Edukhabar
शुक्रबार, २७ असार २०८२
विचार / विमर्श

गम्भिर संकटको भूमरीमा शिक्षण पेशा

सन्दर्भ गुरु पूर्णिमा : आत्मसमीक्षा गर्ने अवसर, शिक्षक बन्ने चाहना र पेशाको गरिमा जोगाउन नसकिए शिक्षाको स्तम्भ नै कमजोर हुँदै जाने निश्चित

विहीबार, २६ असार २०८२

गुरु पूर्णिमा नेपाली समाजमा श्रद्धा, शिक्षाको मूल्य र संस्कारको प्रतीक पर्व हो । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश जनाउने भएकाले अज्ञानताको अन्धकार हटाएर ज्ञानको उज्यालो फैलाउने व्यक्तिलाई गुरु भनिन्छ । यही दिन वेदव्यासको जन्मजयन्ती पनि मनाइन्छ, जसले हिन्दु धर्म शास्त्र वेदहरूलाई वर्गीकृत गरी अठार पुराण, उपपुराण र महाभारतजस्ता ज्ञान संग्र्रहको रचना गरेर मानव समाजलाई मूल्य–केन्द्रित शिक्षाको दिशा देखाए । नेपाली हिन्दु सांस्कृतिक परम्पराले शिक्षकलाई केवल ज्ञानदाता होइन, त्रिदेवको प्रतीकका रूपमा आदर गरेको छ—‘गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर’ भन्ने वैदिक मन्त्रोच्चारण, वा ‘आचार्यदेवो भव’ जस्ता सन्देशले यसको पुष्टि गर्छ । विगतमा शिक्षकहरू विद्यालय मात्र नभई गाउँ–समुदायमा नैतिकता, अनुशासन, सामाजिक न्याय र संस्कारका मूर्त प्रतीक थिए, जसले समाजमा चेतना र परिवर्तन ल्याउने नेतृत्वदायी भूमिका खेलेका थिए ।

तर, आजको परिवर्तित सामाजिक सन्दर्भमा गुरु–शिष्य सम्बन्धको आत्मीयता र शिक्षाको मूल उद्देश्य कमजोर हुँदै गएको छ । वर्तमान नेपालको शिक्षा प्रणाली केवल ज्ञान हस्तान्तरण र परीक्षा केन्द्रित मूल्याङ्कनमा सीमित हुँदै गएको छ, जसले शिक्षा प्रणालीको आत्मा खोसिएको अनुभूति दिलाएको छ । शिक्षाले संस्कार, मानवता, अनुशासन, सामाजिक उत्तरदायित्व जस्ता आधारभूत मूल्यहरू बोेकेर अघि बढ्नुपर्ने हो, तर व्यवहारमा शिक्षकहरू अस्थायी, उपेक्षित र कम मूल्याङ्कन गरिने अवस्थाको शिकार छन् । समाजको शिक्षकप्रतिको दृष्टिकोणमा आएको गिरावट, नीतिगत असमञ्जसता र मूल्य–संवेदनशीलताको ह्रासले शिक्षाको सुदृढीकरणमा गम्भीर अवरोध पुर्याएको छ । यस्तो त्रिकोणीय संकटको सामना गर्न गुरु पूर्णिमा जस्ता दिनले परम्पराको मात्र स्मरण नभई शिक्षा प्रणालीको आत्मा खोज्ने गहिरो आत्मपरीक्षणको अवसर बन्नुपर्छ ।

वर्तमान नेपाली शिक्षण पेशा गम्भिर संकटको भूमरीमा परेको छ । शिक्षकहरू विभिन्न प्रकृतिका नियुक्ति, न्यून पारिश्रमिक, तालिमको अभाव, पदोन्नतिमा अन्याय र राजनीतिक हस्तक्षेपका कारण पेशागत निराशामा छन् । शैक्षिक नीति र संरचना शिक्षकमैत्री नभएपछि उनीहरूको मनोबल लगातार कमजोर हुँदै गएको छ, जसको प्रत्यक्ष असर शिक्षाको गुणस्तरमा देखिन थालेको छ । यस्तो अवस्थामा शिक्षण सेवा नभएर संघर्ष, असुरक्षा र व्यवस्थागत अन्यायको पर्याय बन्न पुगेको छ । विगतमा समाजले शिक्षकलाई श्रद्धा, अनुशासन र संस्कारका प्रतीकका रूपमा हेर्ने परम्परा बनाएको थियो, तर आजको समाजमा उनीहरूलाई परीक्षा परिणामका आधारमा मूल्याङ्कन गरिने सेवाप्रदायकको रूपमा हेर्ने प्रवृत्तिबढेको छ । यसले शिक्षकको सामाजिक गरिमा घटाइरहेको छ, जसको प्रभाव शिक्षक–विद्यार्थी सम्बन्धमा आएको दरारले शिक्षणको आत्मीयता, प्रेरणा र प्रभावकारितामा प्रत्यक्ष क्षति पुर्याइरहेको छ ।

शिक्षकहरू शिक्षणका लागि आवश्यक स्रोत, प्रविधि र अनुकूल वातावरणको अभावमा काम गरिरहेका छन् । गुणस्तरीय तालिम, पारदर्शी मूल्याङ्कन र निष्पक्ष पदोन्नति प्रणाली नहुँदा उनीहरू निरन्तर पेशागत विकासबाट वञ्चित छन् । अर्कोतर्फ पाठ्यक्रमले स्थानीय सन्दर्भ, संस्कृति, भाषा र समाजका मूल्यहरूलाई समेट्न नसक्दा शिक्षण सिकाइ विद्यार्थीको जीवन अनुभवसँग असम्बद्ध र निरस बन्न पुगेको छ । यस्तो संरचनागत कमजोरीले न शिक्षकमा प्रेरणा दिन सक्छ, न विद्यार्थीमा व्यवहारिक दक्षता र मूल्य चेतना विकास गर्न सक्छ । समाजले शिक्षकप्रतिको आदर्श दृष्टिकोण विस्मरण गर्दा शिक्षकहरू पनि सामाजिक नेतृत्व र संस्कारका संवाहक बन्ने भूमिकाबाट पछि हट्दै, पेशागत चक्र भित्र मात्रै सीमित हुँदै गएका छन् । दीर्घकालमा यस्तो अवस्थाले शिक्षा प्रणालीको आत्मा नै मरेको जस्तो अवस्था सिर्जना गर्ने खतरा बढ्दै गएको छ ।

विगतमा गुरु–शिष्य सम्बन्ध केवल ज्ञानको आदानप्रदानमा सीमित थिएन । त्यो सम्बन्ध श्रद्धा, आत्मीयता, अनुशासन र नैतिक शिक्षामा आधारित थियो । तर आजको प्रतिस्पर्धी शिक्षा प्रणालीले यो सम्बन्धलाई अंक, श्रेणी, परीक्षा र परिणामको घेरामा सीमित गरिदिएको छ । शिक्षण र सिकाइको प्रक्रिया अब यान्त्रिक, औपचारिक र लक्ष्य–केन्द्रित बनेको छ, जसले शिक्षालाई मानवीय सम्बन्धबाट टाढा पुर्याएको छ । परस्पर विश्वास, सम्मान र संवादको कमजोर जगले सिकाइको आत्मा कमजोर बनाउँदै लगेको छ, जसले दीर्घकालमा शिक्षा प्रणालीको प्रभावकारिता र सामाजिक उद्देश्यमै प्रश्न उठाउने अवस्था सिर्जना गरेको छ ।

आजको युवापुस्ता शिक्षण पेशाप्रति आकर्षित नहुनु गम्भीर चिन्ताको विषय बनेको छ । अल्प पारिश्रमिक, अस्थायीत्व, पेशागत असुरक्षा, र सामाजिक प्रतिष्ठाको ह्रासले शिक्षण पेशालाई सम्भावनाहीन क्षेत्रको रूपमा चित्रित गरिरहेको छ । नीतिगत अस्पष्टता र सम्मानको अभावले गर्दा अब योग्य, प्रतिभाशाली र दूरदर्शी सोच भएका युवाहरू अन्य पेशाहरूमा आकर्षित भइरहेका छन् । यस्तो अवस्थाले निकट भविष्यमा शिक्षा क्षेत्रमा योग्य जनशक्तिको संकट निम्त्याउने प्रस्ट सङ्केत देखिएको छ । शिक्षक बन्ने चाहना र पेशाको गरिमा जोगाउन नसकिए शिक्षाको स्तम्भ नै कमजोर हुँदै जाने निश्चित छ, जसको प्रत्यक्ष असर सिकाइको गुणस्तर, सामाजिक नेतृत्व र संस्कृतिक उत्तराधिकारमा पर्नेछ ।

