Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
शिक्षामा यो साता

'कोभिड - १९' महामारीमा सिकाइको निरन्तरता

मंगलबार, ०२ बैशाख २०७७

काठमाडौं - साप्ताहिक रुपमा गरिने यो समीक्षा कोरोना (कोभिड - १९) महामारीको जोखिम न्यूनिकरण गर्न सरकारले बन्दाबन्दी गर्ने निर्णय गरेसँगै उत्पन्न असहज परिस्थितीका कारणले दुई साता पछि गरिएको छ । कोरोना महामारीको रोकथामका लागि गरिएको बन्दाबन्दीको कारण विगत दुई सातामा शिक्षासँग सम्बन्धित विषयवस्तुहरु पनि धेरै प्रकाशित भएनन् । विद्यालयका भवनहरु क्वारेण्टाइनका लागि तयार गरिएका केही समाचारहरु प्रकाशित भए । पत्रपत्रिकाहरुका आकार घटाइनुका साथै कान्तिपुर दैनिकले एक साताका लागि आफ्नो प्रकाशन नै बन्द गर्यो । कान्तिपुर दैनिकको प्रकाशन शुरु भए पनि गत साता जम्मा ३ ओटा शिक्षाका समाचारहरु प्रकाशित भएका थिए । कठिन परिस्थिति जमरी नै छ । त्यसैले अन्य प्रकाशनहरु उपलब्ध छैनन् । प्रकाशित समाचार मध्ये दुई ओटा समाचार बन्दाबन्दी पछि एसइइ र कक्षा ११ तथा १२ को परीक्षा सँगै सञ्चालन गर्ने संभावनाका विषयमा शिक्षा मन्त्रालयको धारणासँग सम्बन्धित थिए । यसैगरी अन्य समाचारहरू विभिन्न नवीनतम् प्रविधिको प्रयोग गरी शिक्षण सिकाइलाई निरन्तरता दिने विषयमा र भर्चुअल सिकाइका संभावनासँग सम्बन्धित थिए ।

बन्दाबन्दीको अवधि दोस्रो पटक थप हुनु भन्दा अगाडि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एसइइ परीक्षा तत्कालै हुने र त्यसका लागि विद्यार्थीलाई तयारी गरिरहनु तर धेरै चिन्ता नलिनु भनेको थियो । बन्दाबन्दीको अवधि थप भए पश्चात यो विषय सान्दर्भिक भएन ।

एक अर्को समाचार अनुसार राष्ट्रिय परीक्षा वोर्डले एसइइ र कक्षा १२ को परीक्षा सँगै सञ्चालन हुनसक्ने भन्ने रहेको छ । बोर्डका अधिकारीहरूका अनुसार दुवै तहका परीक्षा एकै दिन तर फरक फरक समयमा सञ्चालन गर्न सकिने भन्ने छ । यसका लागि दुवै परीक्षाका लागि एउटै केन्द्र बनाएर गर्न सकिन्छ भन्ने उनीहरुको भनाइ रहेको छ ।

भर्चुअल माध्यमबाट शिक्षण सिकाइ गर्ने सम्बन्धी दुईवटा समाचारहरु प्रकाशित भएका छन् । विद्यार्थीले सामाजिक सञ्जालको माध्यमबाट शिक्षक र साथीहरुसँग भर्चुअल कुराकानी गर्ने तथा नबुझेका कुरा शिक्षकलाई सोधेर सिकाइलाई निरन्तरता दिन सकिने विषय उल्लेख गरेका छन् । यस्ता भर्चुअल सिकाइका सम्बन्धमा धेरै विषयहरु परीक्षाको तयारीमा केन्द्रित रहेका छन् । शिक्षकहरुले विषयवस्तुका लागि विद्यालयका ब्लग र समूहमा छलफलका लागि जुम एप्लिकेशनको प्रयोग गरेको विषय उल्लेख गरिएको छ । समाचारमा उल्लेख भए अनुसार शिक्षक महासंघ पनि यस्ता छलफलमा सहभागी भएको र शिक्षकहरुलाई अप्ठ्यारो अवस्थामा नयाँ प्रविधिको प्रयोग गर्न प्रोत्साहित गरेको छ । शिक्षक महासंघका अनुसार सबै प्रदेशमा विषयगत रुपमा सहयोग कक्षा उपलब्ध गराइएको छ । खास खास विषयमा कुनै समस्या परेमा सहयोग लिन ३५ जना शिक्षकको बिवरण सार्वजनिक गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार परीक्षा तयारीका लागि उपयोगी हुने विभिन्न सामग्रीहरु वेभसाइटमा राखिएको, युटुवबाट हेर्न सकिने र टेलिभिजनबाट प्रसारण भइरहेको छ ।

