Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

वैकल्पिक माध्यमबाट प्रशिक्षण : अतिरिक्त शुल्क लिन नपाउने

बुधबार, २४ असार २०७७

भक्तपुर - अतिरिक्त शुल्क लिन नपाउने गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिईभिटिले वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन कार्यविधि निर्माण गरेको छ । कोरोना भाईरस कोभिड १९ को सक्रमण जोखिमका कारण शिक्षालयको नियमित प्रशिक्षण कार्य अवरुद्ध रहे पनि प्रशिक्षण सञ्चालन गर्न जरुरी रहेको निष्कर्ष उक्त कार्यविधि निर्माण गरिएको सिटिईभिटिले जनाएको छ । 

आचारसंहिता वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थित रुपमा प्रशिक्षण सञ्चालन गर्नका लागि उक्त कार्यविधिमा विभिन्न व्यवस्था गरिएको छ । कार्यविधिमा उल्लेख आचार संहिताको दोश्रो बुँदामा 'वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन गर्दा शिक्षालयले प्रशिक्षार्थीहरूबाट अतिरिक्त शुल्क लिन पाउने छैन' भन्ने व्यवस्था गरिएको छ । यस्तै प्रशिक्षक र प्रशिक्षार्थीहरूले प्रशिक्षणको क्रममा शिष्ट भाषा र मर्यादित पोशाकको प्रयोग गर्नु पर्ने, प्रशिक्षण सञ्चालनको लागि सम्बधित प्रशिक्षकहरूले तयार गरेको प्रशिक्षण सामग्रीको प्रतिलिपि अधिकार सम्बन्धित प्रशिक्षक र शिक्षालयमा निहित रहने विषय पनि आचार संहितमा उल्लेख छ । 

वैकल्पिक माध्यमबाट प्रशिक्षण गर्दा सैद्धान्तिक विषयवस्तुको मात्र प्रशिक्षण सञ्चालन गर्न सकिने छ । तर पाठ्यक्रमले निर्धारण गरेको प्रयोगात्मक अभ्यास वैकल्पिक माध्यमको प्रयोग गरी गर्न सम्भव भएमा गर्न वा गराउनलाई रोक लगाईएको छैन । वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालनको पूर्व तयारी अन्र्तगत शिक्षालयले वैकल्पिक माध्यमका स्रोत र साधनमा पहूँचको अवस्थाको आधारमा प्रशिक्षार्थी पहिचान गरी वर्गीकरण गर्नु पर्ने हुन्छ ।

प्रशिक्षार्थी वर्गीकरण गर्दा विभिन्न ४ वटा वर्ग निर्धारण गर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ । स्मार्टफोन वा कम्प्युटर र ईण्टरनेटको पहूँचमा रहेका, कम्प्युटरको पहूँचमा रहेका, रेडियो तथा टेलिभिजनको पहूँचमा रहेका, र सबै किसिमको प्रविधिको पहुँच भन्दा बाहिर रहेकाहरु सहित यी कुनै पनि वर्गमा राख्न नसकिने प्रकृतिका विशेष आवश्यकता भएका प्रशिक्षार्थीको लागि सम्बन्धित शिक्षालयले आवश्यकताको प्रकृति अनुसार प्रशिक्षणको व्यवस्था गर्नु पर्ने कार्यविधिमा उल्लेख छ । 

शिक्षालयले प्रशिक्षकलाई वैकल्पिक माध्यमका स्रोत, साधनहरू उपलब्ध गराउनु  पर्ने, प्रशिक्षकको क्षमता अभिबृद्धिको व्यवस्था गर्नु पर्ने र शिक्षालय तथा प्रशिक्षकले विषयगत प्रशिक्षण सामग्रीको व्यवस्था गर्नु पर्ने विषय पनि कार्यविधिमा उल्लेख छ । 

पढ्नुहोस् उक्त कार्यविधि : 

 

प्रतिक्रिया