Edukhabar
बुधबार, २३ असोज २०८१
बहस

'ई - लर्निङ्ग' र विद्यालय शिक्षा

सोमबार, २६ जेठ २०७७

सम्पादकीय नोट : कोरोना संकटले सिकाइ शैलीमा परिवर्तन गर्न मौका ल्याएको छ । यो शताव्दिमा नयाँ सोच भनेको प्रविधिको प्रयोग विना सम्भव छैन । यसका लागि धेरै पहिले भौतिक रुपमा तयार हुनु पर्ने थियो, सो हुन नसक्दा विद्यालयको गतिविधि शुन्य भईरहेको छ, अन्ततः पहिले देखि नै किनारामा परेका र पारिदैं आएका सामुदायिक विद्यालयमा पढ्ने ८० प्रतिशत बालबालिका फेरी पनि मारमा परेका छन्, पर्दै छन् । संकटका बिचमा उनीहरुको सिकाइलाई निरन्तर गर्ने दायित्व राज्यको हो । यसलाई कार्यान्वयन गर्ने सिटमा बसेका छन् – स्थानीय सरकार र शिक्षक । संविधानले विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत गरेको सन्दर्भमा उनीहरुको भूमिका र विद्यार्थीसँग प्रत्यक्ष जोडिने शिक्षकको नयाँ सोच र कार्य शैली बिना विद्यमान संकटमा सिकाइ सहज हुन कठिन छ । संसारमा भएका अभ्यास, स्थानीय सरकार र शिक्षकले अपनाएका नयाँ शैली र त्यसले गरेको सुधार उजागर गर्ने क्रममा यो साता एक जना शिक्षक ज्ञानप्रसाद भट्टराईको विचार : 

व्यक्तिले शिक्षा औपचारिक, अनौपचारिक र अरीतिक माध्यमबाट प्राप्त गर्दछ । विद्यालय सरह घर परिवार र  समाजबाट पनि  व्यक्तिले शिक्षा प्राप्त गरिरहेको हुन्छ । गुरूकुल शिक्षामा चेलाले कण्ठस्थ गरेर सिके । विद्यालयमा व्याख्यान विधि प्रयोग भयो । घरपरिवार र समाजबाट व्यक्तिले गरेर, सुनेर, देखेर, पढेर र अनुभव गरेर सिके । यस्तो सिकाइ जीवनोपयोगी बन्यो  । परम्परागत सिकाइमा  मौलिकता  थियो । स्थानीय प्रविधिको प्रयोग हुन्थ्यो । त्यसैले इभान इलिचले डिस्कुलिङ्ग सोसाइटी कन्सेप्ट ल्याए । फ्रोवेलले प्रकृतिलाई नै  पाठ्यक्रम भने ।

एक्काइसौं शताब्दीमा  भएको  प्रविधिको विकाससँगै  शिक्षणमा पनि प्रविधिको प्रभाव पर्यो । शिक्षामा प्रविधिको प्रयोग साध्यका रूपमा होइन, साधनको रूपमा हुनुपर्छ र भएको छ । प्रविधिले  सिकाइमा उत्प्रेरकको काम गर्छ । व्यक्तिले ज्ञान, सीप र अभिवृत्ति प्रविधिको प्रयोग गरेर सजिलै सिक्न सक्छ । सिकाइ त व्यक्तिमा हुन्छ । प्रविधिको प्रयोगले सिकाइमा नयाँपन ल्याउँछ र  सिकाइ   सस्तो, सरल र प्रभावकारी हुन्छ । प्रविधिमा आधारित शिक्षा भनेको  कम्प्यूटरमा आधारित शिक्षा, ईण्टरनेटमा आधारित शिक्षा र वेवमा आधारित शिक्षा  हो । विगत देखि नै भर्चूअल प्रविधिको प्रयोगबाट व्यक्तिले  अरीतिक शिक्षा प्राप्त गरिरहेको छ । ईण्टरनेट, ईण्ट्रानेट, अडियो टेप, उपग्रह टिभि, यूट्यूब र सिडि रोमको प्रयोग भइरहेका छन् । शैक्षिक एप्सहरू प्रशस्त बनेका छन् ।

