Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

विद्यालयमै परीक्षा सञ्चालन गर्न दिएको निर्देशन अटेर

सोमबार, २६ फागुन २०७६

काठमाडौं २६ फागुन / सरकारले कक्षा ८ को परीक्षा केन्द्र कायम नगरी विद्यालयमै परीक्षा सञ्चालन गर्न दिएको निर्देशनलाई उपत्यकाकै एक नगरपालिकाले अटेर गरेको छ।

शिक्षा मन्त्रालयको अपिलस् महालक्ष्मीद्वारा अवज्ञा शिर्षकमा नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेको खबर अनुसार ललितपुर महानगरपालिकासँगै सिमाना जोडिएको महालक्ष्मी नगरपालिकाले सो निर्णय अवज्ञा गर्दै केन्द्र कायम गरी परीक्षा सञ्चालन गर्ने भएको छ। अधिकांश स्थानीय निकायले भोलि फागुन २७ गतेको परीक्षा तालिका सार्वजनिक गरेका छन्। सो नगरपालिकाले २९ गतेदेखि सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ।

विश्वका १ सय ३ मुलुकमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको त्रास संसारभर फैलिरहेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सकभर भीडभाड हुने गरी केन्द्र कायम गरी परीक्षा सञ्चालन नगर्न सार्वजनिकरूपमै अपिल गरेको थियो।

मन्त्रालयले एसईई, कक्षा ११ र १२ बाहेक अन्य परीक्षामा सेन्टर कायम नगर्न गरेको आग्रहलाई अटेर गर्दै महालक्ष्मी नगरपालिकाले सरकारी निर्देशन नमान्ने चेतावनी दिएको हो।

नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले एसईई परीक्षामा सेन्टर कायम गरेको सरकारले नगरपालिकाले लिने परीक्षामा सेन्टर कायम नगर भन्नु गलत भएको तर्क राख्दै उहाँले भन्नुभयो– ‘हामीलाई कानुनले अधिकार दिएको छ, कसैले भनेको मान्नुपर्छ भन्ने छैन।’ उहाँले कुनै पनि निकायले लिखित निर्देशन नगरेकाले केन्द्र कायम गरेरै परीक्षा सञ्चालन गरेको दाबी गर्नुभयो।

‘उसो भए कोरोनाको विषयमा गम्भीर हुनु जरुरी छैन’ भन्दा उहाँको भनाइ थियो– ‘हामी गम्भीर छौं तर सेन्टर कायम गरेकै भरमा कोरोना हुनसक्छ भन्ने भावना राख्नु सबैको गलत आधार हो।

‘ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले कक्षा ८ को परीक्षा कहिल्यै पनि केन्द्र कायम गरी सञ्चालन नगरेको ठोकुवा गर्दै भन्नुभयो– ‘अरू स्थानीय तहले जे ग¥यो, हामीले त्यही पछ्याउनुपर्छ भन्ने छैन।’ स्थानीय तहको आफ्नै कानुन भएकाले कसैले दिएको निर्देशन मान्न बाध्य नहुने उहाँको तर्क थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारले सचेतनाका लागि गरेको आग्रहलाई मान्नुपर्ने बताउँदै भन्नुभयो– ‘यो त शिक्षा मन्त्रालयको मात्र होइन, सरकारको निर्णय हो सबैले पालना गर्नुपर्छ।’

तर, मेयर श्रेष्ठले भने करिब ६ लाख विद्यार्थी सहभागी हुने एसईईको परीक्षामा विद्यालयमा सेन्टर गर्न कायम गर्दा समस्या नहुने सरकारलाई थोरै विद्यार्थी भएको कक्षा ८ को परीक्षामा तनाव लिनु जरुरी नभएको तर्क राख्नुभयो।

नेपाल समाचारपत्रले सोधेको थियो, कोरोनाको विषयमा तपाईं संवेदनशील हुनुहुन्न ? भन्ने प्रश्नमा मेयर श्रेष्ठको जवाफ थियो– ‘तपार्इंलाई निजी विद्यालयले उचालिरहेका छन्, हामी केन्द्र कायम गरेरै परीक्षा सञ्चालन गर्छौं विद्यार्थीको विषयमा हामी बढी संवेदनशील छौं।’

सो नगरपालिकाले २९ गतेदेखि ६ गतेसम्म तालिका कायम गरेको छ। सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षा ५ गतेसम्म सम्पन्न गरी त्यसपछि केही समय बिदा दिन आग्रह गरेको छ। सो नगरपालिकाका शिक्षा सहजकर्ता राजेन्द्र कार्कीले शिक्षा समितिको निर्णयअनुसार केन्द्र कायम गरी परीक्षा तालिका सार्वजनिक गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘एसईईमा सेन्टर कायम गर्नुहुन्छ भने थोरै विद्यार्थी संख्या रहेको कक्षा ८ को परीक्षामा किन केन्द्र कायम गर्नुहुँदैन ।’

उहाँका अनुसार करिब १ हजार ८ सय विद्यार्थी रहेको कक्षा ८ को परीक्षामा ७ वटा केन्द्र कायम गरिएको छ। सरकारी र निजी गरी ५९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्। यसअघि धनगढी नगरपालिकाले परीक्षा अगावै बिदा घोषणा गरेपछि संघीय मन्त्रालयको निर्देशनलगत्तै बाध्य भएर निर्णय उल्ट्याएको थियो।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले विशेष परिस्थितिमा सरकारले गरेको निर्णय सबै निकायले मान्नुपर्ने बताउनुभएको छ।

महालक्ष्मी नगरपालिकाले केन्द्र कायम गरी कक्षा ८ को परीक्षा सञ्चालन गर्न लागेको विषयमा नेपाल समाचारपत्रले जानकारी लिन खोज्दा सचिव गौतमले भन्नुभयो– ‘परिस्थितजन्य अवस्थामा शिक्षा मन्त्रालयले गरेको आत्वानलाई स्वीकार गर्नुपर्छ।’

अधिकांश स्थानीय तहले कक्षा ८ को परीक्षा विद्यालयमै केन्द्र कायम गरी सञ्चालन गर्न लागेको अवस्थामा महालक्ष्मी नगरपालिकाले सरकारको अपिललाई ठाडै अस्वीकार गरेको विषयमा सचिव गौतमको भनाइ थियो– ‘यस्तो अवस्थामा सबैले सहयोग गर्नु आवश्यक छ।’

संघीय मन्त्रालयको निर्णय नआएको हो भने तत्काल पत्र पठाएर विद्यालयमै परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्ने तयारी गरेको बताउँदै सचिव गौतमले भन्नुभयो– ‘हामी तत्काल पत्र पठाउने तयारीमा छौं।’

प्रतिक्रिया