अनलाइन शिक्षणको तयारी : सिन्क्रोनससँगै असिन्क्रोनसको आवश्यकता


- सम्पादकीय नोट : कोरोनाको संकट सँगै शिक्षण सिकाइमा प्रविधि प्रयोगको विषय जोडतोडले उठेको छ । विद्यालयमा ईण्टरनेटको पहुँच र आवश्यक भौतिक पुर्वाधार यसको मुख्य सर्त हो । यो भन्दा पहिले शिक्षण सिकाइका मुख्य कर्ता शिक्षकलाई सक्षम बनाउन जरुरी छ । त्यसो त समय सापेक्ष रुपमा अपडेट हुनुपर्छ भन्ने वित्तिकै कतिपय शिक्षकहरु 'झडङ्ग रिसाएको' पनि भोगिएकै हो । तर, यही भिडमा अधिकाँश शिक्षक समयानुकुल अपडेट हुन व्यग्र रहने, चासो दिने, सिक्न चाहनेहरु पनि छन् ।

बदलिदों शिक्षण शैलीका लागि के गर्न जरुरी छ ? के गर्न सक्छन् शिक्षकले ? भन्ने सवालमा संसारमा भईरहेका अभ्यास, देशमै अपनाईएको शैली र विषय विज्ञका धारणालाई सन्दर्भ अनुसार आलेख वा भिडियोका रुपमा प्रकाशन/प्रशारण गर्ने गरी यो स्तम्भ शुरु गरिएको हो । यसले बदलिँदो सन्दर्भमा शिक्षक मार्फत् बालबाबालिकाको सिकाइमा सकारात्मक प्रभाव पार्ने हाम्रो अपेक्षा छ । स्तम्भको पहिलो अँकमा यो आलेख :

ईण्टरनेट र सूचना प्रविधिको विकास हुनुपूर्व नै प्रत्यक्ष रुपमा विश्वविद्यालय तथा विद्यालयमा भर्ना भई अध्ययन गर्न नसक्नेहरुका लागि पत्राचार, रेडियो र टेलिभिजनबाट दूर शिक्षा तथा खूला सिकाइका अवसर र विधिहरु प्रचलनमा थिए । ईण्टरनेट र प्रविधिको विकास भए पछि अनलाइन सिकाइ, भर्चुअल सिकाइ, सिकाइ व्यवस्थापन प्रणाली, अनलाइन परीक्षा जस्ता थुप्रै अवधारणाहरु विकास भए र भइरहेका छन् । ब्लेण्डेड, हाइब्रिड, फ्लिप्ड, ईलर्निङ, भर्चुअल लर्निङ मोवाइल लनिङ्ग र यूव्यिकिट्स जस्ता अंग्रेजी जार्गनहरु अनलाइन शिक्षणको सुरुवातसंगै विकास भइ विश्वव्यापी रुपमा प्रयोगमा छन् ।  

विश्वविद्यालयका डिग्री लिने कोर्ष भन्दा छोटा व्यावसायिक तालिम तथा अन्य खास खास विषयका प्याकेज तथा मोड्युलहरु अनलाइनमा प्रचलित थिए र छन् ।  मूक (मेसिभ ओपन अनलाइन कोर्ष) र गूक (ग्लोबल अनलाइन कोर्ष) केही  यसका उदाहरणहरू हुन् । धेरै विश्वविद्यालयहरूले मिश्रित (प्रत्यक्ष र अनलाइन) प्रणालीहरु अपनाइरहेको अवस्था थियो । केही खास खास विषयको पढाइ प्रत्यक्ष र केही विषयको अनलाइन तथा विषयमै पनि केही पाठहरू प्रत्यक्ष र केही पाठहरु अनलाइन गर्ने प्रचलन थियो र छ पनि । नेपाल खुला विश्वविद्यालयले पनि कम्तीमा सबै विषयमा तोकिएका १५।१६ हप्तासम्म ३ घण्टाका अनलाइन कक्षा र कोर्ष अनुसार १०।१२ दिनका प्रत्यक्ष कक्षाहरु सञ्चालन गर्ने गर्छ ।

