Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

बजेटमा शिक्षा : तेश्रो बर्ष पनि पुरा भएन प्रतिवद्धता

विहीबार, १५ जेठ २०७७

काठमाडौं - सत्तामा जानु अघि आफैले गरेको प्रतिवद्धता विपरित सरकारले शिक्षा बजेट तर्जुमा गरेको छ । लगातार तीन बर्ष बजेट निर्माण गर्न पाएको सरकारले यस बर्ष पनि सत्तामा जानु अघि आफैंले गरेका प्रतिवद्धता पुरा नगरेर शिक्षा प्रतिको उदासिनतालाई निरन्तरता दिएको छ ।  

चुनावमा जानु अघि तत्कालिन बाम गठबन्धनले जारी गरेको घोषणा पत्रमा शिक्षामा कुल बजेटको कम्तिमा २० प्रतिशत तर्जुमा गर्ने प्रतिवद्धता छ । त्यस यता तीन बर्ष लगातार बजेट निर्माण गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा प्रस्तुत गरेको आगामी बर्षको बजेटमा शिक्षाका लागि कुल बजेटको जम्मा ११ दशमलब ६४ प्रतिशत मात्रै विनियोजन गरेका छन् ।

घोषणा पत्रका आधारमा चुनाव जितेर आफैंले नेतृत्व गरी तर्जुमा गरेको तेश्रो बर्षको बजेटमा पनि सरकारले उक्त प्रतिवद्धता अलपत्रै पारेको छ । आगामी बर्षका लागि तर्जुमा गरिएको कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेटमा शिक्षाका लागि १ खर्ब ७१ अर्ब ७१ करोड मात्रै विनियोजन गरिएको छ ।

विगत दुई बर्षको तुलनामा यस बर्ष प्रतिशतमा केही बृद्धि देखिए पनि कोरोना भाईरस कोभिड १९ का कारण शिक्षा क्षेत्रमा आईपरेको संकट सम्बोधन गर्न बजेट चुकेको छ । कोभिडका कारण पठन पाठनमा सृजना भएको अवरोधलाई दृष्टिगत गरी, भर्चुअल कक्षा अनलाईन शिक्षा तथा टेलिभिजन तथा रेडियो मार्फत नयाँ शैक्षिक बर्षको पठन पाठन अघि बढाउने उल्लेख भए पनि बजेट तोकेर तर्जुमा गरिएको छैन । यसले जारी संकट समाधान तर्फ केन्द्रित नभएको पुष्टि गरेको छ ।

सार्वजनिक शिक्षा प्रणाली सुदृढ गर्ने तर्फ बजेट बृद्धि गर्नुको साटो सामुदायिक विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई दिने सरकारले घोषणा गरेको छ ।

पढ्नुहोस् : सामुदायिक विद्यालय सुधार्ने जिम्मा निजीलाई ! शिक्षक अभाव हटाउन ६ हजार स्वयं सेवक

विगत दुई बर्षको शिक्षा बजेट तर्जुमा गर्दा पनि सरकारले सत्तामा पुग्नु अघि आफैंले गरेको घोषणा अलपत्र पारेको थियो । आर्थिक बर्ष २०७५ ७६ को १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैंयाको बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि जम्मा १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख विनियोजन गरिएको थियो । जुन कूल बजेटको १० दशमलब २ प्रतिशत मात्रै हो । यस्तै गत अर्थिक बर्षमा कूल १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेटमा शिक्षा क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ७६ करोड रुपैंया मात्रै विनियोजन गरिएको छ । जुन कूल बजेटको १० दशमलब ६८ प्रतिशत मात्रै थियो ।

चालु आर्थिक वर्ष २०७६ / ७७ का लागि खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याईएकोमा यो बर्ष बजेटको आकार घटाईएको छ । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्था तर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको खतिवडाले बताए । बजेटको स्रोत व्यवस्थापनमा आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब, राजश्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने बजेटमा उल्लेख छ ।

बजेटमा शिक्षा : पर्यटन विश्वविद्यालय, मावि तह माथिको पाठ्यक्रममा पर्यटन विषय

प्रतिक्रिया