शिक्षाविद्हरूले बन्दाबन्दीले शिक्षण सिकाइका सन्दर्भमा नयाँ पद्धतिको प्रयोग गर्न सकिने अवसर आएको उल्लेख गरेका छन् । बन्दाबन्दीको यो परिस्थितिले समाजलाई समेत उपलब्ध प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइमा नयाँ पद्धतिको प्रयोगमा जानुपर्ने महशुस गराएको छ । विज्ञहरुका अनुसार प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइमा नयाँ विधिलाई उपयोग गरी सबै तहको शिक्षामा प्रयोग गर्न सकिन्छ । सिर्जनात्मक र नवप्रवर्तनात्मक विधिबाट प्रश्न सोध्ने तरिकामा गरिने परिवर्तनले अनलाइनबाटै परीक्षा लिन सकिने भनिएको छ । भर्चुअल सिकाइका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले थप सिकाइ सामग्री विकास गरिरहेको जनाएको छ ।

प्रकाशित एक अर्को समाचार अनुसार यो बन्दाबन्दीको समयमा उपयोग गरिने नयाँ प्रविधि र विधिको प्रयोगले सिकाइका एप्लिकेशनहरु नै एउटा सानो विद्यालय बन्दै छन् र यसबाट विद्यार्थी नियमित शिक्षण सिकाइमा सहभागी भइरहेका छन् । एसइइको परीक्षा तयारीका लागि अलग्गै फेसबुक पेजहरु सिर्जना गरी नमूना प्रश्नहरु राख्ने र त्यसमा छलफल गर्ने अभ्यास गरिरहेका छन् । विद्यार्थी आँफैले खोजेर विभिन्न वेभसाइटहरु र अनलाइन कोर्ष गरिरहेका छन् । बन्दाबन्दीसँगै मिदास इ लनिङ् एपमा ८० हजार विद्यार्थी सहभागी हुन चाहिरहेका छन् । एउटा अर्को नवप्रवर्तनात्मक संस्था कारखानामा विभिन्न स्थानका ३० विद्यालयका शिक्षकहरुले डिजिटल शिक्षणको कार्यशालामा सहभागी भएका छन् । मिदास, कारखाना र म्याक्स कनेक्टले बन्दाबन्दीको समयमा डिजिटल सिकाइको अवसर उपलब्ध गराएका छन् ।

अनिश्चिततामा रहेको बन्दाबन्दीको यो समयमा स्व सिकाइका संभावना, साथी साथीबीच हुने सहपाठी सिकाइ र शिक्षक र विद्यार्थीबीचको सम्बन्ध र विश्वासमा एक प्रकारको नयाँ परिवर्तन हुने अवस्था रहेको छ । खासगरी खोजविन नगरिएका नयाँ र फरक खालका दुर शिक्षण सिकाइका विधिहरु यतिखेर अगाडी आइरहेका छन् । यद्यपी सरकारले दुर शिक्षाका माध्यमबाट पढ्ने अवसर धेरै पहिले देखिनै उपलब्ध गराइरहेको थियो । यसले वैकल्पिक र दुर शिक्षणका माध्यमबाट शिक्षण गर्ने सन्दर्भमा भएको वेवास्ता र तयारी नगरिएको विषयलाई समेत उजागर गरेको छ । भौतिक रुपमा विद्यालय उपस्थित हुन नसक्ने र दुर शिक्षाबाट पढ्न चाहनेहरुका लागि निरन्तर अवसर उपल्बध गराउनु पर्छ । यसका लागि विद्यालय, शिक्षक, विद्यार्थी र सरकारका साथै नागरिक समाज र सञ्चार माध्यमहरुले पनि यसको तयारीका लागि ध्यान दिनु आवश्यक छ ।

‘शिक्षामा यो साता’ छापा माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । छापा माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरले कान्तिपुर (नेपाली) र द हिमालयन टाइम्स (अंग्रेजी) दैनिक मा २०७६ चैत १९ देखि २५ गते सम्म प्रकाशित शिक्षा सम्वन्धि विषयवस्तुलाई आधार बनाई यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अंग्रेजीमा पढ्नुहोस् : Learning continues online in Covid-19 Pandemic

अहिले सम्म प्रकाशित सबै विश्लेषणलाई एकै ठाउँबाट पढ्नका लागि यो लिंक क्लिक गर्नुहोस् : शिक्षामा यो साता

प्रतिक्रिया