वैकल्पिक शिक्षा योजना निर्माण गर्दा कमजोर र विपन्नलाई ध्यान दिन जरुरी


काठमाडौं - सबै विद्यार्थीको  पहुँचका लागि खोजि भइरहेका र विभिन्न नवप्रवर्तनात्मक उपायमा केन्द्रित रहेका सामग्रीले गत साताको छापामा प्रशस्त स्थान पाएका छन् । सिकाइका लागि दीर्घकालिन विधिको खोजी गर्दा प्रयोगमा आइरहेका विभन्न एप्लिकेसनहरू र दुर शिक्षाको व्यापक संभाव्यतालाई ध्यान दिनु पर्नेमा पनि प्रशस्त छलफल भएका छन् । सम्पादकीय र पाठक पत्र स्तम्भमा पनि प्रविधिको उच्चतम प्रयोगको सान्दर्भिकता र अति विपन्न र सुविधा विहीन समुहका विद्यार्थीको पहुँचमा ध्यान दिन सरकारका सम्बन्धित निकायहरूलाई अनुरोध गरिएको छ । सरकारले प्रतिरक्षा विश्वविद्यालय स्थापनाका लागि विश्वविद्यालय गठन आदेश जारी गरेको विषयमा पनि समाचार आएका छन् ।

सरकारले नियुक्ति गरेको व्यक्ति अध्यक्ष रहने गरी १३ सदस्यीय राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति गठन आदेश जारी भएको छ । यसका सदस्यहरूमा राष्ट्रिय सुरक्षा परिषद्, नेपाली सेना, रक्षा मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, कानून मन्त्रालय, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र सुरक्षाविद्हरूको प्रतिनिधित्व हुने व्यवस्था रहेको छ । समितिको काम, कर्तव्य र अधिकारमा विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने कानूनी, संस्थागत, भौतिक तथा मानव संसाधन सम्बन्धी विस्तृत परियोजना तयार गर्ने, भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्ती सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने,  विश्वविद्यालय अन्तरगत रहने कलेजहरू, अनुसन्धान केन्द्र तथा प्राज्ञिक विभागहरुको  संगठनात्मक संरचना र संचालन ढाँचा निर्धारण गर्ने, नेपाल सरकार समक्ष समितिको प्रगति विवरण पेश गर्ने,  अन्तराष्ट्रिय मानक र राष्ट्रिय आवश्यकता बमोजिम हुने गरि विश्वविद्यालयको पाठ्यक्रम तयार गर्ने, विश्वविद्यालय स्थापनाका लागि विधेयक तयार गर्ने लगायतका रहेका छन् ।

प्रतिरक्षा विश्वविद्यालयका सम्बन्धमा संचारजगत, नागरिक समाज र अन्य राजनीतिक दलहरुले कुनै प्रतिक्रिया दिएका छैनन् । राष्ट्रिय सुरक्षा जस्तो संवेदनशिल क्षेत्रमा चाल्न लागिएको शैक्षिक प्रयासलाई सामान्य रुपमा लिन नहुने हुँदा सरकारका सम्बन्धित सबै निकाय र सरोकारवालाहरूको सहभागिता आवश्यक देखिन्छ ।

नोभल कोरोना भाइरसको  महामारी नफैलियोस भनेर सरकारले जारी गरेको बन्दाबन्दीको २७ औं दिनमा टेलिभिजनमा प्रत्यक्ष प्रसारण भैरहेको गणित विषयको माध्ययमिक शिक्षा परीक्षा तयार गर्दै गरेको विद्यार्थीको फोटो सहितको समाचार हिमालय टाइम्सको मुख्यपृष्ठमा प्रकाशन भएको छ । विद्यार्थीको सिकाइमा पहुँच र्पुयाउनका लागि  तिब्ररुपमा प्रविधिको खोजी र प्रयोग भैरहेका विषय गत साताभरी नै सञ्चार माध्यममा आएका छन् ।