नेपालको वर्तमान शिक्षा प्रणालीले विषयगत ज्ञानमा जोड दिएको भए पनि नैतिकता, सहिष्णुता, करुणा, अनुशासन, शिष्टाचार र सामाजिक जिम्मेवारीजस्ता जीवनोपयोगी मूल्यहरूलाई पाठ्यक्रमबाट लगभग विस्थापित गरेको देखिन्छ । परिणामस्वरूप, शिक्षित पुस्ता व्यवहारमा संस्कारहीन, आत्मकेन्द्रित र असंवेदनशील बन्न थालेको चिन्ताजनक अवस्था देखिएको छ । शिक्षाले केवल रोजगारीको माध्यम होइन, समाज र संस्कृतिको संवाहकको रूपमा काम गर्नुपर्छ भन्ने चेतना हराउँदै गएको छ । पाठ्यपुस्तकहरूमा स्थानीय सन्दर्भभन्दा विदेशी सन्दर्भको हावीले विद्यार्थीलाई आफ्नै समाज र संस्कृतिबाट विमुख गराउँदै राष्ट्रिय पहिचानमाथि संकट उत्पन्न गरिरहेको छ । यस्तो वैदेशिक अन्धानुकरणले दीर्घकालीन रूपमा राष्ट्रिय चेतना, सामाजिक एकता र संस्कृतिक संरक्षणलाई कमजोर पार्दै, शिक्षालाई आत्मविहीन बनाइरहेको छ ।

वर्तमान नेपाली शिक्षा प्रणालीमा वैदेशिक विशेषतः पश्चिमी शिक्षा अभ्यासको अनुकरण दिन–प्रतिदिन तीव्र हुँदै गएको छ । तर, यो अनुकरण आलोचनात्मक मूल्याङ्कनविना गरिएको हुँदा यसको असर हाम्रो मौलिक संस्कार र मूल्य प्रणालीमा प्रत्यक्ष देखिन थालेको छ । विद्यार्थी अब नेपाली संस्कार, भाषा र परम्पराभन्दा 'ग्लोबल ट्रेण्ड' प्रति बढी आकर्षित छन्, जसले उनीहरूलाई आफ्नो पहिचानभन्दा बाह्य देखावटीपनमा केन्द्रित बनाइरहेको छ । यसले पारिवारिक सम्बन्ध, सामुदायिक उत्तरदायित्व, करुणा, सहअस्तित्व, र सामाजिक संवेदनशीलतामा गम्भीर ह्रास ल्याएको छ । यस्तो सांस्कृतिक विचलनले शिक्षालाई राष्ट्र निर्माणको औजारको सट्टा, सांस्कृतिक विस्मरणको माध्यम बनाइरहेको छ ।
फिनल्याण्ड, सिंगापुर, जापान र दक्षिण कोरियामा शिक्षण सबैभन्दा सम्मानित पेशाको रूपमा चिनिन्छ । त्यहाँ शिक्षक बन्ने कठोर छनोट प्रक्रिया छ, तर नियुक्ति पछि उनीहरूलाई उच्च पारिश्रमिक, पेशागत स्वतन्त्रता, निरन्तर तालिम र नीति–निर्माणमा समेत सहभागिता सुनिश्चित गरिन्छ । शिक्षालाई ती देशहरूले आफ्नो राष्ट्रिय प्रगतिको मेरुदण्ड ठानेका छन् । यसको विपरीत, नेपालमा शिक्षकहरू अस्थायीत्व, न्यून तलब, तालिम अभाव र राजनीतिक हस्तक्षेपको शिकार बनेका छन् । शिक्षा नीति शिक्षकमैत्री नभएकोले यहाँको शिक्षा प्रणाली न त गुणस्तरीय छ, न त प्रेरणादायी । यो अन्तर्राष्ट्रिय तुलनाले स्पष्ट देखाउँछ कि शिक्षाको विकास सम्भव हुन शिक्षकको हैसियत सामाजिक, पेशागत र नीतिगत रूपमा सुदृढ पार्न अत्यावश्यक छ ।

