Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षकलाई घर घरै पुर्याउने, 'अभिभावक शिक्षक' पनि परिचालन गरिने

विहीबार, ०८ जेठ २०७७

पाल्पा - बालबालिकाको सिकाइ निरन्तर गर्न जरुरी रहेको निश्कर्ष सहित तानसेन नगरपालिकाले शिक्षकलाई घर घरै पुर्याउने र 'अभिभावक शिक्षक' तयार पारेर परिचालन गर्ने भएको छ । कोरोना भाईरस (कोभिड-१९) को संक्रमण जोखिमका कारण विद्यालयहरु बन्द भएर बालबालिकाको सिकाइ अवरुद्ध भईरहेको बेला शिक्षकहरुलाई विद्यार्थीको सम्पर्कमा पुर्याउन जरुरी रहेकाले नयाँ अवधारणा विकास गरिएको नगर प्रमुख अशोक कुमार शाहीले बताए ।

कोभिडको जोखिम लामो समय रहने भन्दै विश्व स्वास्थ्य संगठनले नै भनिरहेको अवस्थामा बालबालिकाको पठनपाठन रोक्नु ठिक नहुने भएकोले नयाँ शैलीले काम गर्नु जरुरी ठानेर यो अवधारणा विकास गरिएको उनको भनाई छ । विषयको गम्भिरता बोध गराएर तत्काल विद्यार्थी विद्यालयमा आउन नसके पनि शिक्षकहरुलाई नै घर घरै पठाएर सिकाइ शुरु गर्ने नगरपालिकाको योजना छ ।

यसका लागि चाहिने ज्ञान दिन नगरपालिकाले पहिलो चरणमा शिक्षकलाई अनलाईन तालिम समेत उपलब्ध गराएको छ । बुधबार शुरु उक्त तालिमको दोश्रो चरण आगामी १३ गते सञ्चालन गर्ने नगरपालिकाको योजना छ । उक्त तालिममा सिकेका ज्ञानका आधारमा हरेक शिक्षकले विशेष 'मोडल' निर्माण गर्ने र बालबालिकाको घर घरै गएर सिकाउने योजना तय गरिएको शाहीले जानकारी दिए । यसलाई सघाउन गाउँ, टोलमा 'अभिभावक शिक्षक' परिचालन गरिने छ । सेवा निवृत्त भएका शिक्षक, कर्मचारी वा अन्य युवाहरुलाई यसमा सहभागी बनाईने छ । हरेक दिन शिक्षकहरु पुग्न नसके पनि यस्ता 'अभिभावक शिक्षक' ले बालबालिकाको सिकाइमा सघाउने छन् ।

'नगरपालिका भित्र कतिपय रिटायर्ड शिक्षक हुनुहुन्छ, कर्मचारी हुनुहुन्छ, उहाँहरुको ज्ञान सीप र समयलाई बालबालिकाको सिकाइमा केन्द्रित गर्दा यस्तो प्रतिकूल समयमा समाजलाई फाईदा नै पुग्ने छ, नगरपालिकाको यो योजनामा उहाँहरु पनि बहुत सकारात्मक हुनु भएको छ' शाहीले भने 'यो विशुद्ध स्वयं सेवा हो, उहाँहरुको समय र ज्ञानको सम्मान गर्दै नगरपालिकाले अभिभावक शिक्षकको पहिचान दिन्छ, सामाज निर्माणको अभियानमा सघाउनु उहाँहरुका लागि पनि गर्वको कुरा हो ।'

पठनपाठन नभएर बालबालिका तथा अभिभावकमा नकारात्मक प्रभाव पर्ने हुँदा यस विषयमा निश्कर्षमा पुग्न जरुरी रहेकोले नयाँ अवधारणा सहित काम शुरु गरेको उनले बताए । पहिलो चरणमा ३० जना सम्म 'अभिभावक शिक्षक' तयार पार्ने नगरपालिकाको योजना छ ।

विद्यमान प्रतिकुल अवस्थामा बालबालिकाको सिकाइलाई कसरी निरन्तरता दिने भन्ने विषयमा केही दिन अघि विद्यालयका प्रधानाध्यपक सहित सरोकारवालाहरुसँग नगरपालिकाले छलफल गरेको थियो । उक्त छलफलले विद्यालयलाई कुनै न कुनै तरिकाले खोल्नु पर्ने र शिक्षक परिचालन गर्नु पर्ने निश्कर्ष निकालेको थियो ।

सरकारले निर्धारण गरेको अति आवश्यकीय क्षेत्र भित्र विद्यालयहरु पनि पर्छन् भन्ने मान्यताबाट विद्यालयका गतिविधि सञ्चालन गर्न शिक्षक र 'अभिभावक शिक्षक' परिचालन गर्न लागिएको उनको भनाई छ ।

'लामो समय देखि बन्द विद्यालयका गतिविधि कसरी सञ्चालन गर्ने भन्ने विषयमा भएको छलफलले पनि हामलिाई नयाँ अवधारणा विकास गर्न सघाएको छ'  शाहीले भने, 'शिक्षकहरु घरमा बस्ने हैन, विद्यालय जानु पर्यो, यस्तो बेलामा कसरी पढाउने भन्ने विषयमा आपसमा विमर्श गर्नु पर्यो, पाठ योजना निर्माण गर्नु पर्यो, कोरोना सकिएला र शैक्षिक गतिविधि गरौंला भनेर बस्नु भनेको बालबालिका माथि अन्याय हो, यो विषयमा नगरपालिका गम्भिर छ ।'

यहि गम्भिरता महशुस गरेर नगरपालिकाले अनलाइन मार्फत शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग गर्न शिक्षकहरुलाई तालिम शुरु गरेको छ । बुधबार भएको पहिलो चरणको तालिममा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी करीब ५ सय शिक्षकको सहभागीता रहेको तालिमका सहजकर्ता समेत रहेका शिक्षक तथा तालिम व्यवस्थापन समितिका सदस्य जीवन आचार्यले जानकारी दिए ।

नगरपालिका भित्र ५२ सामुदायिक र २० निजी विद्यालय छन् । सामुदायिकमा ४ सय ३६ शिक्षक रहेको नगरपािलकाको तथ्याङ्क छ ।  निजी विद्यालयमा ३ सय ५ जना शिक्षक रहेको व्याब्सन पाल्पाका अध्यक्ष भरत प्रसाद न्यौपानेले जानकारी दिए ।

यस अघि नगरपालिकाले कक्षा १० को अन्तिम परीक्षा तयारीमा रहेका विद्यार्थी लक्षित गरेर सामुदायिक रेडियो मदनपोखरा मार्फत कक्षा सञ्चालन गरेको थियो । उक्त कक्षा ३० वटा विभिन्न रेडियो स्टेशन मार्फत् रिले प्रशारण गरिएको थियो । नगरपालिका भित्रकै दमकडा नमूना माध्यमिक विद्यालयले आफ्नै अग्रसरतामा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरी रेडियो कक्षा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया