वैकल्पिक उपाय नखोजी सुखै छैन, गर्ने अरुले हैन शिक्षकले नै हो


सम्पादकीय नोट : कोभिड - १९ को संकट सँगै प्रविधि प्रयोगबाट शिक्षण गर्ने विषय जोडतोडले उठेको छ । विद्यालयमा ईण्टरनेटको पहुँच र आवश्यक भौतिक पुर्वाधार यसको मुख्य सर्त हो । यो भन्दा पहिले शिक्षण सिकाइका मुख्य कर्ता शिक्षकलाई सक्षम बनाउन वा उनीहरु सक्षम हुन जरुरी छ । तसर्थ बदलिदों शिक्षण शैलीका लागि के गर्न जरुरी छ ? के गर्न सक्छन् शिक्षकले ? भन्ने सवालमा संसारमा भईरहेका अभ्यास, देशमै अपनाईएको शैली र विषय विज्ञका धारणालाई सन्दर्भ अनुसार आलेख वा भिडियोका रुपमा प्रकाशन प्रशारण गर्ने गरी यो स्तम्भ शुरु गरिएको हो ।

त्यसो त शिक्षक समय अनुसार अपडेट हुनु जरुरी छ, अर्थात् शिक्षकको सक्षमता विद्यार्थीको सिकाइसँग अन्तर सम्बन्धित छ भन्ने वित्तिकै आरोप लगाएको रुपमा बुझ्ने शिक्षकको संख्या ठूलो छ । यही भिडमा केही शिक्षक विद्यमान चुनौती सामाना गर्दै शिक्षणमा केन्द्रित छन् । यस्तै मध्येका एक हुन् गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालय, धनकुटा - ५ का गणित शिक्षक गोपाल राई, यो साता राईले अपनाएको शैली र अनुभव :

कोरोना भाइरस कोभिड १९ ले धन, जन, शैक्षिक ,आर्थिक सबै क्षेत्रमा नै प्रत्यक्ष प्रभाव पारेको छ । अहिले संसार भर नै लकडाउनलाई यो रोक्नको लागि उत्तम उपायको रुपमा मानिएको छ । सामान्य अवस्था हुन्थ्यो भने नयाँ शैक्षिक सत्र शुरु भएको डेढ महिना वितिसकेको हुन्थ्यो । तर, आज सम्म नयाँ शैक्षिक सत्र कहिलेबाट र कसरी शुरु हुने भन्ने यकिन भएको छैन । विद्यार्थी घरमै थुनिन वाध्य भएका छन् ।

विद्यालयमा सिक्ने ज्ञान, विद्यालय जाँदा, आउँदा गर्ने रमाइलो, साथीहरुसंग खेल्ने, उफ्रने कार्य एउटा बन्द कोठा वा सिमित क्षेत्रमा खुम्चिएको छ । यसबाटै बुझ्न सकिन्छ चञ्चल उमेरका बालबालिका कति सम्म कठिनाईमा दिन विताइरहेका छन् ।

नयाँ शैक्षिक सत्र कहिलेबाट गणना गर्ने, कक्षा कहिलेबाट शुरु गर्ने भन्ने प्राविधिक पक्ष भए । यो हुँदै गर्ला । तर, बालबालिकाको सिक्ने उमेर त रोकिदैँन !

त्यसो हो भने कसरी सिकाउने त ?

अब विद्यार्थीलाई सिकाउनको लागि वैकल्पिक उपायहरुको खोजी नगरी सुखै छैन ।

हो, यो काम कठिन छ, हामी सँग पर्याप्त भौतिक पूर्वाधार र सीप पनि छैन । तर, यो संकटले हामीलाई सुचना प्रविधिका साधनहरुको उचित रुपमा प्रयोग गर्ने अवस्थामा ल्याई पुर्याएको भने सत्य हो ।  
शिक्षकहरु सिर्जनशील बन्ने समय आएको छ । अहिले विकसित देशहरुले विद्यार्थीलाई सिकाउनको लागि सजिलो हुने गरी विभिन्न एप्सहरु निर्माण गरेका छन् । ती मध्ये आफुलाई अनुकुल हुने एप्सको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलापलाई अघि बढाउन सकिन्छ ।

हाम्रा अघिल्तिर जुन प्रकारका प्रविधि छन्, साधन छन्, समय छ, जे छ त्यो बाट सिकाइ निरन्तरता नै आजको आवश्यकता हो । कतिपय ठाउँमा फोन मात्रै पनि हुन सक्ला, त्यहाँ अभिभावकलाई सम्पर्क गरेर सिकाइसँग जोड्न सकिन्छ । कतिपय ठाउँमा विद्यार्थीको घरमै पनि पुग्न सकिएला ! जे सहज हुन्छ त्यो गर्न आवश्यक छ, यो गर्ने अरुले हैन शिक्षक ले नै हो ।

यही सोचेर मैले उपलब्धताका आधारमा केही कार्य अघि बढाएको छु । जुन अन्य ठाउामा पनि प्रयोग हुन सक्छ ।

मैले कक्षा दशका विद्यार्थीलाई गणित विषय सिकाउनको लागि दुइ वटा माध्यमहरुको अवलम्वन गरेको छु । पहिलो गुगुल क्यासरुमको प्रयोग गरेर उनीहरुलाई विषयवस्तुको स्क्यान इकपी र उत्तर पठाइदिन्छु । उनीहरुले समाधान गर्दछन् र नआएको भए पुनः इमेल मार्फत यति नम्वर प्रश्नको समाधान गर्न सकिएन भनी पठाउँछन् र समाधान गरी पुन: पठाउने गर्दछु । यो शिक्षक र विद्यार्थीबीचको इन्टरफेस हो ।

दोस्रो जुम एम्सको प्रयोग गरेर उनीहरुसंग लनलाइनमा कुरा गर्छु । उनीहरु एक अर्कामा देखिने साथै शिक्षक पनि देखिने हुनाले कक्षा कोठाको अनुभुति हुन्छ । एक आपसमा पनि कुरा गर्न पाउने साथै नआएको कुरा शिक्षकलाई सोध्दा सबैले सुन्ने र समाधान गर्दा पनि सबैले हेर्न पाउने भएकोले गर्दा वर्तमान अवस्थामा यो शैक्षिक क्षेत्रमा अत्यन्तै उत्तम शिक्षण क्रियाकलाप संचालनको रुपमा लिन सकिन्छ ।

तर यसका केही चुनौती पनि छन् :

१. प्रमुख समस्या भनेको ईण्टरनेटको उपलब्धता नै हो । सबैको घरमा वाइफाइ जोडेको हुँदैन । मोवाइल भएता पनि वाइफाइ सुविधा नभए पछि सम्पर्क नै गर्न सकिदैन । वाइफाइ भएकोमा पनि कमजोर शक्ति भएको कारण राम्ररी सम्पर्क गर्न सकिदैन ।

२. सबै विद्यार्थीसंग मोवाइल फोन तथा ल्यापटप वा डेस्कटप कम्प्युटर नहुन सक्छ । आमा बाबु तथा दाजु दिदीहरुको मागेर चलाउनु पर्ने हुनाले भनेको अवस्थामा प्रयोग गर्न नपाउन सक्छन् ।

३. विद्युत आपुर्तिमा समस्या आइरहन्छ ।

४.सबै शिक्षकहरु प्रविधि प्रयोगमा अभ्यस्त नभएको वा रुची नभएको पाि हुन सक्छन् । हामी शिक्षकहरुलाई पनि यस्तो लामो समयसम्म लकडाउन हुन्छ भन्ने हेक्का कहिल्यै भएन र प्रविधि सिक्न ध्यान दिएनौं र विद्यार्थीलाई पनि मोवायल चलाउन सिकाएनौं, अब अहिले हामी दुवै उस्तै नै जस्तो भएका छौं । ज्ञान भनेको चाहेको बेलामा एकै पटक थुपारिएर हुँदैन । ज्ञान जहिले पनि क्रमशः अनि निरन्तर रुपमा सिकिने प्रक्रिया हो । तर , धन अकस्मात पनि प्राप्त भएर अत्यन्तै गरिव अत्यन्तै धनी बन्न जान्छ । ज्ञान त्यसो हुदैन ।

५. राज्यले दुरशिक्षाको नाममा उदाहरणीय तरिकाले कक्षा संचालन गर्न सकेन । यदि सकेको भए ती उपकरणहरुलाई तरुन्तै प्रयोगमा ल्याउन सकिन्थ्यो ।

उपाय के हुन सक्छ ?

१.विद्यालय तहका विद्यार्थीलाई आफ्नै शिक्षक तथा सोही समाजका व्यक्तिहरुबाट सिकाउँदा मात्र बुझ्ने गर्दछन् । किन कि व्यक्तिहरुमा  समाज अनुसारको बोली, शैली, प्रस्तुती गर्ने तरिका, शब्दको उच्चारण, उदाहरणको प्रस्तुती आदिमा फरक फरक हुन्छ । तसर्थ एउटै गाउँपालिका वा नगरपालिका भित्रका विद्यालयहरुमा साझा कार्यक्रम बनाएर एफ.एम. तथा विद्युतीय साधनको प्रयोग गरी शिक्षण गर्नु पर्छ ।

२.सरकारले  ईण्टरनेट डाटा प्रदायकहरुलाई आवश्यक मात्रमा कर छुट गरिदिने साथै विद्यार्थीलाई सहुलिय रुपमा सस्तो डाटा उपलब्ध गराएर पनि नेट कनेक्सन गरी अध्ययनलाई अघि बढाउन सकिन्छ ।

३.वाइफाई सेवालाई केही निश्चित घरहरुको लागि छुटयाएर पनि सञ्चालन गर्न सकिन्छ ।

४.नेपाल सरकारले शैक्षिक एप्सहरु निर्माण गरेर निशुल्क रुपमा विद्यालय तथा स्थानीय निकायहरुमा प्रयोग गर्न दिनु पर्छ ।

५.कोरोना संक्रमित नभएको जिल्लाहरुमा अन्य जिल्लासंग नाका बन्द गरेर पनि विद्यालयहरु सञ्चालन गर्न सकिन्छ ।

भनिन्छ संकट सँगै सामाधानको उपाय पनि आउँछ, तर त्यसलाई पहिचान गर्ने र तदनुरुप प्रभावकारी कार्य सञ्चालन गर्ने मुख्य कुरा हो । कतिपय कुरा त गर्दै गए पछि सुधार हुँदे जाने पनि हुन्छन् । तर, केही छैन, केही गर्न सकिँदैन भनेर बस्नु भनेको शिक्षकले आफ्नो भूमिका विर्सनु मात्रै हैन बालबालिका माथि अन्याय पनि हो । तसर्थ जहाँ जे तरिकाले सकिन्छ सिकाइका लागि जुट्न ढिलो गर्न हुँदैन । 

  राई, गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालय, धनकुटा - ५ का गणित शिक्षक हुन् ।