Edukhabar
सोमबार, २३ असार २०८२
गतिविधि

६० / ४० पछि शिक्षक बढुवाको अड्को, सांसदहरु बिच भनाभन

शिक्षा विधेयकको सकस : शिक्षक महासंघले शिक्षक बढुवामा आवश्यक पर्ने अंक हटाउन दबाब दिए पछि संसदीय समितिको बैठकमा फेरी बिबाद, भनाभन भएपछि बैठक नै छाडेर हिँडेका सांसद एक घण्टा पछि फर्किए

आइतबार, २२ असार २०८२

काठमाडौं - शिक्षक पदपूर्तिका विषयमा ६०/४० गर्न शिक्षक नेताहरुले सहमती जनाएको दावी गरेको सत्ताधारी दल नेपाली कांग्रेसले शिक्षक बढुवाको विषयलाई अड्को थापे पछि शिक्षा विधेयक माथिको छलफलमा सांसदहरु बिच भनाभन भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आईतबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी सांसद रेखा शर्मा बिच भनाभन भएपछि घिमिरे केही बेर बैठक नै छाडेर हिँडेका थिए । झण्डै एक घण्टा पछि घिमिरे बैठकमा फर्किका थिए ।  

शिक्षक महासंघले शिक्षक बढुवामा आवश्यक पर्ने अंक हटाउन दबाब दिए पछि संसदीय समितिको बैठकमा फेरी बिबाद भएको हो । एमाले सांसद छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिले शिक्षकको आवधिक बढुवा हुन तृतीय श्रेणीको १० वर्ष र दोस्रो तहको १२ वर्षमा हुने प्रावधान प्रस्ताव गरेको छ । यसको लागि शिक्षकले पाँच वर्षमा औषत ९० अंक ल्याउनु पर्ने प्रावधान राखिएकोमा शिक्षक महासंघले अंक हटाएर तोकिए बमोजिम राख्नु पर्ने भन्दै सरकारलाई दबाब दिएपछि समितिको आइतबारको विधेयक पारितको कार्यसूची नै प्रभावित भएको हो । 

कांग्रेस सांसद घिमिरेले बैठकको सुरुवातमा बैठक स्थगितको प्रस्ताव गरेका थिए । यसमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले समर्थन जनाउँदै अझै छलफल गर्न समय माग गरेका थिए । 

यो बैठक बस्नु अघि परामर्श समितिको बैठक बसेको थियो । बैठकमा शिक्षा मन्त्रीले ८० अंकको प्रस्ताव ल्याएका थिए भने समिति सभापति थापाले ८५ अंक राख्नु पर्ने प्रस्ताव ल्याएका थिए । कांग्रेस सांसद घिमिरेले भने शिक्षकको माग अनुसार नै तोकिए बमोजिम राखेर सरकारले पछि नियमावली बनाउने क्रममा समावेश गर्ने गरी सहमती जटाउनु पर्ने प्रस्ताव गरेका थिए ।

गत १६ गतेको बैठकमा शिक्षक पदपूर्तिको विषयमा घिमिरेले नै अड्को थापे पछि बैठक स्थगित गरिएको थियो । आईतबारको बैठकको शुरुमै शिक्षक पदपूर्तिका विषयमा ६०/४० गर्न शिक्षक नेताहरुले सहमती जनाएको दावी गरेका थिए । तर, ६०/४० को विषय टुङ्ग्याउदै गर्दा बढुवाको विषय मान्नु पर्ने उनको कुरा पछि बैठकमा एक किसिमको तनाव सृजना भएको थियो । घिमिरेलाई सभापति थापाले दलको प्रमुख सचेतकको रूपमा बोल्न दिएको भन्दै सांसद शर्माले असन्तुष्टि जनाएकी थिईन् । त्यसपछि समिति सभापति थापाले आफूले समिति सदस्य भन्नु पर्नेमा झुक्किएर प्रमुख सचेतक भनेको भन्दै माफी मागेका थिए ।

तर, सांसद शर्माले कुनै दलको प्रमुख सचेतकको ह्विप मान्न आफू तयार नभएको भन्दै आपत्ति जनाईन् । घिमिरेले आफूलाई अपमानित गरेर बोलेको भन्दै गुनासो गरे । 

त्यस अघि नै घिमिरेले केही विषयमा शिक्षक महासंघसँग अझै छलफल गर्नुपर्ने भएको बताएका थिए । 

'हामीलाई कुनै दलको ह्विप लगाउने काम नहोस् । हामी कसैको ह्विप मान्न तयार छैनौँ'  शर्माले भनिन् । 

यही गरमागरमका बिच घिमिरे आफ्नो फरक मत रहेको भन्दै बैठक छाडेर हिँडेका थिए ।

बैठकमा सांसदले व्यक्त गरेका धारणा पढ्नुहोस् : शिक्षक महासंघ ६०/४० मा सहमत : कांग्रेस प्रमुख सचेतक

प्रतिक्रिया