Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

एसईई मुल्याँकनको मापदण्ड, विद्यार्थीको विवरण झुठा भए प्रधानाध्यापक अध्यक्षताको समिति जवाफदेही

बुधबार, १० असार २०७७

भक्तपुर - सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षताको ३ सदस्यीय मूल्याँकन समितिले गर्ने आन्तरिक मूल्याँकनका आधारमा कक्षा १० का विद्यार्थीको नतिजा निकाल्ने गरी राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड तय गरेको छ । विद्यालयका प्रधानाध्यापक सहित सम्बन्धित कक्षा शिक्षक र नियुक्तिका आधारमा जेष्ठ शिक्षक सहितको मूल्याँकन समिति गठन गर्ने गरी बोर्डले कार्यविधि निर्माण गरेको हो ।

विद्यार्थीको विवरण झुठा ठहरेमा वा गलत विवरण पेश गरेको पाइएमा मूल्यांकन समिति जवाफदेही हुने गरी कार्यविधि बनाईएको छ । यदी झुठा र गलत विवरण पठाए कानून बमोजिम जवाफदेही मूल्यांकन समिति स्वयम् हुने कार्यविधिमा व्यवस्था छ । 

कोरोना भाईरस कोभिड १९ का कारण आईपरेको संकटका बेला परीक्षा स्थगित गर्ने निर्णय सँगै मन्त्रीपरिषद्ले कार्यविधि बनाउने जिम्मा बोर्डलाई दिएको थियो । सोही आधारमा बोर्डले बनाएको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा उक्त मूल्यांकन समितिले विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकन विवरण कायम गर्ने प्रकृया उल्लेख गरिएको छ । 

माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार विद्यालयहरुले लिएका परीक्षाहरु मध्ये अधिकतम पाठ्यक्रम समावेश हुने गरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णांक अन्तरगत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने कार्यविधिमा उल्लेख छ । यसरी गरिने परिवर्तनका लागि कार्यविधिमा  सुत्र समेत उल्लेख गरिएको छ । यस्तै विद्यार्थीको प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनु पर्ने व्यवस्था गरिएको छ । 

सबै प्रकृया पुरा गरेर विद्यालयले आआफ्नो विद्यादयको कोड एक्सेल फरम्याटमा विद्यार्थीको प्राप्ताङ्क लेखि मूल्याँकन समितिबाट प्रमाणित गराई असार २० भित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनु पर्ने बोर्डले जनाउको छ । उक्त विवरणको रुजु गरी इकाइले असार ३० गते भित्र परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु पर्ने गर िव्यवस्था गरिउको छ । फारममा भएको विवरण सच्याउनु परेमा विद्यार्थीले इकाइ मार्फत् सम्पर्क गर्नु पर्ने छ । कोरोना सक्रमण फैलन नदिन विद्यालयमा बनाईएका क्वारेण्टाईनका कारण समस्या भएमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी काम गर्न बोर्डले भनेको छ ।  

नतिजा प्रकाशन पश्चात पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पुरक ग्रेडबृद्धि परीक्षा सञ्चालन सम्बन्धी कार्य यस बर्ष हुने छैन । यो कार्यविधि बमोजिम कार्य सम्पादन गर्न स्थानीय तहको शिक्षा शाखाले आवश्यकता अनुसार सहजिकरण गर्न सक्ने गरी व्यवस्था गरिएको छ । 

कार्यविधि पढ्नुहोस् :

 

प्रतिक्रिया