अनलाइन शिक्षणमा वास्तविक समयको कक्षा (सिन्क्रोनस) र कुनै पनि समयमा विद्यार्थीले आफै सिक्ने (असिन्क्रोनस) पद्धतिको अवलम्बन गरिन्छ । अनलाइन शिक्षणमा सिन्क्रोनस र असिन्क्रोनस दुइवटा पद्धति सँगसँगै अगाडि लैजानु अनिवार्य हुन्छ । शिक्षक सहजकर्ताको रुपमा सिकारु समक्ष भौगोलिक रुपमा फरक फरक स्थानमा बसि कुनै खास तोकिएको समयमा कुनै खास तोकिएका विषयमा मात्र कक्षामा जस्तै पठनपाठन गर्ने गरी उपस्थित हुनु सिन्क्रोनस हो । यस्तै विद्यार्थीले आफुलाई अनुकूल हुँदा र मन लागेको समयमा मात्र पाठ पढ्ने वा तोकिएका कामहरु गर्ने असिन्क्रोनस विधि हो । सिक्रोन्स विधिमा मुख्यगरी अडियो कन्फ्रेन्सिङ्ग, वेबवेस्ड भिडीयो कन्फ्रेन्सिङ, च्याट इन्स्ट्यान्ट मेसेजिङ, व्हाइट वोर्ड सेयरिङ र एप्लिकेशन शेयरिङ जस्ता टुलहरुको प्रयोग हुने गर्दछ । असिन्क्रोस विधिले सिकारुको अन टाइम र अन डिमाण्ड सिकाइ अनुभवलाई प्राथमिकतामा राखेको हुन्छ । तसर्थ असिन्क्रोनस विधिमा डिस्कसन वोर्ड, ब्लग, सर्भे एण्ड पोल्स र वेबसाइट्स लिङ्क जस्ता  थुप्रै टुलहरुको  प्रयोग गरिन्छ ।

कोभिड १९ महामारीको कारण विश्वविद्यालय, कलेज र विद्यालयहरु बन्द भए पछि कुनै तोकिएको खास समयमा शिक्षक वा सहजकर्ताले वेब वेस्ड भिडियो कन्फ्रेन्सिङ टुल मार्फत अनलाइन कक्षा चलाइरहेको अवस्था सिन्क्रोनस हो र यो समयमा विद्यार्थी अनलाइन उपस्थित हुन सकेन, ईण्टरनेटले काम गरेन, विजुली भएन वा अन्य उसका व्यक्तिगत कारणले सहभागी हुन सकेन भने त्यो उसको पाठ वा शिक्षकले सहजीकरण गरेको विषय छुट्छ । सिनक्रोनस विधिको यो समस्या समाधान गर्न अनलाइनको असिन्क्रोनस विधि प्रयोग हुन्छ । त्यो खास गरी सिकाइ व्यवस्थापन प्रणाली (एलएमएस) हो । एलएमएस खासमा सफ्टवेयर प्याकेज हो जसले शिक्षण सामाग्री र विषयबस्तुहरु सिकारु समक्ष पुर्याउने गर्दछ ।  अहिले प्रयोगमा आइरहेका जुम, स्काइप, गुगल मिट, टिम्स आदि खासगरी सिन्क्रोनस विधिमा शिक्षकले सहजीकरण गर्ने, पाठ प्रस्तुत गर्ने वा व्याख्या गर्ने हुन्छ । सिन्क्रोनसमा विद्यार्थी छुट्यो भने पनि उसले असिन्क्रोनसबाट त्यसको परिपूर्ति गर्न सक्ने व्यवस्था हुन पर्छ र त्यसका लागि सिन्क्रोनसको रेकर्ड गरेर राख्न सकिन्छ । साथै त्यो अन्य विद्यार्थीहरुले पनि प्रयोग गर्न सक्छन् ।

एलएमएस प्रणालीमा दैनिक पाठको योजना, विद्यार्थीले सिक्नुपर्ने विषयहरु वा सिकाइ उपलब्धि, त्यसका लागि आवश्यक पढ्ने सामग्री, भिडियो, अडियो, अनलाइन प्ल्याटफर्म, विभिन्न क्विज तथा परियोजना कार्य  राखिएको हुन्छ । विद्यार्थीले आफुलाई अनुकूल हुने समयमा त्यो एलएमएस प्रणालीमा विद्यालय, कलेज वा विश्वविद्यालयले उपलब्ध गराएको युजर र पासवर्ड प्रयोग गरेर ती सामग्री हेर्न, डाउनलोड गर्न, पढ्न र तोकिएका काम गर्न सक्छन् ।

