Edukhabar
विहीबार, ०६ बैशाख २०८१
अन्तैवाट

मर्ज गर्न होइन विद्यालय सार्न र सुधार गर्न मेहनत

विहीबार, २९ फागुन २०७६

काठमाडौं २९ फागुन / बर्खाको बाढी तहसनहस भएको विद्यालय स्थानान्तरणका लागि जग्गा किन्न नगरपालिकासँग बजेट नभएको मेयरले बताए पनि प्रधानाध्यापकले मर्ज गर्न होइन विद्यालय सार्न र सुधार गर्न मेहनत गर्दा चितवनको माडी स्थित एक विद्यालय सुधार भएको छ ।

कान्तिपुरमा हेडसरले जोगाए स्कुल शिर्षकमा रमेश पौडेलले लेखेको खबर अनुसार अनुगमनका लागि आउनेले सफा गर्न समय लाग्ने भएका कारण कम्तीमा एक महिना स्कुल बिदा गर्न सुझाव दिए । तर प्रधानाध्यापकले अभिभावक, शिक्षक सबैलाई भेला गरेर सफाइमा खट्न आग्रह गरे । ‘चार दिनमा विद्यालय पूरा सफा भयो । पाँचौं दिनबाट पढाइ नै सुरु गर्‍यौं,’ प्रअ वीरेन्द्रप्रसाद महतोले भने । वर्षामा निकै उर्लने रिउ खोला र विद्यालयको दुरी जम्मा दुई सय मिटर मात्रै छ ।

बलियो तटबन्ध गर्न नसकिने भएकाले बर्खाका ससाना तटबन्ध खोलाले भत्काउँथ्यो । स्कुल त्यहाँ राख्न जोखिम थियो । त्यही भएर सुरक्षित ठाउँमा सार्नेबारे प्रधानाध्यापक महतोले माडी नगरपालिकाका मेयर ठाकुर ढकालसँग कुरा गरे । अन्यत्र जग्गा किन्न नगरपालिकासँग बजेट नभएको र विद्यार्थी पनि धेरै नभएको हुँदा मेयर ढकालले स्कुल मर्ज गर्न सल्लाह दिए । तर महतो मानेनन् ।
स्कुल जोगाउने अनेक उपायमा लागे उनी । धोवाहा क्षेत्रमा नारायणगढका व्यपारीको जग्गा प्रशस्तै छ । उनले व्यापारी कृष्णबन्धु पियालाई अनुरोध गरे । पछि पियाले १२ कट्ठा सात धुर जग्गा स्कुललाई सित्तैमा द्दउपलब्ध गराए । त्यसपछि प्रधानाध्यापक महतो भवन बनाउन कस्सिए । सरकारले तीनकोठे छानोवाला भवन बनाउन बजेट दिने भयो । नगरपालिकाले पनि सहयोग गर्ने भएपछि ढलान नै गर्ने तयारीमा उनी लागे । ‘पियाले दिएको जग्गा रिउ खोलाबाट १ दशमलव ८ किलोमिटर पर छ । तर डुबान हुने ठाउँमा पक्की भवन नै उययुक्त हुन्थ्यो । त्यहीअनुसार बजेटको प्रबन्ध गरें,’ उनी भन्छन् ।

२०७४ चैतमा शिलान्यास भएको भवन २०७५ असारमा पूरा भयो । त्यसपछि ४१ लाख थप बजेट प्राप्त भयो । उनले तला थपेर ६ कोठे पक्की भवन बनाए । एक कक्षाभन्दा तलका विद्यार्थीलाई पढाउन दुईकोठे ट्रस छानो राखेर भवन बनाउन २६ लाख बजेट आयो । त्यो पनि तयार गरे । फ्रान्सका नागरिकले शेर्पालय ट्रस्टमार्फत एक करोड १० लाख रुपैयाँ सहयोग गर्ने भएपछि विद्यालयको अर्को ६ कोठे पक्की भवन हाल निर्माणाधीन अवस्थामा छ ।

