Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

शिक्षाको मृत्यु !

शनिबार, १० जेठ २०७७

३३ किलो सुन काण्ड, निर्मला बलात्कार काण्ड, वाइडबडी जहाज खरीद काण्ड, ललिता निवास काण्ड, यति काण्ड, सेकुरिटि प्रिन्टिङ्ग प्रेस काण्ड, ट्रान्सपरेन्सी ईण्टरनेश्नलका अनुसार भ्रष्टाचार गर्ने मुलकमा नेपाल १२४ औं स्थानमा, कोरोनाले त्रसित नेपालीको उपचारमा आवश्यक सामग्री खरीदमा जोडिएको ओम्नि ग्रुप  काण्ड, थर्मल गन  विक्रि काण्ड, सांसद अपहरण काण्ड,  – विगत दुई बर्ष यताका मुख्य र चर्चित घटना यीनै हुन् !

विदेशमा श्रम बेच्न वाध्य ६० लाख नेपाली आफ्नो जन्म भूमि कसरी फर्कने भन्ने अन्योलमा छन्, सरकारको औपचारिक रेकर्डमा कतै नामो निशाना नभएका हजारौं नेपाली घर फर्कने आशामा नेपाल भारत सिमानामा अलपत्र छन् । यता लिम्पियाधुरा र लिपुलेक रोइरहेको छ !

कोरोना भाईरस (कोभिड -१९) को जोखिमबाट कसरी बच्ने, कसरी बचाउने ? संसार नै अन्योलमा रहेको बेला माथि उल्लेखित काण्डै काण्डमा फसेको हाम्रो राज्यले कसरी पार लगाउला ! बहस यस विषयमा पनि केन्द्रित छन् ।

अहिले सम्म मानिसको वशमा नभएको विपत्तिका रुपमा कोरोना भाईरस आईलागे पनि माथि उल्लेखित अन्य घटनासँग हाम्रो समाज र नेतृत्वको चरित्रको भूमिका प्रष्ट देखिन्छ । यस्ता कुराको कारण पहिचान गरि नछिमले सम्म निर्मुल गर्न सकिँदैन ।

यस्ता अवान्छित घटनाहरूको उर्वर भुमि बन्दै गएको श्रृखलाको ईतिहास लामो छ । यसलाई हाम्रो शिक्षा प्रणालीसँग जोडेर हेर्न सकिएन भने फेरी पनि हामी त्यही दलदलमा फसिरहने निश्चित छ ।
यस्ता घटना किन  हुन्छन् ? हाम्रो शिक्षाले कस्तो जनशक्ति उत्पादन गर्यो ? वर्तमान शिक्षा प्रणाली र  यी घटना बीच के सम्बन्ध छ ? यस आलेखमा यिनै प्रश्नको उत्तर केलाउने प्रयत्न गरिएको छ ।   
शिक्षा औपचारिक, अनौपचारिक र अरीतिक जुनसुकै माध्यमबाट प्राप्त होस् माथिका घटनासँग गाँसिएको हुन्छ । शिक्षाले घटनाको लागि कि  उत्प्रेरित गर्छ कि घटना हुनबाट रोक्छ । घटना हुन उपयुक्त परिवेश आवश्यक हुन्छ । झट्ट हेर्दा घटनाहरू सामाजिक र राजनीतिक प्रकृतिका  देखिन्छन् तर घटना हुनुका पछाडिको  कारण शिक्षासँग जोडिएको  छ । अरस्तुले भनेझैं शिक्षाद्वारा जन्मजात गुणलाई परिवर्तन गर्न नसके पनि व्यक्तिको स्वाभाविक सद्गुणलाई अगाडि ल्याउन सकिन्छ ।

शिक्षाले प्रत्येक व्यक्तिमा समान ज्ञान, सीप र अभिवृत्तिको विकास गर्ने उद्देश्य लिएको छ  । शिक्षाले समानताको  लक्ष्य राखे पनि रूसो, पियरसन र गाल्टनका अनुसार व्यक्तिको  शारीरिक, मानसिक र चारित्रिक भिन्नताको कारण उसको वंशानुक्रम हो । शिक्षा साधन हो । देशमा कस्तो जनशक्ति चाहिन्छ, त्यसको प्रक्षेपण र उत्पादन  गर्ने काम  शिक्षाले गर्छ । हाम्रो शिक्षाले कस्तो जनशक्ति तयार गरे छ ? 