छोटो समयमका लागि शिक्षण सिकाइ अवरुद्ध हुन नदिन, विद्यार्थी र शिक्षकहरू सम्पर्कमा रहिरहन र सिक्ने अवसरबाट वञ्चित नगर्न सिन्क्रोनस विधिबाट शिक्षण गर्न सकिएला तर यो दीर्घकालीन प्रयोजनका लागि असिन्क्रोनस विधिमा रुपान्तरण हुनै पर्छ । त्यसका लागि खास तोकिएका एलएमएस प्रणाली आवश्यक पर्छ । एलएमएस विशेष गरि फ्री ओपन सोर्स र  व्यावसायिक प्रयोजनका हुन्छन् । हाल नेपालमा धेरै प्रचलनमा रहेको मुडल एउटा एलएमएस हो । यो निशुल्क रुपमा व्यक्तिले प्रयोग गर्दा ५० जनासम्मका लागि सहजीकरण गर्न संभव हुन्छ । यसलाई ठूलो समूहमा र धेरै विषयमा रुपान्तरण गर्दा तोकिएको शुल्क तिरेर सर्भरमा यसलाई व्यवस्थित गर्नुपर्छ र सहभागी सङख्या अनुसार यसमा सर्भरर्, याम, मेमोरी जस्ता हार्डवेयरको पनि व्यवस्थापन गर्नु जरुरी हुन्छ । मुडल जस्ता अन्य सयौँ एलएमएसहरु प्रचलित छन् जस्तै गुगल क्लास, ईजी क्लास, स्कलोजी, कनभास, ब्ल्याकवोर्ड, सकाइ आदी । हरेकका आ(आफ्नै प्रकारका विशेषताहरु छन् ।

अनलाइन शिक्षण प्रत्यक्ष शिक्षणको विकल्प होइन तर यो प्रत्यक्ष शिक्षणको परिपुरक हो । यसका लागि प्रविधि, विषयवस्तु र पूर्वाधारको जरुरी हुन्छ । प्रत्यक्ष शिक्षणमा शिक्षकले केही तयारी नगरी कक्षामा प्रवेश गरेर तोकिएको पाठ पढाउन सक्छन् तर अनलाइन शिक्षणको असिन्क्रोनस विधिमा शिक्षकले धेरै तयारी गरेर, विभिन्न सामग्री खोजेर, बनाएर, टाइप गरेर, अडियो रेकर्ड गरेर, भिडियोहरु बनाउने, क्विज बनाउने, गेम बनाउनेजस्ता थुप्रै काम गर्नुपर्छ । हरेक प्रकारका सिकारुलाई उपलब्ध हुने गरी सामग्री उपलब्ध गराउनुपर्छ । तोकिएको हप्ता वा पाठ अनुसारका मोड्युलहरु विकास गरी क्रमशस् रुपमा एकदमै संरचनावद्ध गर्नुपर्छ । यसमा शिक्षक तयारी र शिक्षकको प्रविधिसम्बन्धी ज्ञान पनि अति महत्वपूर्ण हुन्छ ।

सिकारुमा सिकाइप्रति रुचि जगाउने काम र त्यो काममा लगाइरहने कार्य अनलाइन शिक्षणमा निकै चुनौतीपूर्ण हुन्छ । खास समय छुट्टाएर कक्षा लिनका लागि धाएर विद्यालय कलेज आएको विद्यार्थीलाई त कक्षामा पाठप्रति ध्यान केन्द्रित गराउन समस्या हुने हाम्रो परिवेशमा अनलाइनबाट अर्थपूर्ण सिकाइ गराउने कार्य निकै चुनौतीपूर्ण देखिन्छ । विद्यार्थीलाई घण्टौसम्म कम्प्युटर ल्यापटप वा मोबाइलको स्क्रिनमा हेरिरहन कठिन हुन्छ । छोटा प्रत्यक्ष कक्षा र भिडियो बनाएर उपलब्ध गराउनु बढी प्रभावकारी हुन्छ । शिक्षकले विभिन्न प्रकारका सिकाइ सामग्री उपलब्ध गराएर सिकारुको सिकाइ शैली अनुसार सिक्ने अवसर उपलब्ध गराउनुपर्छ । शिक्षकको भूमिका प्रत्यक्ष कक्षामा भन्दा निकै बढेर जान्छ । विद्यार्थी सहयोग संयन्त्र एलएमएस भित्र शिक्षकको प्रमूख जिम्मेवारी पर्ने हुनाले प्रत्येक विद्यार्थीलाई अलग अलग समयमा सहयोग आवश्यक पर्छ ।

