Edukhabar
मंगलबार, ११ बैशाख २०८१
अन्तैवाट

विद्यार्थी ओसार्न भाडाका थोत्रा गाडी प्रयोग

बुधबार, २८ फागुन २०७६

काठमाडौं २८ फागुन / राजधानीमा उत्कृष्ट दाबी गर्दै चर्को शुल्क असुल्ने निजी विद्यालयले विद्यार्थी ओसार्न भने भाडाका थोत्रा गाडी प्रयोग गर्ने गरेका छन् । नयाँ पत्रिकामा भवानीश्वर गौतमले महँगा स्कुलका विद्यार्थी भाडाका थोत्रा बसमा शिर्षकमा लेखेको खबर अनुसार भाडाका पुराना गाडीमा दैनिक चार घन्टासम्म धुलो र जाममा घुमाउने तिनै केही विद्यालयले बालबालिकालाई बढी सुविधा दिएको भन्दै ‘क’ श्रेणीभन्दा माथिल्लोस्तरको शुल्क असुलेका छन् । 

विद्यालयले उपलब्ध गराएको सुविधाअनुसार सरकारले विद्यालयलाई ‘क’, ‘ख’ ‘ग’ र ‘घ’ चार स्तरमा वर्गीकरण गर्दै आएको छ । सरकारले शिक्षा नियमावलीअनुसार गर्ने वर्गीकरणका आधारमा विद्यालयले लिन पाउने शुल्क निर्धारण हुन्छ । विशिष्ट सुविधा दिएका विद्यालयले अभिभावकको भेलाबाट निर्णय गराई ‘क’ श्रेणीमा परेको विद्यालयले भन्दा अझै बढी शुल्क लिन पाउने व्यवस्था छ । 

तर, काठमाडौंमा ‘विशेष सुविधायुक्त’ भनिएका महँगा विद्यालयले समेत विद्यार्थी ओसार्न भाडाका पुराना गाडी प्रयोग गरेका छन् । एक विद्यालय हो, रातो बंगला । विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमा नजाँदै शिक्षा मन्त्रालयले रातो बंगलालाई ‘विशेष सुविधायुक्त’ भनेर अनुमति दिएको हो । 

ललिपुरका जेम्स र प्रिमियम स्कुलले पनि विशेष सुविधायुक्तका लागि माग गरेका छन् । ललितपुर महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले जेम्स र प्रिमियमले विशेष सुविधायुक्त माग गरेर आवेदन दिएको बताए । तर, संघीयता कार्यान्वयन भएपछि केही पालिकामा बाहेक विद्यालयको वर्गीकरण हुन सकेको छैन । कतिपयले पुरानै श्रेणीलाई मान्यता दिएका छन् । 

उपत्यकामा धेरै गाडी प्रयोग गर्ने निजी विद्यालयमा जेम्स, लिटिल एन्जल्स, मोडर्न इन्डियन, आइडियल मोडेल, नाइटिंगल, डिएभी सुशील केडिया, द चाँदबाग, पाठशाला, सिद्धार्थ वनस्थली, एलआरआई, भिएस निकेतनलगायत छन् । सरकारले विद्यालयका बसलाई पहेँलो रङको बनाएर प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । तर, अधिकांश विद्यालयले केही गाडी पहेँलो रङका प्रयोग गरे पनि केही भाडाकै प्रयोग गरेका छन् । कतिपय विद्यालयका आफ्नै गाडी पनि पुराना भएका छन् भने भाडामा ल्याउने सार्वजनिक यातायातसमेत पुराना हुने गरेका छन् । सस्तोमा पाइने भएकाले अधिकांश विद्यालयले लिने भाडाका गाडी बा.१ख र बा.२ख लटका छन् । यस्ता बसले धेरै धुवाँ फाल्दा र घ्वारघ्वार आवाज निकाल्दा विद्यार्थीलाई असर गर्ने गरेको छ । 

