पाले बताए।

गाउँपालिकामा हाल नौवटा मावि छन्। मोडेल स्कुल सञ्चालनमा आएपछि मेलम्चीघ्याङबाहेक अरू आठ विद्यालयबाट मावि तह हटाएर त्यहाँका शिक्षक विद्यार्थी एकीकृत गर्ने नीति गाउँपालिकाले अघि सारेको छ। दुई दर्जन जिल्लाका विद्यार्थी पढ्ने मेलम्चीघ्याङ माविमात्र यथावत राखिनेछ। ‘गुणस्तरीय शिक्षाका लागि मेलम्चीघ्याङ मुलुककै चर्चित सामुदायिक विद्यालय हो। यो हेलम्बुको मात्र नभएर मुलुकै ब्रान्ड नाम बनेको छ,’ अध्यक्ष शेर्पाले भने।

विद्यार्थी घटिरहेन तर प्रशासनीक र शिक्षक तलब, भत्ता र अन्य खर्च बढिरहने विद्यमान समस्याको दीर्घकालीन सामाधान खोज्दै गुणस्तरीय शिक्षा दिन गाउँपालिकाले एक मावि अवधारणा अघि सारेको हो। ‘यसो गर्दा विद्यार्थी संख्या पनि पुग्छ। तलब, भत्ता र अन्य अनावश्यक खर्चसमेत घट्छ,’ अध्यक्ष शेर्पा भन्छन्, ‘छरिएको सीमित स्रोत, साधन एकीकृत गरेपछि एउटै विद्यालयलाई पर्याप्त हुने विश्वास छ।’ हाल सञ्चालनमा रहेका माविमा विद्यार्थी संख्या भने घटिरहेको तर विषयगत शिक्षक अभाव भएर हैरानी बेहोर्नुपरिरहेको उनले सुनाए।

कारितास नामक संस्थाले मोडेल स्कुलको डिजाइनको काम गरिरहेको छ। २०७८ को नयाँ शैक्षिक सत्रदेखि मोडेल स्कुल सञ्चालनमा ल्याउने योजनासहित गाउँपालिकाले काम गरिरहेको छ। विद्यालयको तल्ला कक्षामा भने आसपास गाउँका विद्यार्थी पढ्नेछन्। उनीहरू अहिले मावि पढ्न दैनिक चार घण्टासम्म हिँड्न बाध्य छन्। कार्यालय, बैठक कक्ष, तालिम हल, विभिन्न प्रयोगशाला र संग्रहालय रहने मोडेल स्कुलका लागि ४० कोठा आवश्यक पर्ने देखिएको प्रमुख कार्यकारी अधिकृत भीम कोइरालाले जानकारी दिए।

‘अपुग संरचना बर्सेनि थप्दै जान्छौं,’ उनले भने। उनका अनुसार हालको तथ्यांकलाई आधार मान्दा नमुना विद्यालयमा झन्डै एक हजार पाँच सय विद्यार्थी हुनेछन्। नौदेखि १२ कक्षा पढ्ने विद्यार्थीलाई आवासमा राखिनेछ। आवासको लागि ठुल्ठुला भवन बनाइने छैन। १० जनासम्म विद्यार्थी अट्ने अलग आवास व्यवस्थापन गरिनेछ। ‘समूहमा आफ्ना लागि आफैं पकाएर खाने व्यवस्था मिलाउँदै छ,’ पौडेलले भने।

आवश्यक तरकारीलगायत खाद्यन्न विद्यालय आफैंले उत्पादन गर्ने कार्ययोजना रहेको उनले जानकारी दिए। उनका अनुसार यसका लागि कृषि फार्म सञ्चालनमा ल्याइनेछ। ‘कृषि फार्ममा विद्यार्थीले नै काम गर्ने मोडेल अघि सारिएको छ। यसबाट विद्यार्थीले औपचारिक पढाइसँगै कृषिको ज्ञान र व्यावहारिक शिक्षासमेत पाउँछन्,’ उनले भने।

मोडेल स्कुलको प्रमुखको रूपमा निर्देशक नियुक्त गरिने गाउँपालिकाको अवधारण रहेको छ। गाउँपालिकाले निर्देशक नियुक्ति गर्ने अध्यक्ष शेर्पाले जानकारी दिए। ‘समग्र प्रशासनिक र व्यवस्थापन निर्देशकले हेर्छन्,’ संयुक्त नेतृत्वको अवधारणा सुनाउँदै उनले भने, ‘प्रधानाध्यापकले पठनपाठनको नेतृत्व गर्नेछन्।’

प्रतिक्रिया