Edukhabar
सोमबार, ३० असार २०८२
गतिविधि

शिक्षक नियुक्तिमा शतप्रतिशत खुल्लाको माग गर्दै विद्यार्थी सडकमा

कांग्रेसका प्रमुख सचेतक आन्तरिकको अनुपात बढाउन अडान राख्छन्, त्यही दलका विद्यार्थी विरोध गर्दै सडकमा उत्रिन्छन्

सोमबार, ३० असार २०८२

काठमाडौं - विद्यालय शिक्षा विधेयकको छलफलमा शिक्षक नियुक्तिको विषय पेचिलो बनिरहेका बेला सत्ताधारी मुख्य दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठनले शतप्रतिशत खुल्लाको माग गर्दै सडकमा प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ नेपाल कर्मश क्याम्पस एकाईले गरेको प्रदर्शनमा प्रहरीले धरपकड गरेर दर्जनौ विद्यार्थीलाई गिरफ्तार गरेको छ । 

संघका केन्द्रीय सदस्य तथा नेपाल कर्मश क्याम्पसका एकाई अध्यक्ष सरोज तिमिल्सिना, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका निर्वतमान स्ववियु सभापति तथा सिनेट सदस्य श्याम राज ओझा, काठमाण्डौ जिल्ला अध्यक्ष अनसुल केसी, नेपाल कर्मश क्याम्पसका उपाध्याक्ष तथा स्ववियु कोषाध्यक्ष शुशिल खडका, नेपाल इञ्जिनियरिङ्ग कलेजका इकाई कार्यवहाक अध्यक्ष पृथ्वी जंग थापा, नेपाल चार्टर्ड एकाउण्टेण्ट विद्यार्थी संगठनका अध्यक्ष महेन्द्र खडका, उत्सव देवकोटा, रन्विर विष्ट, एलेक्स सिंघानिया सहित विद्यार्थीलाई गिरफ्तार गरिएको संघले जनाएको छ । 

विद्यार्थी नेताहरुलाई गिरफ्तार गर्नु अत्यन्तै निन्दनीय भन्दै संघका अध्यक्ष दुजाङ शेर्पाले गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थीलाई बिना सर्त तुरुन्त रिहा गर्न माग गरेका छन् ।  

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले असार १६ गतेको बैठकमा ७५ /२५ गर्नु पर्ने अडान राखेका थिए । सोही अडानका कारण विधेयक माथिको छलफल नै स्थगित भएको  थियो ।

पढ्नुहोस् : शिक्षा विधेयकमा कांग्रेस बाधक

सरकारले सदनमा पेश गरेको विधेयकमा आन्तरिकमा ५० र खुल्लामा ५० प्रतिशतको प्रस्ताव छ । समितिले गठन गरेको उपसमितिले खुल्लामा ७५ र आन्तरिकमा २५ प्रतिशत गर्नु पर्ने सहमती गरेको थियो ।  तर, कांग्रेसकै सांसदले उक्त सहमती प्रति विमती जनाएपछि विधेयक माथिको छलफल नै पेचिलो बन्दै आएको छ । 

पढ्नुहोस् : ६० / ४० पछि शिक्षक बढुवाको अड्को, सांसदहरु बिच भनाभन

यो लगायत एकाईले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, विद्यार्थीको प्रतिनिधित्व विनै गरिएको त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक अमान्य हुने माग राखेको छ । 

प्रतिक्रिया