चप्पल कारखाना, शंखपार्क, धुम्बाराही, सुकेधारा रुटमा चल्ने ललितपुर यातायातको बा.१ख ८७९९ नम्बरको बसले सांसद उमेश श्रेष्ठले चलाएको आइडियल मोडेल स्कुलका विद्यार्थी बोक्ने गरेको छ । यो उदाहरण मात्र हो । चलेका भनिएका विद्यालयले विद्यार्थी बोक्ने यस्तै पुराना भाडाका गाडी प्रयोग गर्छन् । सांसद श्रेष्ठकै लिटिल एन्जेल्सले विद्यार्थी ओसार्न सबैभन्दा बढी गाडी प्रयोग गर्छ । यो विद्यालयले आफ्नै र भाडाका गरी दैनिक सयको हाराहारीमा गाडी प्रयोग गर्छ । आधाजति सार्वजनिक यातायात भाडामा लिन्छ । सेन्ट मेरिजले पनि भाडाकै गाडी प्रयोग गर्दै आएको छ । 

उमेश श्रेष्ठ मात्रै होइन, नाइटिंगल स्कुलका सञ्चालक तेजुलाल चौधरी पनि अहिले सांसद छन् । निजी विद्यालयमा अन्य कतिपय नेतादेखि व्यापारीसम्मको प्रत्यक्ष–अप्रत्यक्ष लगानी छ । उनीहरू नीति निर्माणको तहसम्म पनि पुगेका छन् । उनीहरूले आफ्ना विद्यालयअनुकूल नहुने गरी नीति–नियम आउन नदिने र आए पनि कार्यान्वयन हुन नदिने गरेको शिक्षाका कर्मचारी बताउँछन् । ‘मन्त्रालय र मन्त्रीभन्दा बलिया निजी विद्यालय सञ्चालक भएकाले छाडापन नियन्त्रण गर्न कठिन छ, अहिले स्थानीय तहको जिम्मेवारी भन्दै पन्छिने गरेका छन्,’ एक कर्मचारीले भने ।

विद्यालयका विद्यार्थी बोक्न दैनिक कति गाडी प्रयोग भएका छन् भन्ने यकिन विवरण कुनै निकायसँग छैन । तर, शिक्षा मन्त्रालयका अधिकारीका अनुसार उपत्यकामा विद्यालय तहका विद्यार्थी बोक्न दैनिक साढे तीन हजारको हाराहारीमा बस प्रयोग हुने अनुमान छ । 

उपत्यकामा एक हजार पाँच सय ६५ निजी विद्यालय छन् । तीमध्ये एक हजार ७२ विद्यालय माध्यमिक तहका छन् । शिक्षाका अधिकारीका अनुसार कक्षा १–५ मा एक लाख ८१ हजार, कक्षा ६–८ मा एक लाख पाँच हजार, मावि (९–१०)मा ६५ हजार र मावि (११–१२) मा २८ हजार विद्यार्थी छन् । निजी विद्यालयमा अध्ययन गर्ने करिब ५० प्रतिशत विद्यार्थी गाडी चढेर विद्यालय जाने प्रक्षेपण छ । प्राथमिक तहमा भन्दा ९–१० मा अध्ययन गर्ने विद्यार्थीले विद्यालयकै गाडी बढी प्रयोग गर्ने अनुमान छ । निजीमा अध्ययन गर्ने तीन लाख ७५ हजारमध्ये करिब ५० प्रतिशतले विद्यालयको बस चढ्दा पनि तीन हजार पाँच सय बस प्रयोग हुने शिक्षाका अधिकारीको विश्लेषण छ ।

सार्वजनिक बस विद्यार्थी बोक्न निजी विद्यालयले भाडामा लिन्छन् । त्यसको असर उपत्यकामा बिहान र साँझ यात्रुको चाप हुने समयमा प्रत्यक्ष पर्ने गरेको छ । रुटमा गाडी कम हुँदा सर्वासाधारणलाई सास्ती हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकाल सार्वजनिक प्रयोजनमा चल्ने गाडी विद्यालयले भाडामा प्रयोग गर्न नपाउने बताउँछन् ।

प्रतिक्रिया