अनलाइन शिक्षणमा सामग्री उपलब्ध गराउने र कुनै साधनबाट पाठ पढाउने मात्र भन्दा विद्यार्थीको सिकाइको अवस्था जानकारी लिने अझ महत्वपूर्ण हुन्छ । यसका लागि शिक्षकले अझ बढि तयारी गर्ने, विभिन्न प्रकाका समस्या समाधान, क्विज, फोरम, प्रश्न उत्तर, खोज गर्ने काम दिने त्यसका लागि निश्चित समय दिने, प्रत्येक विद्यार्थीका त्यस्ता कामहरु परीक्षण गरेर पृष्ठपोषण उपलब्ध गराउने, रुब्रिक्सहरु तयार गर्ने जस्ता शिक्षकका पाठ तयारीका काम धेरै महत्वपूर्ण हुन्छन् । अनलाइन परीक्षणका केही अलग्गै एप्लिकेशन तथा टुल्सहरु पनि उपलब्ध छन् तिनीहरुको प्रयोग गर्न सकिन्छ । अनलाइन शिक्षणमा विद्यार्थीको मूल्याङक्नका लागि ई पोर्टफोलियो राख्नु आवश्यक हुन्छ ।

सिकाइका लागि सामग्रीको अभाव छैन र हुँदैन । विज्ञान, गणित, अङ्ग्रेजी र वातावरण, स्वास्थ्य जस्ता विषयका धेरै सामग्री उपलब्ध छन् । नेपालीमा अनुवाद गर्न पनि धेरै समय नलाग्ला । नेपालीका विषयहरु अङ्ग्रेजी बनाउन पनि समय नलाग्ला । एकदमै शक्तिशाली स्क्यानरहरु उपलब्ध छन् । डिजिटाइजेसनका धेरै सफ्टवेयर पनि उपलब्ध छन् । हरेक सामग्रीका विद्युतीय प्रति पनि छन् तर ती सामग्रीहरू विद्यार्थीको पहुँचमा पुर्याउने र उनीहरूले ती सामग्रीबाट सिकाइ गरिरहेका छन् वा छैनन् भन्ने अनुगमन र सिकाइमा कठिनाइ भएकालाई सहजीकरण गर्ने कार्य अझ महत्वपूर्ण र चुनौतीपूर्ण छ ।

तत्कालको व्यवस्थापनका लागि धेरै रकम खर्च गरेर विभिन्न एलएमएसको व्यवस्थापन गर्ने तर त्यसका लागि शिक्षक र विद्यार्थी दुवै तयार नहुँदा यसको प्रयोगमा जोखिम देखिन्छ । यसका साथै एक दुई महिना पछि अवस्था सहज भए पछि ती प्रणालीहरुलाई चटक्कै छोडेर पुरानै अवस्थामा फर्किदा पनि साधन स्रोतको समुचित प्रयोग हुदैन । त्यसैले सिकाइलाई निरन्तरता दिनु जरुरी छ र यसका लागि हतारमा भन्दा ज्यादै सुझबुझपूर्ण तरिकाले योजना बनाउनु र कार्यान्वयन गर्नु आवश्यक हुन्छ । विद्यालय तहको माध्यमिक र उच्च शिक्षामा अनलाइन शिक्षणलाई शुरु गरी भोलिका दिनमा यसलाई सँगसँगै सिकाइको पुरक बनाएर जाने गरी तयारी गर्नु उपयुक्त होला । जसले हालको सिकाइमा देखिएको खाडल कम गर्ला । सिन्क्रोनस विधि तत्कालका लागि उपयोगी भएपनि अनलाइन शिक्षणलाई दीर्घकालीन बनाउन असिन्क्रोनसमा रुपान्तरण हुनैपर्छ । यसका लागि दीर्घकालीन योजना बनाएर यसलाई प्रभावकारी बनाउने तर्फ ध्यान दिनुपर्छ ।

आचार्य, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनमा विद्यावारिधिको शोध गर्दै छन् ।

- यो स्तम्भको आवश्यकता महशुस गर्नु अघि हामीलाई उत्प्रेरित गरेको सन्दर्भका लागि यो सम्पादकीय अध्ययन गर्न सक्नुहुन्छ - सं.

अन्धकारमा आनन्द मानेर फुसफुसाई रहेछ शिक्षा मन्त्रालय !