नेपालको शिक्षामा सुधार ल्याउन केवल नारात्मक घोषणाहरू पर्याप्त छैनन् । यसको लागि दीर्घकालीन सोच, व्यवहारिक नीति र दिगो कार्यान्वयनको आवश्यकता छ । शिक्षकलाई राष्ट्रनिर्माणको मूलशक्ति मान्ने हो भने उनीहरूलाई गुणस्तरीय तालिम, पारदर्शी मूल्याङ्कन, निष्पक्ष पदोन्नति र प्रेरक कार्य वातावरण आवश्यक छ । हाल शिक्षा नीतिहरू यथार्थमा कार्यान्वयन हुन नसकेको, योजनाहरू कागजमै सीमित भएको र शिक्षण पेशालाई उपेक्षित राखिएको अवस्थाले शिक्षकको मनोबल खस्किएको छ । यस्तो अवस्थामा शिक्षालाई सुदृढ बनाउन सकिँदैन । शिक्षक सशक्त नभई शिक्षा सबल हुँदैन भन्ने कुरा नीति निर्माणमा मात्र होइन, शैक्षिक व्यवहार र कार्यशैलीमा पनि स्पष्ट झल्किनुपर्छ । त्यसैगरी, नेपालको बहुजातीय र बहुसांस्कृतिक संरचनालाई सम्बोधन गर्न शिक्षा प्रणालीले ज्ञान मात्र होइन, संस्कार, परम्परा, सामाजिक सहिष्णुता र मानवताको शिक्षा समेत दिनु  आवश्यक छ । संस्कार विहीन शिक्षाले आत्मकेन्द्रित, असंवेदनशील र मूल्यहीन पुस्ता उत्पादन गर्ने सम्भावना बढाउँछ ।

शिक्षाको लक्ष्य केवल बौद्धिक विकासमा सीमित हुन हुँदैन । शिक्षाले व्यक्तित्व निर्माण, सामाजिक जिम्मेवारी, मानवता र राष्ट्रप्रेमको चेतना पनि दिनुपर्छ । यस दिशामा शिक्षकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ, किनभने उनीहरू पाठ्यपुस्तकका मात्र ज्ञानदाता होइनन्, जीवन मूल्यका संवाहक पनि हुन् । शिक्षकको आचरण, बोली, सोच र व्यवहार स्वयं शिक्षाको जीवित पाठशाला हो । यदि शिक्षक अनुशासित, मूल्य–संवेदी र सामाजिक रूपमा उत्तरदायी छन् भने उनीहरूले संस्कारयुक्त, समावेशी र सामाजिक दृष्टिले सचेत पुस्ता निर्माण गर्न सक्छन् । यस्ता विद्यार्थीले राष्ट्रको समृद्धि, सामाजिक एकता र मानवतामूलक समाज निर्माणमा योगदान पुर्याउँछन् । त्यसैले शिक्षालाई मूल्य–आधारित, संस्कार–समावेशी र शिक्षक–केन्द्रित बनाउने दीर्घदृष्टिवादी नीति आजको राष्ट्रिय आवश्यकता हो ।

गुरु पूर्णिमा केवल श्रद्धा प्रदर्शनको दिन होइन, यो शिक्षा प्रणाली र शिक्षकको स्थिति प्रति आत्मपरीक्षण गर्ने गहिरो अवसर हो । आज शिक्षण पेशा सम्मान भन्दा बढी संघर्षको प्रतीक बनेको छ । नीति–निर्माणमा शिक्षकको आवाज सुन्ने वातावरण छैन र समाजले पनि शिक्षकलाई परिणाममा मात्रै तौलन थालेको छ । यस्तो अवस्थामा, न शिक्षकले प्रेरणा दिन सक्छन् न विद्यार्थीले श्रद्धा लिन सक्छन् । गुरु पूर्णिमाको सन्देश यही हो—शिक्षक र समाजले परस्पर समर्पण, सम्मान र सहकार्यको भावना विकसित गर्दै शिक्षा प्रणालीमा रूपान्तरण 

साउद, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् । 

प्रतिक्रिया