Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

कक्षा ११ का नयाँ विषयमा सुझाव दिने म्याद तय, प्राविधिकको पाठ्यक्रम एउटै बनाईने

शनिबार, २४ जेठ २०७७

काठमाडौं - कक्षा ११ मा लागू गर्ने गरी तय गरिएका ३२ विषयका बारेमा सुझाव दिन एक साताको म्याद तोकिएको छ ।   शनिबार बसेको पाठ्यक्रम विकास परिषद्को बैठकले हाल तयार गरिएको नयाँ ३२ विषयको पाठ्यक्रमलाई पाठ्यक्रम विकास केन्द्रको वेभ साईटमा राखी ७ दिन भित्र सुझाव माग गर्ने निर्णय गरेको हो । नयाँ बन्ने ९९ विषय मध्ये परिषद्ले यस अघि नै ४८ विषयको पाठ्यक्रम स्विकृत गरिसकेको छ । बाँकी रहेका १९ विषय आवश्यकताका आधारमा आगामी आर्थिक बर्षमा तयार गर्ने केन्द्रको योजना छ ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको परिषद् बैठकले उक्त पाठ्यक्रमको अध्ययन गरी पेस गर्न पाठ्यक्रम परिषद्का सदस्य समेत रहेका खुला विश्वविद्यालयका उपकुलपति प्रा डा लेखनाथ शर्माको नेतृत्वमा कार्यदल गठन गरेको छ । उक्त कार्यदलले वेव साईटबाट प्राप्त तथा विषय विज्ञहरुबाट प्राप्त हुने राय सुझाव समेटेर प्रतिवेदन बुझाउने छ ।

यस्तै बैठकले प्राविधिक विषयको पाठ्यक्रम एउटै बनाउने निर्णय पनि गरेको छ । सीटिईभिटीबाट सञ्चालित कक्षा १० पछिको प्राविधिक विषय र मानव तथा श्रोत विकास केन्द्र अन्तर्गत सञ्चालित ९ १२ को पाठ्यक्रम फरक फरक छ । यसलाई एउटै बनाउने निर्णय गर्नु अघि आवश्यक गृहकार्यका लागि केन्द्रका महानिर्देशक केशव दाहालको नेतृत्वमा कार्यदल गठन गरिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

प्रतिक्रिया