Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
बहस

संकट सकिए पछि पढाउँला भनेर बस्ने की, अवसरमा बदल्न तयार हुने ?

सोमबार, ०५ जेठ २०७७

सम्पादकीय नोट : कोरोना संकटको प्रभाव संसारले लामो समय सम्म भोग्नु पर्ने निश्चित भएको छ । यसले शिक्षा क्षेत्रमा पार्ने प्रभाव त झन् डरलाग्दो हुने छ । संकट छ भनेर चुप लागेर बस्ने की यसका बिचबाट नयाँ ठाउँमा पुग्ने बाटो तय गर्ने ? यो प्रश्नको उत्तर खोज्ने क्रममा हामीले यो स्तम्भ शरु गरेका हौं । संकटको अवस्थालाई शिक्षण सिकाइ परिवर्तन गर्ने मौकाका रुपमा बदल्न जरुरी रहेको हाम्रो निश्कर्ष हो ।

शिक्षण सिकाइको सन्दर्भमा कुरा गर्ना साथ मुख्य कर्ता शिक्षक हुन् । संविधानले विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत गरेसँगै यसको केन्द्रमा उनीहरु पनि छन् । तसर्थ यी दुई पक्षलाई गर्नु पर्ने सहजीकरण र उनीहरुले गरेका र गर्नु पर्ने कामका बारेमा केन्द्रित हुँदै यो स्तम्भमा हामी बदलिदों शिक्षण शैलीका लागि के गर्न जरुरी छ ? के गर्न सक्छन् शिक्षकले ? भन्ने सवालमा विद्यालय, स्थानीय सरकार र संसारमा भईरहेका अभ्यास, देशमै अपनाईएको शैली र विषय विज्ञका धारणालाई सन्दर्भ अनुसार आलेख वा भिडियोका रुपमा प्रकाशन / प्रशारण गर्ने छौं । यो साताको सामग्रीमा एकजना शिक्षक धावा साङ लामाका विचार  :

कोरोना भाईरस कोभिड १९ को महामारीले संसार ठप्प बनाएको छ । आर्थिक, सामाजिक क्षेत्र अस्तव्यस्त छन् । सबै भन्दा पहिले मानव जीवनको संरक्षण गर्नुलाई पहिलो प्राथमिकतामा राखिएको छ । स्वभाविक हो मानव जीवन रहे मात्रै अरु कुरा अघि बढ्ला ।

तर केही क्षेत्र मानव जीवनसँग प्रत्यक्ष जोडिएका छन् । यसको एउटा मुख्य पक्ष भनेको शिक्षा हो । यतिखेर शिक्षण संस्था बन्द छन् । विद्यालय तहका  हजारौं बालबालिकाको सिकाइ ठप्प छ । यही संकटमा शिक्षण शैली बदल्ने गरी नयाँ अभ्यास थालनीको चर्चा पनि शुरु भएको छ । प्रविधिको पहुँचमा भएका विद्यालयले भर्चुअल माध्यमबाट सिकाइ शुरु गरेका छन् । कतिपय ठाउँमा एफ एम रेडियोबाट पठनपाठन भएको खबर सुन्न पाहिन्छ । टेलिभिजनबाट पनि कक्षा चलिरहेका छन् ।

देशको भौगोलिकता र प्रविधि पहुँच अनि अभिभावकको अवस्थालाई विश्लेषण गरेर यस्ता शिक्षण विधि प्रभावकारी नहुने तर्क पनि संग सँगै आईरहेका छन् । यसका लागि भुकम्प पश्चात नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले भुकम्प प्रभावित एघार जिल्लाको एक सय विद्यालयहरुमा वि.सं. २०७३ साल पौष २४ गतेबाट शुरु भर्चुअल कक्षालाई उदाहरण दिने गरिन्छ ।  किन भने आवश्यकता र लगानीका हिसावमा जुन उपलब्धि हुन पर्ने हो त्यो हुन नसकेको तितो यथार्थ हाम्रा अघिल्तिर छ । यसको विस्तार र निरन्तरतामा खासै उल्लेखनीय प्रगति भएन । यसले एउटा जबरजस्त प्रश्न उब्जाएको छ, हाम्रा प्रायजसो सबै कार्यक्रमहरु किन अस्थायी र तत्कालीन अवस्थालाई मात्रै सम्बोधन गर्ने खालको हुने गर्दछ ?