माथिका प्रतिनिधी मुलक घटनाको प्रकृतिबाट प्रष्ट हुन्छ, पसिना चुहाएर कर्म गर्ने किसान र श्रमिक उल्लेखित घटनामा संलग्न छैनन् । घटनाहरू राजनीतिक एवं प्रशासनिक  अगुवा र तिनको संरक्षणमा भएका छन् ।

यस सन्दर्भमा पृथ्वीनारायण शाहाको उपदेश स्मरणीय छ “अन्याय मूलुकमा हुन नदिनु, निञानिसाप विगार्न्या भन्याको घुस दिन्या र घुस षान्या हुन् । ईन दुईको ता धन र जीव गरि लियाको पाप छैन यी राजाका महासतुर हुन् ।

यसले दिएको शिक्षा पनि दुई सय ५० वर्ष भन्दा बढी भइसक्यो । यसबाट कहिल्यै शिक्षा लिन सकिएन । काग कराउँदै छ, पिना सुक्दैछ भने जस्तो भएको छ । शिक्षा  नीतिले आदर्श, नैतिक चरित्रवान्, परिश्रमी, स्वावलम्बी, सिर्जनशील, अरूको असल भावना र विचारको कदर गर्ने, श्रम प्रति आस्थावान् जनशक्ति उत्पादन गर्ने र प्रजातान्त्रिक, न्यायपूर्ण, शोषण रहित समाज निर्माण गर्ने पवित्र उद्देश्य लिएको छ ।

तर, शिक्षाले व्यक्तिको चेतना र व्यवहारमा परिवर्तन गर्न सकेन । शिक्षा   औपनिवेशिक भयो । शिक्षा रोजगारसँग जोडिएन । शैक्षिक क्षति बढ्दै गयो । शिक्षा आयातित  भयो । माटो सुहाउँदो हुन सकेन । शिक्षा अरू देशमा जस्तो छ त्यस्तै हुबहु  नक्कल हुन थाल्यो । समग्रमा शिक्षा मेकाले प्रवृत्तिबाट माथि उठ्न सकेन । शासक वर्गले शिक्षालाई राजनीति टिकाउने दह्रो हतियारको रूपमा मात्र  प्रयोग गरे । उत्पीडित शिक्षा लागू हुन सकेन । वैज्ञानिक शिक्षाको नाममा नैतिक शिक्षा हटाउने काम भयो । शिक्षाको आफ्नोपन  रहेन ।  लगाम विनाको घोडा जस्तै  ।

व्यक्तिले गर्ने  हरेक कार्यहरू व्यक्तिले प्राप्त गरेको शिक्षा र उसको जीवन दर्शनले निर्धारण गर्छ । व्यक्तिको सही पहिचान उसको स्कुलिङ्गबाट होइन, उसले गरेका प्रत्येक कर्मबाट हुन्छ ।
विचारनै चरित्रमा परिणत हुन्छ – इमर्सन ।

फिल्ड लिजिनका अनुसार  वंशानुक्रमबाट प्राप्त जीनहरूले व्यक्तिको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्दछ ।

रबर्ट ओनले भने – मानिसहरू स्वभावतः असल हुन्छन् तर पूँजी पद्धतिले उनीहरूलाई खराब बनाउँछ । धन प्राप्तिका लागि व्यक्तिले अपराध, शोषण, हत्या, हिंसा, भ्रष्टचारको सहायता लिने गर्दछ ।

हिन्दुधर्म शास्त्रमा उल्लेख भष्मासुरको पौराणिक कथा सार्थक बन्यो । मेकियाबेलिको शब्दमा मानिस पापी र दुराचारी, स्वार्थी, भ्रष्टचारी तथा गुटवाज प्रकृतिको हुन्छ । देशमा यही संस्कृति व्याप्त छ । शिक्षाको महत्व हात्तीको  बाहिर देखाउने दाह्रा सरह भयो  । शिक्षा व्यक्तिको बाहिरी शृङ्गार बन्यो । शिक्षा कागजी सर्टिफिेटको रूपमा बाकस भित्र कोचिएर बस्यो । आधुनिक भलाद्मीको चिह्न बन्यो । आज तिनै  शिक्षा दिने निकायहरू घर परिवार, समाज र विद्यालय सब  निकम्मा जस्ता भए । शिक्षा कुशिक्षामा पो परिणत भयो ! शिक्षाको मूल्य रहेन । शिक्षा मर्यो । दर्शन फेल भए । अराजकतावादको जन्म भयो !

