Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

आगामी शैक्षिक सत्रदेखि नयाँ भवन

सोमबार, २६ फागुन २०७६

काठमाडौं २६ फागुन / ऐतिहासिक दरबार हाइस्कुलका रूपमा परिचित भानु माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि नयाँ भवनबाट कक्षा सञ्चालन गर्ने भएको छ ।

दरबार हाइस्कुल अब भव्य भवनमा शिर्षकमा गोरखापत्रमा शेषकान्त पण्डितले लेखेको खबर अनुसार २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको भवन निर्माण कार्य सम्पन्न भएसँगै यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालनको तयारी गरिएको हो । नेपाल र चीन सरकारको निर्माण प्राविधिक टोलीले अन्तिम स्वीकृति दिएर नेपाललाई हस्तान्तरण गरेपछि वैशाखबाट विद्यार्थीले भवनमा पठनपाठन गर्न पाउनेछन् ।

विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले नयाँ शैक्षिक सत्रबाट विद्यार्थीलाई नवनिर्मित दरबार हाइस्कुलमा सार्ने गरी आफूहरू आन्तरिक तयारीमा जुटेको जानकारी दिनुभयो । १८ महिनाको अवधिमा चीन सरकारले छनौट गरेको साङ्घाई कन्स्ट्रन्क्सन प्रालिले निर्माण कार्यलाई पूर्णता दिएको हो । झण्डै ८० करोड लगानीमा निर्माण कार्य पूरा भएको विद्यालय भवन निक्कै आकर्षक बनेको छ । यसअघि सरकारले क्षतिग्रस्त भवनमा रातो स्टिकर टाँसेपछि विद्यार्थीले निकै जीर्ण भवनमा अध्ययन गर्दै आएका थिए ।

दुई सरकारबीच सहमतिपछि दरबार हाइस्कुलको बाहिरी संरचना पुरानै शैलीमा निर्माण गरिएको छ । प्रअ महतोले स्कुलको बाहिरी संरचना पुरानै शैलीको भए पनि निर्माणका क्रममा प्रयोग गरिएका सबै सामग्री आधुनिक भएको जानकारी दिनुभयो । हाल दरबार स्कुल वाल्मीकि विद्यापीठको परिसरमा चीन सरकारले नै निर्माण गरिदिएको अस्थायी सिकाइ केन्द्र (टीएलसी) मा सञ्चालन हुँदै आएको छ ।

शैक्षिक तथा प्रशासनिक पक्षलाई समेत दृष्टिगत गरी आधुनिक स्वरूपमा दरबार हाइस्कुलको निर्माण गरिएको छ । विद्यालयमा ४० वटा कक्षा कोठा रहेका छन् । जसअनुसार विद्यालय अध्ययनरत विद्यार्थीले अब कक्षा कोठामा अलग अलग टेबल कुर्सीमा बसेर पढ्नेछन् । विद्यालयमा सीसीटीभी जडान गरिएको छ । कन्ट्रोल रुमबाट विद्यालयका प्रअले कुनै जानकारी दिए कक्षाका सबै विद्यार्थी र शिक्षकले सुन्न सक्ने गरी मिलाइएको छ ।

साथै विद्यालय परिसरमा हल, क्यान्टिन, महिला–पुरुष शौचालय, विज्ञान, कम्युटर गणित प्रयोगशालाको सुविधा उपलब्ध छ । अडिटोरियम हल, शिक्षक तथा प्रअ कक्ष, अतिरिक्त क्रियाकलापका लागि अलग अलग कोठा बनाइएका कारण विद्यालय अब नमुनाकै हिसाबले अघि बढ्ने अवस्थामा पुगेको छ ।

भवन हस्तान्तरण गरिएको मितिबाट दुई वर्षभित्र विद्यालयको भत्केबिग्रेको पुनर्निर्माण चीनको निर्माण कम्पनीले नै गरिदिने भएको छ । निर्माण प्रारम्भ गर्दाकै अवस्थामा दुई पक्षबीच यस खालको सहमति गरिएको जनाइएको छ । भवनको प्रयोग गर्ने तरिका तथा प्राविधिक पक्षमा चीनले नेपाली टोलीलाई तालिम दिने योजना रहेको प्रअ महतोले जानकारी दिनुभयो । त्यसपछि भने सबै जिम्मा विद्यालयकै हुनेछ ।

विद्यालयको ऐतिहासिक पहिचान भए पनि विद्यालयमा अध्ययनरत विद्यार्थी सङ्ख्या न्यून नै छ । विद्यालयका अनुसार हाल १५० जना विद्यार्थी र १८ जना शिक्षक कार्यरत छन् । यद्यपि आकर्षक भौतिक सुविधा र संरचनाले विद्यार्थी बढ्ने अनुमान गरिएको छ । विद्यालयले विद्यार्थी बढाउन अभियान नै सञ्चालन गर्ने भएको छ ।

विद्यालयमा अब मल्टिमिडियाकोे प्रयोग गरेर पठनपाठन गरिनेछ । यसबाट विद्यार्थी थप हुने अनुमान विद्यालय प्रशासनको छ । धेरै विद्यार्थी तथा अभिभावकले पनि नयाँ भर्नाका लागि चासो राखेको जानकारी विद्यालयले दिएको छ । ईसीडीदेखि कक्षा आठसम्म अङ्ग्रेजी र त्यसपछि नेपाली माध्यममा पठनपाठन गराइने जानकारी विद्यालयले दिएको छ ।

राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले आफ्ना भाइभतिजालाई अङ्ग्रेजी शिक्षा पढाउनका लागि वि.सं १९१० मा थापालीस्थित आफ्नै दरबार परिसरमा यो स्कुल खोलेका थिए । सुरुमा राणा परिवारका व्यक्तिले मात्र पढ्न पाउने यो विद्यालयमा देव शमशेर श्री ३ भएपछि सर्वसाधारणका छोराछोरीलाई पनि स्कुलमा पढ्न पाउने व्यवस्था गरिदिएका थिए ।

प्रतिक्रिया