अहिले कोभिड १९ ले निम्त्याएको सन्दर्भमा फेरि पनि शिक्षा प्रणाली, शिक्षण शैली र यसमा अपनाउनु पर्ने विधिका बारेमा छलफल, बहस शुरु भएको छ । खासगरी भाईरस सक्रमणको जोखिम न्यूनिकरण गर्न जारी लकडाउन र त्यस पछिको अवस्थामा पनि अस्तव्यस्त भएको शैक्षिक कार्यक्रम कसरी निरन्तर र स्वभाविक अवस्थामा अघि बढाउने भन्ने यतिखेरको चुनौती हो ।

महामारीले निम्त्याएको संकट शिक्षण शैली बदल्ने अवसरका रुपमा उपयोग गरौं, जहाँ जे सकिन्छ त्यसमा छलफल गरौं, तर कोरोना सकिन्छ अनी पढाउँला भनेर चुप लागेर नबसौं भन्ने तर्क पनि उठ्दै छन् । 

हो, मौका पटक पटक आउदैन । आएको मौकाले पनि पर्खिदैन । के थाहा ⁄ सामुदायिक विद्यालयहरुमा विद्यार्थी न्यून भईरहेको, शिक्षा प्रणाली सन्तोषजनक नभएको भन्ने समस्या र आलोचनाको घेराबाट बाहिर निस्कने कोभिड हामा लागि मौका बनेर पो आएको हो की !

हाल केही रेडियो, टेलिभिजन मार्फत एस.ई.ई. का परीक्षार्थीलाई मध्यनजर गरी केही विषयका कक्षाहरु पनि सञ्चालन भएका छन् । भर्चुअल कक्षा, भिडियो कन्फेरेन्स, अनलाईन कक्षा आदिको पनि अभ्यास र प्रयोग गर्नुपर्छ भन्ने कुरामा दुई मत छैन । तर यसो भनिरहँदा अझै पनि बजारमा, के नेपाल यसको लागि सक्षम छ त ? सबै स्थान र व्यक्तिमा इण्टरनेटको सहज पहुँच छ त ?

ईण्टरनेट प्रयोग गर्ने साधन छ त ? आर्थिक हिसाबले किफायती छ त ? शिक्षक र विद्यालय प्रविधि मैत्री छन् त ? सम्बन्धित सरोकारवाला निकायहरु त्यसको व्यवस्थापन गर्न सक्षम छन् त ? भन्ने जस्ता प्रश्नको उत्तर राज्यका निकालयले समयमै दिनु जरुरी छ । यस्ता सवालको सही निरुपण भएन भने नवीनतम पद्धति र अवधारणाहरुको अङ्गीकरणमा बाधक हुन पुुग्छ ।

चुनौतिलाई समस्या होइन अवसरको रुपमा बदल्ने कोशिस गर्न सबै भन्दा पहिले शिक्षक तयार हुन आवश्यक छ । सिक्न अग्रसर हुनु पर्यो, समय व्यवस्थापन गर्नु पर्यो, कुरा होइन काममा विश्वास गर्नु पर्यो, आवश्यकता र परिवर्तनलाई स्वीकार गरी सोही अनुकुल अगाडी बढ्ने प्रयत्न गर्नु पर्यो । सफलता एक दिन अवश्य पनि हात पर्नेछ । सुरुमा केही अन्यौलता र असहजता पक्कै पनि हुन्छ । तर समाधान पनि निस्कदै जान्छ । विभिन्न एप्लीकेसनहरु, भिडियोहरु, गुगल र साथीभाईहरु शिक्षकका सहयोगी हुनेछन् । प्रयास आफैले गर्ने हो । अरुको भरमा परी परजीवी बन्ने मानसिकतामा कति दिन रमाउने हो ? हाल लकडाउनको समय छ । कम्प्युटर लगायत शिक्षणसँग सम्बन्धित अन्य यन्त्र, उपकरण तथा साधनहरुको सिकाइमा समय व्यतित गरौं । कम्प्युटरमा मलाई टाइप गर्न आउँदैन, अझ नेपाली टाइप त झन् गाह्रो छ, भन्नेहरुलाई पनि उपाय छ । टाइप गर्नु पर्दैन आफुले हातले लेखेको कुरा, पुस्तक वा अन्य माध्यमहरुमा भएका सामग्रीहरुको फोटो खिचेर पनि प्रस्तुत गर्न सकिन्छ । मात्र केही प्रोग्राम र सफ्टवेयरहरु चलाउने आधारभूत सीप सिक्नु पर्छ । आजकल प्रायजसो सबै शिक्षकको हात हातमा स्मार्ट फोन देखिन्छ । नभए पनि प्रयोग गर्न सक्ने हैसियत छ । त्यसमा आफुले शिक्षण गर्ने विषय वस्तुको भिडियो निर्माण गर्नुहोेस् । त्यसलाई सामाजिक सञ्जाल वा अन्य माध्यमहरुद्वारा सिकारुहरु समक्ष पुर्याउनुहोस् । अथवा भिडियो कन्फेरेन्सको लागि कक्षागत ग्रुप बनाएर अन्तरक्रिया गर्नुहोस् । यसमा फेसबुक, मेसन्जर, जुम एप लगाएत अन्य माध्यमहरु औजारको रुपमा प्रयोग गर्न सकिन्छ ।

