Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

परीक्षार्थीलाई नछुन निर्देशन

मंगलबार, ०४ चैत्र २०७६

काठमाडौं ४ चैत / एसइई परीक्षाका केन्द्राध्यक्षलाई परीक्षा केन्द्रमा आउने परीक्षार्थीलाई कसैले पनि नछुन निर्देशन दिइएको छ।सोमबार दिइएको अभिमुखीकरण तालिममा कोरोना संक्रमणको जोखिमबाट बच्न उक्त निर्देशन दिईएको नागरिकमा खबर छ । 

परीक्षा केन्द्रमा परीक्षार्थीलाई नछुन निर्देशन शिर्षकमा नागरिकमा रुबी रौनियारले लेखेको खबर अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा केन्द्राध्यक्षलाई सोमबार दिइएको अभिमुखीकरण तालिममा परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुन लगाएर वा सेनिटाइजर प्रयोग गर्न लगाउन पनि  निर्देशन दिइएको छ। 

यस वर्षको एसइई परीक्षामा कोरोना भाइरसको सम्भावित संक्रमणप्रति उच्च सतर्कता अपनाइने भएको छ। चैत ६ गते सुरु भई १७ गते सकिने परीक्षामा यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदैछन्। उनीहरुका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासलाई ध्यानमा राख्दै सरकारले परीक्षा केन्द्र व्यवस्थापन गरेको जानकारी दिए। परीक्षार्थीलाई त्रासरहित वातावरणमा परीक्षा सञ्चालन गर्न सरकारले सबै तयारी पूरा गरेको उनले दाबी गरे। ‘नेपालमा हालसम्म कोरोनाका बिरामी फेला नपरेकाले सरकारले पूर्वनिर्धारित समय र तालिकामै परीक्षा सञ्चालन गर्नेछ’, शर्माले भने, ‘बालबालिकाको स्वास्थ्य सुरक्षाबारे सरकारले यस वर्ष निकै सतर्कता अपनाएको छ। स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारसँग समन्वय गरी हरेक परीक्षा केन्द्रमा हेल्थ डेस्क र एम्बुलेन्सको व्यवस्था गरिएको छ। विद्यार्थीले ढुुक्क भएर परीक्षाको तयारी गर्दा हुन्छ।’

परीक्षा केन्द्रमा कुनै परीक्षार्थीलाई ज्वरो आएमा वा रुघाखोकी लागेको फेला परेमा स्वास्थ्य परीक्षण गरी छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए।

उनले प्रश्नपत्रको गोपनीयता र सुरक्षा कायम गर्न टिनको बाकसमा चाबी लगाएर प्रहरी चौकीमा सुरक्षाघेरामा राखिएको जानकारी दिए। उनले थपे, ‘परीक्षालाई मर्यादित बनाउन स्थानीय सरकार र केन्द्र सरकारका प्रतिनिधिसहितको अनुगमन टोलिले अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।’

परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षा केन्द्रमा असम्बन्धित व्यक्तिलाई भिडभाड गर्न बन्देज लगाएको बताए। उनका अनुसार एउटा परीक्षा केन्द्रमा बढीमा तीन सय र एउटा कक्षाकोठामा २०–३० परीक्षार्थी राख्ने व्यवस्था गरिएको छ। कसैले परीक्षाको मर्यादा भंग गर्ने वा बिथोल्ने काम गरे कानुनअनुसार ६ महिना कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने उनले बताए।

प्रतिक्रिया