शैक्षिक पद्धति रुपान्तरणको अवसर


काठमाडौं - छापा माध्यममा गत साता पनि शिक्षाका समाचार थोरै मात्र प्रकाशित भए । तर पनि हालको संकटकालिन अवस्थामा शिक्षा प्रणालीलाई  कसरी रचनात्मक बनाउने भन्ने विषयमा कान्तिपुर दैनिकको अग्र पृष्ठमा नै सामग्री प्रकाशित भएको थियो । बन्दाबन्दीका कारण बालबालिकाकाको मानसिक अवस्थामा पर्न सक्ने असरबारे अभिभावकको बढ्दो चिन्ताको बिषयले पनि समाचारको स्थान पाएको छ । त्रिभुवन विश्विवद्यालयले बैशाखको सुरु देखि देखि लिने भनेर तय गरेका सबै परीक्षाहरु असारको पहिलो हप्ता सम्मका लागि स्थगित गरेको समाचार पनि आएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्य देशका विद्यार्थीलाई बसाइ व्यवस्थापन गर्न कठिनाइ परेको अवस्था हो भने उनीहरु फिर्ता जान सक्छन् भनेर अभिव्यक्ति दिएको साता नबित्दै त्यहाँका शिक्षा मन्त्रीले अन्तराष्ट्रिय विद्यार्थीका लागि पनि आवश्यक सहयोगको सुनिश्चितता गरेका छन् ।

एसईई परीक्षाको बारेमा जतिसक्दो चाँडो निर्णय लिनु पर्ने भन्दै सरकारलाई अनुरोध गरेको पत्र सम्पादकलाई चिठ्ठी स्तम्भमा प्रकाशन भएको छ । कक्षा ९ १२ सम्म माध्यमिक शिक्षा भएको सन्दर्भका कक्षा दशको अन्त्यमा लिईने एसईई परीक्षाले तात्विक अर्थ नराख्ने तर्क राख्दै वर्तमान अवस्थामा यस परीक्षालाई नै रद्द गर्नु पर्नेमा सम्बन्धित विज्ञहरूको जोड रहेको छ । ईङ्ग्ल्याण्डले ए लेभलको  परीक्षा सम्बन्धमा लिएको निर्णयको उदाहरण समेत प्रस्तुत गर्दै  आन्तरिक परीक्षाका उपलब्धीका आधारमा विद्यार्थीको मूल्यांकन गर्नका लागि अध्यादेश मार्फत आवश्यक कानुनमा संसोधन गर्न सरकारलाई विज्ञहरूले  सुझाव दिएका छन्  ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निजी विद्यालयहरुलाई अघिल्लो महिनाको होस्टेलको बाहेक अन्य सबै शुल्क नलिन निर्देशन दिएको छ । निजी विद्यालयका संस्थाहरु प्याव्सन, एन प्याव्सन र हिसानसँगको समन्वयनमा यस्तो निर्णय लिइएको हो ।

कान्तिपुरको मुख्य पृष्ठमा प्रकाशित विचारमूलक आलेखमा घरबाटै पठनपाठन सञ्चालन गर्न सकिने सम्बन्धमा उल्लेख गरिएको छ । आलेखमा विद्यार्थीका विभिन्न सात प्रकारका आर्थिक सामाजिक परिवेश र सोहि अनुसारका सातैवटा विभिन्न पद्धति अबलम्बन गर्न सिफारिस गर्दै त्यसको बारेमा चर्चा गरिएको छ ।

आलेखमा उनले पहिलो समूहमा एकदमै न्यूनस्तरको आर्थिक अवस्था भएका र सञ्चारका कुनै पनि प्रविधिको पहुँच नभएका समूह रहेका छन् । यस्ता समूहका विद्यार्थीलाई शिक्षक तथा स्यवंसेवकहरुले भौतिक रुपमै कुनै तोकिएको सुरक्षित ठाउँमा भेला गराइ भौतिक दुरी कायम राख्दै निरन्तर रुपमा सिकाइमा सहयोग गर्नुपर्छ । दोस्रो समूहका विद्यार्थीसँग रेडियोको पहुँच हुन्छ र उनीहरुलाई रेडियोको माध्यमबाट सिकाउ सकिन्छ । उनीहरुले आफ्ना जिज्ञासा पछी राख्न सक्छन वा अन्य माध्यमबाट पनि सोहि समयमा राख्न सक्छन् । शिक्षाविद् लेखकले यसो गर्नका लागि शिक्षक तथा प्रअहरु र रेडियो सञ्चालकहरुको समन्वयबाट मात्र यो संभव हुने उल्लेख गरेका छन् ।

तेस्रो समूहमा पर्ने विद्यार्थीसँग टेलिभिजनको पहुँच हुनेछ र उनीहरुलाई टेलिभिजनबाट पाठ्यक्रमसँग सम्बन्धित सामग्री उपलब्ध गराइनेछ । यस्ता सामग्री कुल्याब, मिदास तथा पाठ्यक्रम विकास केन्द्र र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैसससँग समन्वय गरेर उपलब्ध गराउन सक्छन् । शिक्षक युनियनले नेतृत्व गरी यसका लागि विभिन्न तहका सरकारबाट वित्तीय व्यवस्थापन गर्न सकिन्छ । यसका लागि समुदायमा कुनै खास स्थान तोकी स साना समूहमा बसी टेलिभिजनबाट सिक्न सिकाउन सकिन्छ ।

चौथौ समूहका विद्यार्थीसँग स्मार्ट फोनको पहुँच हुनेछ । उनीहरुलाई सिकाइमा सहजीकरण गर्न कठिन हुनेछैन । सामग्री उपलब्ध गराउने र त्यसका लागि उपयुक्त निर्देशन दिए मात्र उनीहरु सिकाइमा सहभागी हुन सक्छन् ।

