Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
सम्पादकीय

अहिलेलाई शैली बदलौँ : एक दिन उसैगरी जुट्नु छ, डट्नु छ

मंगलबार, ११ चैत्र २०७६

हाम्रा अघिल्तिर विशेष परिस्थिति सृजना भएको छ । चीनको वुहानबाट शुरु भएर विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमण र जोखिम रोक्नका लागि सरकारले एक साता लकडाउनको घोषणा गरे सँगै हामी वाध्यात्मक रुपमा नयाँ जीवन शैलीमा प्रवेश गरेका छौं । मंगलबारबाट अती आवश्यकीय कार्यमा संलग्नहरु र जरुरी काम भएका बाहेक सबै नागरिकलाई घरबाट बाहिर ननिस्कन भन्दै सरकारले लक डाउनको घोषणा गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो । यसले हाम्रो दैनिक जीवन र कार्यमा एक प्रकारको अड्चन आएको छ, हाम्रो दैनिकी बदलिएको छ । हाम्रा अघिल्तिर कोभिडको संक्रमण रोक्ने चुनौती मात्रै हैन आज धैर्यता नगुमाई दह्रो गरी ट्ेक्ने र भोली सही लक्ष्य तर्फ पाईला चाल्ने हिम्मत कायम राख्नु पर्ने अवस्था समेत छ ।  हामीले आज संयमता गुमायौं भने नसोचेको मूल्य तिर्न वाध्य हुने छौं । अहिले सम्म हामी कोभिड संक्रमणको सन्दर्भमा तुलनात्मक रुपमा सुरक्षित रहन सफल भएका छौं । संसारका थुर्पै देशले यस्तो मोका पाएका थिएनन् र संक्रमणको विस्तार झेल्न सकेनन् । हामी आज केहीदिन थोरै मात्रै शैली बदलेर यो चुनौती पार गर्न सक्छौं भने किन तयार नहुने ? 

किन भने यो अवस्था संधै रहने छैन । मानव सभ्यताको ईतिहास हेर्ने हो भने हाम्रा पुर्खाले ठूला संकट चिरेर आउँदा दिनको मार्ग कोरेका थिए । जुन मार्गमा हाम्रो यात्रा जारी छ । त्यसैले हाम्रो धैयर्तालाई हामीले हाम्रा पुस्तौँ अघि देखिका पुर्खाले जस्तै गरी बलियो टेक्ने पहाड बनाउनु पर्ने छ । 

हामी पत्रकारिताका माध्यमबाट खास एउटा विषय अर्थात् शिक्षाका सवालमा कार्य गर्दै आएका छौँ । कक्षा कोठाको सिकाइ, भएका सुधार, समग्र शिक्षा क्षेत्रको विकास र विस्तारका क्षेत्रमा आवश्यक नीतिगत व्यवस्थाको पैरवी र बहस अनी शिक्षाका विषयको खबर संप्रेषण हाम्रो पत्रकारिता कर्मको मुख्य ध्येय भएको आदरणीय पाठक वर्गमा वितितै छ । अहिलेको विषम परिस्थितीले हाम्रा निदिृष्ट कार्यमा केन्द्रित हुन केही वाधा अवश्य पारेको छ । यसलाई आत्मसात गर्दै आउँदा दिनको सुनौलो विहानीको प्रतिक्षा गर्नुको विकल्प हामी सँग छैन । 

हाम्रा पुस्तौँ अघिका पुर्खाले यस्ता संकट बेहोर्नु पर्दा उनीहरुसँग विज्ञानको यो विघ्न चमत्कार थिएन र पनि उनीहरुले सिक्ने र सिकाउने शैलीलाई कायम राखेर हामीलाई आजको विश्व दिएर गएका छन् । आज हामीसँग हरेक क्षेत्रमा विज्ञानको चकत्कारका विभिन्न स्वरुप विद्यमान छन् । सुन्दर संसार कायम राखेर उपहार दिएका हाम्रा पुर्खाको त्यो नासो हामीले जगेर्ना गर्दै आउँदो पुस्तालाई उसै गरी हस्तान्तरण गर्ने छौं । अर्थात् हामीले विश्वास कायम राख्नु छ — अहिलेको यो अन्यौल माथि विज्ञानको विजय सुनिश्चित छ । 

त्यसैले आज हामीसँग उपलब्ध विज्ञानले दिएको सहजतालाई अपनाएर हाम्रो सिक्ने र सिकाउने शैलीमा थोरै परिवर्तन गर्न सक्छौं । घर भित्र रहेका विद्यार्थीले विज्ञानको देन ईण्टरनेट वा अघिल्लो पुस्ताले संग्रह गरेर राखेका उपलब्ध पुस्तकबाट ज्ञानको दायरा फराकिलो बनाउन सक्ने छन्, सिकाइको स्वरुप बदलेर नयाँ ढाँचाबाट ज्ञान आर्जन गर्ने उपाय पनि अवलम्बन गर्न सक्ने छन् । अभिभावकसँग बस्ने अवसर पाएकाहरुले उनीहरुको जीवनशैली, संघर्ष र भोगाइ अनी त्यसबाट प्राप्त उपलव्धिका बारेमा जानकारी लिन सक्ने छन् । आफ्ना आउँदा पुस्तालाई अघिल्लो पुस्ताको भोगाइ सुनाएर कक्षा कोठामा उपलब्ध हुन नसक्ने धेरै व्यवहारिक ज्ञान अभिभावकले नै दिन सक्ने छन् ।  शिक्षाका नीति नियम निर्माणका क्षेत्रमा राय सुझाव दिने विद्वानहरुले विश्वले अपनाएका समयानूकुल शैक्षिक नीतिहरुको विश्लेषण गरेर हाम्रो परिस्थिति अनुकुलन  हुने सुझाव संकलन गर्न सक्ने छन् । अनी यो संकटबाट उठेको भोलिपल्टै शैक्षिक प्रशासनमा सुधार गर्नका लागि संलग्न अधिकारीहरुले नयाँ कार्य शैली निर्माणमा ध्यान दिन सक्ने छन् । 

जारी अवस्था हाम्रो शिक्षालाई नयाँ उचाईमा पुर्याउने मौकाका रुपमा बदल्ने अठोट कायम राखौं, संकट न्यून भएका दिन हामी उसै गरी जुट्ने नै छौं, डट्ने नै छौं । 

प्रतिक्रिया