शिक्षा नीति निर्माणको मुल आधार राजनीति हो । राजनीतिमा संशोधनवाद हावि भयो । सफेदपोश अपराध संस्कृतिको विकास भयो । नयाँ वुर्जवा वर्ग जन्मियो । राज्य नयाँ वुर्जुवा वर्गको फन्दामा पर्यो  ।

राज्य वुर्जुवाहरूको समिति हो – कार्लमाक्र्सले भने झैँ भयो । 

लुइस अल्थ्यूजरले आधार संरचनाले अधिसंरचनाको निर्धारण गर्छ  भने सरह भयो  । नाजीवाद संस्कार बन्यो । पूर्वीय दर्शनको मुखय ग्रन्थ गीताको कर्मवाद कोमामा पुग्यो । नित्शेले भनेझैं ईश्वर मर्यो । भौतिकवादी जीवन दृष्टि हावि भयो । शिक्षा निरीह भयो ।

लोम्ब्रासो सेजारेको, अपराधी जन्मजात रूपमै हुन्छ । त्यसलाई बनाईंदैन । अधिकांश अपराधको कारण जैविकीय कारणनै हुन्छ । व्यक्तिगत सम्पत्तिको मोह नै अन्याय र अत्याचारको कारण हो भन्ने उक्ति सार्थक भयो ।

राज्यको सरकार प्रायः भ्रष्ट र लालफित्ता शाही हुन्छ भन्ने भनाइ सही ठहरियो । गधालाई धोएर कहिल्यै गाई बन्दैन भन्ने उखान समेत सार्थक भयो । माक्र्सवाद भित्रको पूजीँवादी व्यवहार  र प्रजातान्त्रिक समाजवाद भित्रको पूजीँवादी  व्यवहारले शिक्षालाई ध्वस्त पार्यो । शिक्षाले सामुहिक चेतनामा परिवर्तन गर्न सकेन । अपराध भित्र राजनीतिक संरक्षण रह्यो । शिक्षाले कहिल्यै असल नागरिक  उत्पादन गर्न सकेन ।

वर्तमान शिक्षा प्रणालीको औचित्यता र सान्दर्भिकता प्रति प्रश्न उठ्न थालेको छ । प्रश्न हामीसँग पनि  तेर्सिएको छ । शिक्षाको मृत्यु भइसक्यो । अब शिक्षामा नयाँ रक्त सञ्चार गर्नु पर्छ । शिक्षामा क्यान्सर लागेको छ । शिक्षाले स्वच्छ मनलाई कालो दागै दागले धमिलो बनाइ सक्यो । शिक्षाले असल नागरिक उत्पादन गर्न सकेन । शिक्षा लिनुको अर्थ बुझ्ने बेला आएको छ ।

अब के गर्ने ?

- शिक्षामा अध्यात्यवाद र भौतिकवादको समन्वय हुनुपर्छ ।

- समाज जातीय, भाषीय, क्षेत्रीय, लिङ्गीय र वर्गीय छ । शिक्षा वर्ग समन्वय खोज्छ । यसमा तालमेल मिल्नुपर्छ ।

- नैतिक र नागरिक शिक्षामा जोड जोड दिनुपर्छ ।

- शिक्षामा नयाँ रक्त सञ्चार गर्नु पर्छ । शिक्षाले जैविकीय प्रवृत्ति र साँस्कृतिक मान्यतालाई चिरफार गर्नुपर्छ ।

- शिक्षाले राजनीतिक दर्शनमा  सुधार गर्नुपर्छ । शिक्षा चरित्र प्रधान हुनु पर्छ ।

भट्टराई  माध्यमिक शिक्षक युनियन नेपालका केन्द्रीय अध्यक्ष हुन् ।

प्रतिक्रिया