शहर बजारमा कठिन होला तर हाम्रा अधिकाँश गाउँ घर भनेका भिन्न प्रकृतीका छन् । जहाँ कुन विद्यार्थीको घर कुन हो, अभिभावक को हो, कस्तो आर्थिक अवस्था छ भन्ने कुरा शिक्षकले एक एक थाहा पाएको हुन्छ । त्यसैले भौतिक दुरी कायम गरेर विद्यार्थीको घरमै गएर सिकाउन पनि सक्छन् शिक्षकले ।

अहिले प्रतिकुल समय हो, यसमा सामान्य अवस्था जस्तो नहुन सक्छ । त्यसो हो भने किन अहिले प्रविधि सिक्न हत्ते गरिरहनुपर्यो भन्ने प्रश्न पनि उब्जिएको छ । त्यसो होईन, मानौं चाँडै नै अवस्था सामान्य भयो भने पनि यो ज्ञान काम लाग्छ । काम बिशेषले केही समय विद्यालयमा उपस्थित हुन असमर्थ भएमा यस्ता भिडियोहरु तथा भिडियो कन्फेरेन्सको माध्यमबाट जुनसुकै स्थानबाट पनि शिक्षण गर्न सकिन्छ । जसले कक्षा खाली हुने र शिक्षकको व्यक्तिगत कामले अनुपस्थित हुँदा कोर्ष पछाडी पर्ने समस्या पनि हट्दै जान्छ । यो कुरा विद्यार्थीको हकमा पनि लागू हुन सक्छ ।

२०७२ सालको भुकम्प पश्चात प्रायजसो सामुदायिक विद्यालयहरु भौतिक पूर्वाधारहरुले सम्पन्न भएका र हुने क्रममा रहेका छन् । विद्यालयले पनि कक्षा कोठामा सकेसम्म स्मार्टबोर्ड नभए पनि स्मार्ट टेलिभिजनको व्यवस्था गर्ने तर्फ ध्यान दिनु पर्दछ । यसमा स्थानीय सरकार लगायत अन्य सङ्घसंस्थाहरुले सहजीकरण गर्नुपर्दछ । मौखिक रुपमा अर्ती, उपदेश, कथा, गीत वा अन्य विधाहरु मार्फत सुरु भएको शिक्षण शैली प्रविधि प्रयोग गरेर नयाँ आयाममा लैजान महामारीले हामीलाई पाठ सिकाएको छ । मात्रै खाँचो छ, तीव्र इच्छाशक्ति, लगाव र सङ्कल्पको । यसबारेमा राष्ट्रिय नीति निर्माण गर्ने ठाउँमा संघीय सरकार भए पनि मुख्य कर्ता शिक्षक र स्थानीय सरकार नै हुन्, यी दुई पक्ष गम्भिर बनेमा हामी नयाँ ठाउँमा पुग्ने बाटो स्पष्ट हुने छ ।

लामा पाटन माध्यमिक विद्यालय, पाटनढोका, ललितपुरका शिक्षक हुन् ।

प्रतिक्रिया