बाढीपछि अरूको कुरा सुनेको भए स्कुल बन्द हुने सम्भावना थियो । तर उनले विद्यालय टिकाउने योजना बनाई निरन्तर खट्दा स्थानीय बालबालिका नजिकैको स्कुलमा पढ्न पाएका छन् । यहाँ निजी विद्यालयमा जसरी विद्यार्थी स्कुल पोसाक, टाई र परिचयपत्रसहित आउँछन् । तीनदेखि पाँच कक्षाका विद्यार्थीलाई कम्प्युटर तालिमको व्यवस्था गरिएको छ । पुरानो विद्यालय हुँदा सवा सय जतिले पढ्थे । अहिले विद्यार्थी संख्या २ सय ३ छ । ‘अंग्रेजी पढाइ हुन्छ । कम्प्युटर पनि सिक्न पाइन्छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम महतोले भने, ‘अतिरिक्त कुनै शुल्क लाग्दैन । त्यसैले विद्यार्थी बढेका छन् ।’ थारू, बोटे, मुसहर, मधेसी र मुस्लिम समुदायका बालबालिका यहाँ पढ्छन् । उनका अनुसार पहिला गाउँमा साढे तीन सय घर थिए । बाढीले सताएपछि सक्नेहरू सुरक्षित ठाउँमा गए । अहिले १ सय ५० घरधुरी यो गाउँमा छन् ।

गुणस्तरमा ध्यान दिन थालेपछि गत वर्ष कक्षा ५ को नतिजामा रतनीको विद्यालय माडीभरिमा छैटौं स्थानमा आयो । यो वर्ष अझै सुधार हुने अपेक्षा शिक्षकले गरेका छन् । ‘बेलाबेला अभिभावक भेला हुन्छ । पढ्न पठाउनुपर्छ भनेर जोड गरेका छौं,’ शिक्षिका तारा पौडेलले भनिन्, ‘कोही विद्यार्थी स्कुल आएन भने किन आएन भनेर हामी नै सोधखोज गर्छौं ।’

प्रधानाध्यापक महतो कक्षा ८ सम्म पढाइ सञ्चालन गर्ने र माडीको मात्र नभएर जिल्लाकै नमुना विद्यालय बनाउने ध्याउन्नमा छन् । माडीभरि ३२ वटा सरकारी विद्यालय छन् । ‘करिब विस्थापित हुने अवस्थामा रहेको विद्यालयलाई उहाँले जगाउनुभयो र चम्काउनुभयो,’ मेयर ठाकुर ढकाल ढुक्क छन्, ‘उहाँको यस्तो मेहनतबाट सबैले प्रेरणा लिनुपर्छ ।’

रतनी धोवाहास्थित राष्ट्रिय आधारभूत विद्यालय २०२३ सालमा स्थापना भएको हो । हाल यो विद्यालय माडी नगरपालिका–३ मा पर्छ । दक्षिणतिर रतनी र उत्तरमा रिउ खोलाले घेरेको धोवाहा रतनी गाउँका विद्यार्थी यहीँ पढ्छन् । पाँच कक्षासम्म पढाइ हुने विद्यालयका प्रधानाध्यापक हुन्, माडीकै सिधुवा गाउँका वीरेन्द्रप्रसाद महतो । उनी २०६१ साउनबाट शिक्षक नियुक्ति भएका हुन् । २०७४ असार १९ गते प्रधानाध्यापकमा बढुवा भए । ‘त्यसको एक महिनापछि साउन २८ मा बाढी आएर स्कुल तहसनहस भयो । चार फिटसम्म पाँगो जम्यो । बढेमानका सात वटा रुख जरासहित नै स्कुल कम्पाउण्डमा आएर थुप्रिए,’ बाढीले गरेको वितण्डाबारे उनले सुनाए ।

प्रतिक्रिया