उच्च शिक्षा प्रदायक संस्थाहरूले अनलाइनका माध्ययमबाट पढाउन थालेको समाचार आएको छ । सुदुरपश्चिम विश्वविद्यालयले शिक्षा मन्त्रालय, उपकुलपति, डीन र सम्बन्धित विभागका प्रतिनिधिहरूसँग समन्वय गरेर इञ्जिनियरिङ्ग विषयमा अनलाइन कक्षाहरू सञ्चालन गरेको छ । सम्बन्धित कक्षा शिक्षक र विभागसँग समन्वय गरेर अनलाइन कक्षाका बारेमा सुचनाहरु पुर्याउने काममा विद्यार्थीलाई नै परिचालन गरिएको छ । त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयले संस्थागत रुपमै अनलाइन कक्षाहरू सञ्चालन गरिरहेको अवस्था छ भने  कृषि तथा वन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय पनि अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेका छन्  । त्रिभुवन विश्वविद्यालयले बर्षौदेखि अनलाइन कक्षाहरू सञ्चालन गर्दै आइरहेको भएता पनि सबै कक्षाहरूलाइ दुरशिक्षाका माध्यमबाट उपलब्ध गराउन नसकेको विषय आलेखमा उल्लेख गरिएको छ ।

सिकाइका वैकल्पिक व्यवस्था शीर्षकमा गत साता कान्तिपुर दैनिकको सम्पादकीय छापिएको छ । प्रविधि र नवप्रवर्तनात्मक विधिहरू अपनाउन विलम्ब गर्नाले शैक्षिक सत्र प्रभावित हुनुका साथै बालमनोविज्ञान र उनीहरूको सिर्जनशिलता समेतमा असर पर्नेतर्फ ध्यान दिनुपर्नेमा सम्पादकीयले जोड दिएको छ । सिकाइका लागि ईण्टरनेटको राम्रो पहुँच भएका र उच्च शिक्षाका विद्यार्थीले सिकाइको लागि आँफैले व्यवस्थापन गर्न सक्ने हुँदा सरकारले विशेषत कमजोर आर्थिक पृष्ठभूमीका विद्यार्थीलाई ख्याल गरेर विद्यालय तहको शिक्षाको व्यवस्थापन गर्नुपर्ने पनि सम्पादकीयमा जोड दिइएको छ । केहि पालिकाहरूले यस अघि नै विद्यालयहरुलाई अनलाइन माध्यमबाट पढाइलाई निरन्तरता दिन निर्देशन दिइसकेको र बाँकीले पनि अनुकुल बनाएर सुरुवात गर्नुपर्ने अवस्था छ । प्रविधिमा विद्यार्थीको पहुँच सम्बन्धमा विद्यालयमा आधारित सर्वेक्षण गर्ने र प्राप्त नतिजाका आधारमा पालिकाहरुले रणनीति निर्माण गर्न पनि सुझाब दिइएको छ । पालिका वा सामुदायमा आधारित टेलिभिजन तथा रेडियो कार्यक्रम मार्फत एउटै समयमा धेरै विद्यालयका विद्यार्थीलाई  सेवा उपलब्ध गराउन सकिने पनि उल्लेख छ । नियमित कक्षालाई प्रतिस्थापन गर्नका लागि नभएर विद्यार्थीको सिकाईलाई निरन्तरताका दिनका लागि मात्र योजना बनाउन सम्पादकीयमा उल्लेख गरिएको छ ।

