Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

भर्ना अभियानमा असर पर्ने संकेत

बुधबार, २८ फागुन २०७६

काठमाडौं २८ फागुन / चीनबाट फैलिएको कोरोना भाईरसका कारण यस बर्ष भर्ना अभियानमा असर पर्ने संकेत देखिएको छ । भाईरसको त्रासका कारण बार्षिक परीक्षा सकिए लगत्तै बन्द गर्ने विद्यालयहरुको तयारी रहेकोले उत्तः अभियानमा असर पर्ने नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेको खबरमा उल्लेख छ । 

कोरोनाको त्रास परीक्षालगत्तै बिदो शिर्षकमा प्रकाशित उक्त खबर अनुसार शैक्षिक सत्र २०७७ को सरकारी भर्ना अभियान पूर्णरूपमा असर पर्ने देखिएको छ।

सरकारले हरेक बर्ष नयाँ शैक्षिक सत्रको सुरुवात सँगै विद्यालय जाने उमेरका बालबालिकालाई भित्र्याउन भर्ना अभियान सञ्चालन गर्दै आएको छ । नयाँ शैक्षिक सत्र आउन १ महिना बाँकी भए पनि उक्त खबरमा अभियानलाई असर पर्ने संकेत गरिएको छ । 

सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सरकारले चैत ५ गतेसम्ममा परीक्षा सम्पन्न गरेर केही दिन विद्यालय बन्द गर्न निर्देशन दिइसकेको छ। चैत ६ गतेदेखि सञ्चालन हुने एसईईबाहेकका विद्यालय तहका सबै परीक्षा ५ गतेसम्म सक्ने गरी तयारी भइरहेको छ। सरकारी र निजी विद्यालयले आजबाट परीक्षा लिन शुरू गरिसकेका छन्। करिब एक महिना बिदा दिने तयारीमा रहेका सबै निजी विद्यालयले भर्नालगायतका सबै कार्यक्रम एक महिना पछि सार्ने तयारी गरिरहेका छन्।

विद्यालयले सबै विद्यार्थी र अभिभावकलाई पत्र पठाएर सचेत रहन आग्रह गरिसकेका छन्। कोरोनाको त्रासका कारण मुलुकको शिक्षा क्षेत्र अस्तव्यस्त हुने सम्भावना बढेको छ। त्रिविअन्तर्गतका क्याम्पसमा चैत दोस्रो साताबाट परीक्षा हुँदैन।

त्यो परीक्षा लिने वा स्थगित गर्ने भन्ने विषयमा त्रिविले कुनै निर्णय गर्न सकेको छैन। भनौं नेपालको उच्च शिक्षासमेत अन्योल देखिएको छ। विद्यालयमा अभिभावक भेला, वार्षिक कार्यक्रम, पिकनिकलगायतका कुनै पनि भीडभाडजन्य कार्यक्रम नगर्न शिक्षा मन्त्रालयले सबै सरोकारवालालाई उर्दी जारी गरिरहेको छ।

शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरुका विचार सहित प्रकाशित खबरमा शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले विद्यालय बन्द गर्नु समाधान नभएको बताएका उल्लेख छ ।

'चैत ५ गतेपछि बिदा दिने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै निर्णय गरेको छैन। हचुवाको भरमा परीक्षा सकेलगत्तै विद्यालय बन्द गर्ने भन्ने हल्ला चल्दै गएको छ। महासंघको धारणा यो छ कि विद्यालय बन्द होइन खोलेर जनचेतनामूलक कार्यक्रम चलाउनुपर्छ' उनले भनेका छन् । 

अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले भने अहिले नै केही समयका लागि देशभरका शिक्षण संस्था बन्द गर्नुपर्ने बताएका छन् । 'स्वाथ्यभन्दा परीक्षा ठूलो विषय होइन। केही दिन बिदा गरेर पुनः परीक्षा सञ्चालन गर्न विद्यालयलाई केही घाटा हुँदैन। विश्वविद्यालयको परीक्षा पनि त्यस्तै हो' उनले भनेका छन् । 

'अहिलेको अवस्थामा सरकारी वा निजी सबै विद्यालय र विश्वविद्यालयले जनचेतना अभिवृद्धि कार्यक्रम गर्नुको विकल्प छैन। नेपालमा कोरोना भित्रिएपछि हुने भयावह अवस्था कल्पना पनि गर्न सकिँदैन।
त्यस्तो अवस्था आउन नदिने सरकारले विभिन्न कार्यक्रम गरिरहेको छ। सबै शिक्षालयलाई चेतनामूलक कार्यक्रम गर्न आग्रह गरेका छौं' – शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा 

प्याब्सनका अध्यक्ष टीका पुरीले विशेष गरी परीक्षा सकेलगत्तै करिब एक महिना बिदा दिने तयारी गरेको उल्लेख गरेका छन् । 

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सबै विद्यार्थी र अभिभावकलाई पर्चा वितरण गरेर सचेतनाको कार्यक्रम सञ्चालन गरेको बताउँदै सरकारले ठोस योजना ल्याएर सचेतनाको कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् । 

प्रतिक्रिया