Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

स्थायी शिक्षक मात्रै प्रधानाध्यापक, विद्यालय विकास प्रस्ताव आह्वान

सोमबार, ०३ चैत्र २०७६

चितवन - सामुदायिक विद्यालयमा स्थायी शिक्षक मात्रै प्रधानाध्यापक (प्रअ) रहने गरी प्रतिष्पर्धाका आधारमा छनौट गर्न भरतपुर महानगरपालिकाले विद्यालय विकास प्रस्ताव आह्वान गरेको छ । विभिन्न ६ वटा छनौटका आधार सहित प्रअ हुन चाहनेले सात दिन भित्र प्रस्ताव पेश गर्न महानगरपालिकाले आह्वान गरेको हो । 

महानगरले बनाएको शिक्षा नीतिमा स्थायी शिक्षक मात्र प्रधानाध्यापक रहने व्यवस्था कार्यान्वयनका लागि उक्त प्रकृया शुरु गरिएको नगर शिक्षा अधिकारी सीताराम कोइरालाले जनाएका छन् । उक्त प्रकृया पुरा भए पछि आगामी शैक्षिक सत्रबाट सबै विद्यालयमा योग्यता पुगेका स्थायी शिक्षक मात्रै प्रधानाध्यापक हुने छन् । यसरी प्रधानाध्यापक हुनका लागि शैक्षिक योग्यता, शिक्षण अनुभव, तालिम, विद्यालय विकास प्रस्ताव, नेतृत्व लिने क्षमता सहितका आधार तय गरिएको छ ।

विद्यालय विकास प्रस्तावलाई निर्धारण गरिएको ३८ नम्बरमा प्रस्तावलाई २५, प्रस्तुतीलाई १० र सूचना तथा सञ्चार प्रविधिको ज्ञान र प्रयोगलाई ३ अँक दिईने छ । न्यूनतम शैक्षिक योग्यतालाई १५ अँक र माथिल्लो शैक्षिक योग्यतालाई १० अँक निर्धारण गरिएको छ । यस्तै अनुभवलाई २५, शैक्षिक तालिमलाई १०, विद्यालय व्यवस्थापन तालिमलाई २ अँक दिईने जनाईएको छ । 

यसैगरी नेतृत्व लिने क्षमता अन्र्तगत नगर शिक्षा अधिकारीले ५ अँक दिन सक्ने छन् भने कार्यरत विद्यालयको व्यवस्थापन समितिले ५ अँक सम्म दिन सक्ने छ । उक्त नम्बर गोप्य रुपमा दिने उल्लेख छ । यदी समिति नभएको विद्यालयको हकमा उक्त अँक पनि शिक्षा अधिकृतले नै दिने छन् ।

यसरी प्राप्त भएका प्रस्ताव पश्चात समान नम्बर आयो भने महिलालाई प्राथमिकता दिइने र मावि तहको स्थायी शिक्षक प्रअ नभएका विद्यालयमा काज सरुवा गरी खटाईने योजना छ । शिक्षकले प्राप्त गरेको प्राप्ताङ्कको आधारमा प्राथमिकता निर्धारण गरी जिम्मेवारी दिईने र २५ जना शिक्षकको रोष्टर बनाएर खटाईने योजना बनाएको महानगरले जनाएको छ । प्रस्ताव सहित माथिल्लो शैक्षिक योग्यता, न्यूनतम शैक्षिक योग्यता र स्थायी नियुक्ति पत्र पेश गर्नु पर्ने छ ।  

शिक्षकका संघ संगठनहरुको छलफल र सुझाव पछि यो तयारी थालिएको महानगरले जनाएको छ ।  

प्रतिक्रिया