Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्री चक्रव्युहमा, सुरक्षित फर्किन शुभकमाना

शनिबार, २४ जेठ २०७७

काठमाडौं - बजेट निर्माणको बेला शिक्षा मन्त्री चक्रव्युहमा फसेको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेस सांसद प्रदीप गिरीले सुरक्षित फर्किन शुभकमाना दिएका छन् । बजेटका विषयमा संसदमा जारी मन्त्रालयगत छलफलमा भाग लिदैं गिरीले शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा केन्द्रित भएर कोरोना संकटलाई अवसरमा बदल्ने मौका सरकारले गुमाएको भन्दै आलोचना गरे ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक शिक्षा सुधारको जिम्मा निजी विद्यालयलाई दिने बारेमा बजेटमा उल्लेख कार्यक्रम आफूलाई थाहै नदिई आएको सार्वजनिक गरिसकेका छन् । आफ्नो मन्तव्यमा पोखरेलको नाम उल्लेख नगरे पनि गिरीले पोखरेललाई प्रतिवद्ध मन्त्रीको संज्ञा दिएका थिए ।

'क्रान्तिकारी कृषि मन्त्री प्रतिवद्ध शिक्षा मन्त्री तपाईंहरुले यस प्रस्तुतीलाई प्रतिरोध गरेर पहिलो पटक शिक्षा र कृषिको महत्व बताएको अनुभूति मात्रै बजेटमा दिनु होला भन्ने आशा थियो'  उनले भने 'तपाईहरु दुवैलाई यस चक्रव्यूहबाट सुरक्षित फर्कनु होला भन्ने शुभकामना छ ।'

कृषि मन्त्री घनश्याम भुषालले कुरा गरे जस्तो काम गर्न सजिलो नभएको बताएको खबर सार्वजनिक भएको थियो । उक्त खबर प्रति संकेत गर्दै गिरीले अधिकाँश समय भुषालको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । काँग्रेसबाट कुनै समय कृषि मन्त्री भएकी स्व. शैलजा आचार्यको दृष्टान्त दिदैं उनले अभिमन्यु चक्रव्युहमा प्रवेश गरेझैँ शिक्षा र कृषि मन्त्री पनि एउटा तन्त्रमा प्रवेश गरेको उल्लेख गरे ।

'मन्त्री भए पछि के के न गरुँला भनेको केही पनि गर्न सकिने रहेनछ भन्नु भएको छ’ अप्ठेरोमा परेको भन्ने कृषि मन्त्रीको आत्मानुभुतिका लागि धन्यवाद भन्दै गिरीले भने, 'तपाईंले जस्तै दुस्साहस एक जना पूर्वामन्त्री शैलजा आचार्यले संसदीय फोरमबाट गर्नुभएको थियो र कडा मूल्य तिर्नु भएको थियो ।’

बजेटमा उल्लेख विषयले आँफूलाई निराश बनाएको भन्दै उनले चक्रव्युहमा परेकाहरुलाई त्यसबाट सुरक्षित सँग फर्किन शुभकमाना पनि दिएका छन् । कोरोना संकटलाई अवसरमा बदल्ने नयाँ अवसर ल्याएको भन्दै आफू जस्ता आशावादीले गरेको प्रतिक्षा खेर गएको उनको निश्कर्ष थियो । प्रधामन्त्री विशिष्ट वायु यान र जलयान चलाउन व्यस्त र अर्थ मन्त्री प्रत्येक शहरलाई कहर बनाउन व्यस्त रहेको उनको आरोप छ ।

प्रतिक्रिया