Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

पेन्सनपट्टा बनाउन आएका शिक्षकलाई कोरोना, ५ दिन काठमाडौं बसेर फर्के पछि नतिजा

बुधबार, १४ साउन २०७७

काठमाडौं - पेन्सनपट्टा बनाउन वीरगञ्जबाट काठमाडौं आएका एक जना शिक्षकलाई कोरोना पुष्टि भएको छ । गएको शनिबार आएका ती शिक्षकको नागढुङ्गामा निकालिएको स्वावको परीक्षण नतिजा बुधबार आउँदा सम्म उनी वीरगञ्ज पुगिसकेका छन् । 

वितेको ५ दिन काठमाडौंमा बसेका बेला ती शिक्षकले ताहाचलमा रहेको शिक्षक किताबखानाबाट पेन्सनपट्टा बनाएका थिए । कुलेश्वरमा बसेका ति शिक्षकको कन्ट्याक ट्रेसिङ्का लागि काठमाडौं जिल्ला स्थित स्वाथ्य कार्यालयमा जानकारी दिईसकेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले जानकारी दिए । ति शिक्षकको सम्पर्कमा आएका किताबखानाका कर्मचारी र अन्य व्यक्तिको ट्रेसिङ् महानगरपालिकाको संयन्त्र मार्फत् हुने उनले बताए । 

'उहाँ वीरगञ्ज पुगि सक्नु भएछ, नारायणी अस्पतालमा जानु भनिएको छ' उनले भने, 'शिक्षकको पेन्सन पट्टा बनाउन आउनु भएको रहेछ, यस बिचमा कहाँ कहाँ पुग्नु भयो, को को संग भेट्नु भयो यी सबै कुराको ट्रेसिङ् स्थानीय सरकारले गर्ने छ ।' 

एउटा गाडी रिजर्भ गरेर उनी काठमाडौं आएका थिए । उनीसँगै आएका अन्य २ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । तर त्यो स्वाव शनिबार निकालिएकोले वितेको ५ दिनमा उनीहरुमा पनि सक्रमण भएको हुन सक्ने भएकोले सतर्क रहन भनिएको कोइरालाले जानकारी दिए । 

यसैबिच नारायणी अस्पतालमा ठाउँ खाली नभएकोले उनलाई घरमै आईसोलेसनमा बस्ने गरी पठाईएको अस्पताल श्रोतले जनाएको छ । उनको घर आईसोलेसनका लागि योग्य छ छैन लगायतका व्यवस्थापकीय  कामका लागि बिहीबार निरीक्षण गर्ने तयारी गरिएको उक्त श्रोतले जानकारी दियो ।  

प्रतिक्रिया