अनलाइनमा कसरी पढ्ने शीर्षकमा प्रकाशित विचारमूलक आलेखमा हाल प्रयोग भइरहेका विभिन्न एप्लिकेशन तथा अनलाइन शिक्षण र सिकाइका वारेमा चर्चा गरिएको छ । अनलाइन शिक्षणको प्रभावकारी एक माध्यम मुडलको समिक्षा गर्दै यसमा भएका विभिन्न सुविधा तथा असाइनमेन्ट र परीक्षाको सम्बन्धमा चर्चा गरिएको छ । यसमा विद्यार्थी, विद्यार्थी, शिक्षक र विद्यार्थीबीचमा गर्न सकिने अनलाइन छलफल र च्याटको प्रयोग गर्न सकिन्छ । त्रिवि, नेपाल खुला विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयले यसको प्रयोग गरिरहेका छन् । अनलाइन कक्षाका साथै प्रत्यक्ष कक्षा सञ्चालनका वखतमा पनि यसलाई विभिन्न तरिकाले प्रयोगमा ल्याउन सकिन्छ । अनलाइन कक्षामा विद्यार्थी र शिक्षकको स्वतस्स्फूर्त हुने सहभागिता महत्वपूर्ण हुन्छ । आलेखमा यसका साथै अन्य प्रचलित एप्लिकेशन जुम, गुगल मिट र विग ब्लु बटनको पनि चर्चा गरिएको छ । आलेखमा खासगरी प्रविधि र एप्लिकेसनसँग सम्बन्धित जानकारी दिइएको छ भने यसभन्दा पहिलेदेखि नै प्रयोग भइरहेका माध्यमको चर्चा गरिएको छैन ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल खुला विश्वविद्यालयका उपकुलपतिको संयोजकत्वमा वैकल्पिक माध्ययमबाट शिक्षण सिकाइ गतिविधि सञ्चालनका लागि आवश्यक विधि निर्माण गर्न समिति गठन गरिएको जनाएको छ ।

सिमित समय र प्रविधिको अधिकतम अभ्यासले नेपाल खुला विश्वविद्यालयले आँफूलाई  शिक्षाको वैकल्पिक माध्यम खुला तथा दुर शिक्षामा सिमित सिमित राखेको देखिन्छ । उच्च प्रविधिको प्रयोगका लागि समय र साधनको सिमितता भएको विद्यार्थी, शिक्षक, विद्यालय र स्थानीय सरकारबाट तयारीका लागि समय अभावको प्रतिक्रिया आइरहेको छ ।

पाठकपत्र स्तम्भमा एक जना शिक्षाविद्ले अति विपन्न समुहका विद्यार्थी र विशेष आवश्यकता भएका बालबालिकाहरूलाई प्रविधिको  प्रयोगले कसरी सिकाउने भन्ने सम्बन्धमा  प्रश्न उठान गरेका छन् । अर्को एक पत्रमा भने निजी विद्यालयहरूको विविधता युक्त आर्थिक अवस्था भएकाले सरकारको ध्यान पुग्नु पर्ने र आवश्यक सहजीकरण पनि हुनुपर्नेमा जोड दिइएको छ ।

साताभरी समेटिएका सामाग्रीहरूमा संसारभर देखिएको यस प्रकारको जटिल अवस्थामा समाज सञ्चालनका लागि अत्यावश्यक स्वास्थ्य तथा शिक्षा लगायतका सेवाहरूलाई निजी क्षेत्रले प्रभावकारी रुपमा प्रवाह गर्न नसकेको देखियो । अहिलेको अवस्थामा सञ्चार माध्यमले खोज गर्नुपर्ने महत्वपूर्ण विषय भनेको कोरोनाको महामारी पछि स्वास्थ्य र शिक्षाप्रतिको सबैको सोचाइमा परिवर्तन ल्याइ कमजोर सार्वजनिक विद्यालयलाई पनि राम्रा भनिएका निजी विद्यालयको भन्दा राम्रो अवस्थामा विकास गर्नुपर्छ भन्ने गरी रुपान्तरण हुने अवस्था सिर्जना गर्ने हो ।

‘शिक्षामा यो साता’ छापा माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । छापा माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरले कान्तिपुर (नेपाली) र द हिमालयन टाइम्स (अंग्रेजी) दैनिक मा २०७७ बैशाख ३ देखि ९  गते सम्म प्रकाशित शिक्षा सम्वन्धि विषयवस्तुलाई आधार बनाई यो विश्लेषण गरिएको हो – सम्पादक ।

अघिल्लो साताको विश्लेषण पढ्नुहोस् : शैक्षिक पद्धति रुपान्तरणको अवसर

यो विश्लेषणलाई अंग्रेजीमा पढ्नुहोस् : Focus the most vulnerable when planning for innovative approach to Education

अहिले सम्म प्रकाशित सबै विश्लेषणलाई एकै ठाउँबाट पढ्नका लागि यो लिंक क्लिक गर्नुहोस् : शिक्षामा यो साता