विद्यालय तहमा भने शिक्षक सट्टा भर्चुअल प्रविधिको प्रयोग भएको छैन । कोभिड - १९ ले 'ई - लर्निङ्ग' लाई एउटा फेसननै बनाइ दियो । यसको प्रभावकारीता र पहुँचको बारेमा ख्याल गरेको देखिदैन । यसले  सिकाइमा  प्याराडाइम सिफ्ट गर्न  त खोजेको छ । नयाँ डिस्कोर्स सुरू भएको छ । तर यसको प्रभावकारीता र पहुँचको बारेमा भने ख्याल गरेको देखिदैन ।

विश्व महामारीको रूपमा फैलिएको कोभिड - १९ ले देश चैत्र ११ गतेदेखि पूरै लकडाउनमा रहेको छ । यसको प्रभाव शिक्षा क्षेत्रमा पनि परेको छ । सबै विद्यालय बन्द छन् । विद्यार्थी घर परिवारसँगै छन् । अभिभावकलाई छोरा छोरीलाई घरमा थेग्न गाह्रो भएको छ । यसको मुख्य कारण भनेको बालबच्चा र अभिभावक बीचको जेनेरेसन ग्याप हो । अभिभावकमा पनि शिक्षा भनेको किताबको ज्ञान मात्र हो भन्ने सोच व्याप्त छ । परिवार आफैं विद्यालय हो । घरमा हुने हरेक कामबाट बालबालिकाले सीप र ज्ञान सिकिरहेको हुन्छ । तर ती ज्ञान र सीपलाई किताबी पाठसँग जोड्न नसक्नु चुनौती बनेको छ ।

पाठ्यपुस्तकमा भएका विषयहरू समाजकै विषय हुन् भन्ने कुरा थाहा पाउन नसक्नु  पनि अर्को समस्या हो । निजी विद्यालयलाई भने भर्ना गर्न ढिलो भएको छ । 'ई - लर्निङ्ग' को नाममा निजी विद्यालय आफू जिम्मेवार भएको अभिभावकमा भान पार्न खोज्दैछन् । सरकार पनि सोही बाटोमा लागेको छ । सरकारलाई पनि याद छ, नेपालका कति विद्यालयमा ईण्टरनेटको सुविधा पुगेको छ, कति विद्यार्थीको हातमा ल्यापटप पुगेको छ,  कति विद्यार्थी अझै भोकोपेट  नाङगो खुट्टा विद्यालयमा आएका छन्, कोभिड १९ को  महामारीका  कारण ५ किलो चामल लिन लाम लाग्ने नेपालीको अवस्था र भोको पेटले एक छाक खानाका लागि गरेको याचना देखिएकै छ । यी परिवारका बालबालिकासँग पनि कम्प्यूटर र ल्यापटप छ भनी 'ई-लर्निङ्ग' क्लास सञ्चालन गर्ने सरकार र निजी विद्यालयका मालिकलाई के भन्ने ? हुने खानेका परिवारका  २० प्रतिशत विद्यार्थीको पहुँचमा मात्र ईण्टरनेटको सुविधा पुगेको छ ।

एक पटक राजाका छोराले भनेका थिए रे - 'जनताका  छोराछोरीले दूध भात पनि खान पाएका छैनन् र !'

अहिलेको अवस्थामा भर्चुअल कक्षाका सन्दर्भमा उक्त मिथक उदाहरण बन्न सक्छ । बरू यसबाट पाठ सिकेर प्रत्येक विद्यार्थीको हातमा ल्यापटप पुयार्उने कार्यक्रम ल्याउनु उपयुक्त बेला हो यो ।

विपत्ति भन्दा ठूलो शिक्षा दिने कुनै विद्यालय आजसम्म खुलेको छैन - प्रेमचन्द ।

कोभिड - १९  चुनौति मात्र होइन सिकाइमा 'सिफ्ट' गर्ने सुनौलो अवसर पनि हो । सिकाइलाई पेपर लेस बनाउन सुरू गर्ने 'टर्निङ् प्वाईण्ट' को रूपमा  बनाउन सक्नु पर्छ ।  'ई - लर्निङ्ग' ले सिकाइलाई थप प्रभावकारी बनाउँछ तर बालबालिकाले शिक्षक र शिक्षिकाकाबाट पाउने सिकाइको मायालु वातावरण भने पाउन सक्दैनन् । हाम्रो समाज वर्गीय छ । विविधतायुक्त छ । विद्यालयको कक्षा साझा फूलबारी हो । कक्षामा  भिन्न भिन्न क्षमता भएका विद्यार्थी हुन्छन् । सिकाइमा भिन्न भिन्न  उपचार आवश्यक हुन्छ । तसर्थ सिकाइमा शिक्षकको भुमिका महत्वपूर्ण हुन्छ । 'ई- लर्निङ्ग' नेपालीको  उखान  “अड्को पड्को तेलको धुप“ भने सरह मात्रै हो । यो बालबालिकाको लागि  फूर्सदको समयको सदुपयोग हो । औपचारिकता मात्र हो ।