चित्र : कान्तिपुर दैनिकमा प्रकाशित विभिन्न समूहका विद्यार्थी र उनीहरुलाई आवश्यक पर्ने सिकाइ पद्धति ।

आलेखमा केही शिक्षक तथा प्राध्यापकहरुले सामाजिक सञ्जालबाट गरिरहेका शिक्षणको उदाहरण दिइएको छ । आलेखमा भौतिक रुपमा उपस्थित भएर भन्दा यस्तो सिकाइमा आनन्द आएको विद्यार्थीले प्रतिक्रिया दिएको उल्लेख गरिएको छ । यस्ता प्रयासहरुलाई सरकार तथा शिक्षकहरुले संस्थागत गर्नु आवश्यक हुन्छ ।

पाचौँ समूहका विद्यार्थीसँग कम्प्युटरको पहुँच छ तर ईण्टरनेटको सुविधा छैन । उनीहरुका लागि अफलाइन अध्ययन सामग्री आवश्यक पर्नेछ र यस्ता सामग्री पेन ड्राइभ, हार्ड ड्राइभ, सिडी, डिभिडीबाट पनि उपलब्ध गराउन सकिन्छ । छैटौ समूहका विद्यार्थीसँग इन्टरनेटको पहुँच छ । यस्ता विद्यार्थीलाई सहभागी हुनका लागि केही पूर्वसर्त तयार गरी विभिन्न अनलाइन कन्फरेन्स र कल एप्लिकेशनको प्रयोग गरेर निरन्तर रुपमा शिक्षण गर्न सकिन्छ ।

आलेखमा यस प्रकारको रुपान्तरणकारी विधि अवलम्बनमा देखापर्ने चुनौतीको पनि चर्चा गरिएको छ । त्यस्ता चुनौतीहरुमा केही शिक्षकको प्रवृतिसँग सम्बन्धित छन्, केही शिक्षकका पेशागत संघ संगठनका व्यवसायिकतासँग सम्बन्धित रहेका छन् । यसैगरि विभिन्न तहका सरकार र नेताहरु तथा विश्वविद्यालयहरु उनीहरुलाई परिचालन गर्न तयार पनि छैनन् । संघीय सरकारका कर्मचारीमा प्रदेश तथा स्थानीय तहलाई काम गर्न प्रोत्साहन गर्नुको साटो  निर्णय गर्ने अधिकार आफैसँग राख्ने प्रवृति पनि अर्को चुनौतीको रुपमा उल्लेख गरिएको छ ।

जसले चुनौती लिन चाहन्छ उसका लागि उपायहरु पनि प्रस्तुत गरिएको छ । अहिले प्रस्तुत गरिएका यी विभिन्न पद्धतिहरु भोलिका दिनमा विद्यार्थीहरु प्रविधिमैत्री बन्दै जादा अझ बढि उपयोगी हुने हुनाले संस्थागत गर्दै जानुपर्छ । प्रविधि प्रयोग गर्नका लागि शिक्षकले तालिम लिने वा जागिर छोडेर युवाहरुलाई त्यो स्थान उपलब्ध गराउन सुझाइएको छ । यसैगरी सबै स्थानीय तहमा प्रविधिसँग सम्बन्धित स्रोत केन्द्र स्थापना गर्नुपर्ने भनिएको छ । राष्ट्र गान गाउन गर्ने आव्हानको सट्टा स्थानीय तहमा यस्ता केन्द्र स्थापना गर्न नागरिक समाज, उद्धमीहरुलाई आग्रह गर्न सकिन्छ । शिक्षक र विद्यार्थीलाई यस्तो नयाँ प्रक्रियाको अभिमुखीकरण गर्नु आवश्यक हुन्छ । आलेखमा परीक्षा र मूल्याङ्कनमा समेत सुधार गर्नुपर्ने भनिएको छ । आलेखमा कोरोनाको महामारीले शैक्षिक पद्धति रुपान्तरणको अवसर आएको भनिएको छ ।

एक अर्को समाचार अनुसार विश्व वैङ्कको सहयोगमा विभिन्न ४६ देशहरुले अनलाइन शिक्षणका लागि आवश्यक पर्ने सामग्री विकास गरिरहेका छन्  । यसका लागि केही देशहरुले अलग्गै एप्लिकेशनहरु पनि विकास गरिरहेका छन् । चाइनाका शिक्षा मन्त्रीका अनुसार प्रविधि मन्त्रालयसँगको सहकार्यमा २० लाख विद्यार्थीहरुले प्रविधि मार्फत अध्ययन गरिरहेका छन् । मलेशियाले यसैका लागि नयाँ टेलिभिजन च्यानल शुरु गरेको छ ।

‘शिक्षामा यो साता’ छापा माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । छापा माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरले कान्तिपुर (नेपाली) र द हिमालयन टाइम्स (अंग्रेजी) दैनिक मा २०७६ चैत २६ देखि २०७७ बैशाख २ गते सम्म प्रकाशित शिक्षा सम्वन्धि विषयवस्तुलाई आधार बनाई यो विश्लेषण गरिएको हो – सम्पादक ।

अघिल्लो साताको विश्लेषण पढ्नुहोस् : 'कोभिड - १९' महामारीमा सिकाइको निरन्तरता

यो विश्लेषणलाई अंग्रेजीमा पढ्नुहोस् : Corona given opportunity to innovate Nepal’s Education System

अहिले सम्म प्रकाशित सबै विश्लेषणलाई एकै ठाउँबाट पढ्नका लागि यो लिंक क्लिक गर्नुहोस्  : शिक्षामा यो साता