तर शिक्षामा नयाँ प्रविधिको प्रयोग भने आवश्यकता  देखिइसकेको छ । त्यस अनुसारको भौतिक पूर्वाधार निर्माण गर्न ढिलो भईसकेको पक्का हो । शिक्षाका कयौं  कार्यक्रम र नीति राम्रा लोकप्रिय भए पनि  कार्यान्वयन नभएका धेरै उदाहरण  छन् । जुन नीति र कार्यक्रम माथिबाट लादिएका हुन्छन् । ती अव्यवहारिक हुन्छन् । कार्यान्वयन गर्ने योग्यता हुँदैन । यस्तै थपियो अर्को कार्यक्रम  । पहिले सबै विद्यार्थीको हातमा ल्यापटप अनि 'ई- लर्निङ्ग' क्लास सुरू गर्दा सुल्टो बाटो हुन्छ । कार्यक्रम कागजी रूपमा  समानता देखिएला तर  सिकाइमा समान पहुँच र  समता कसरी ल्याउने ? प्रश्न शिक्षा मन्त्रालय तर्फ तेर्सिएको छ । अहिलेको संकटले मन्त्रालय र शिक्षक समेतमा शिक्षालाई  प्रविधि मैत्री बनाउन र हुन ज्ञान सिकाएको छ ।

प्रविधिमा पहुँच हुने र नहुने विद्यार्थी बीच  समान अवसर नहुँदा न्यून आय भएका परिवारका बालबालिकामा मनोवैज्ञानिक असर पर्छ ।

हेबर, टारजन र ओसवर्ग भन्दछन् 'गरीबद्वारा ग्रसित पारिवारिक संस्कृतिबाट आएका बच्चाहरू लगभग ५८ प्रशिसत मानसिक रूपले दुर्वल हुन्छन् ।'

एमिल दुर्खिमले भने  झैं 'शिक्षामा अवसरको समानता सिद्धान्त' लागु हुनु पर्छ ।

तर विद्यालय तहमा 'भर्चुअल लर्निङ्ग'ले समताको कुरा युटोपियन सोच मात्र हुनसक्छ ।

उच्च शिक्षामा भने 'ई-लर्निङ्ग' शिक्षा प्रभावकारी हुनसक्ला ।

विकसित देशले अपनाएका शिक्षा  प्रविधिलाई हुवहु रूपमा नक्कल गर्नु भन्दा देशको अवस्था, अभिभावकको स्तर र परिस्थितिलाई हेरेर आफ्नो नयाँ मोडल लागू गर्नु उपयुक्त हुन्छ । तर 'ई-लर्निङ्ग'लाई विद्यालय र शिक्षक पिच्छे आ-आफ्नै मोडलको प्रयोग देखाउने मजाकको रूपमा भने लिनु हुदैन । साथै 'ई-लर्निङ्ग'को कुरा गरिरहँदा साइबर सुरक्षाको पनि ख्याल गर्नुपर्छ ।

अब के गर्ने ?

कुनै पनि शंका छैन, शिक्षालाई प्रविधिसँग जोड्नु पर्छ । प्रविधिलाई साध्य होइन साधनको रूपमा प्रयोग गर्नु उपयुक्त हुन्छ । शिक्षकको विकल्प 'ई - लर्निङ्ग' हुन सक्दैन । शिक्षामा समानताको कुरा गरिरहँदा समतामा समेत ख्याल गर्नुपर्छ । 'आगो लागे पछि कुवा खन्ने' प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ । प्रविधिको दीगो प्रयोगमा ख्याल गर्नु पर्छ । विद्यालयमा भौतिक विस्तार र शिक्षकलाई आवश्यक सीप, ज्ञानमा लगानी वृद्धि विना गरिएका कुरा केवल कोरा कल्पना मात्रै हुनेछन् । यस विषयमा सम्बन्धित सबैले समयमै चासो दिनु र तदनुरुप कार्य गर्नु आवश्यक छ ।

  सामुदायिक विद्यालयका शिक्षक भट्टराई, माध्यमिक शिक्षक युनियन नेपालका केन्द्रीय अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया