Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

शिक्षकलाई सुविधा सहित अवकाश योजना, २० बर्ष पुगेकोले निवेदन दिन पाउने

मंगलबार, २७ साउन २०७७

काभ्रे - स्थायी सेवा अवधि २० बर्ष पुरा भएको, अनिवार्य अवकाश हुन एक बर्ष वा सो भन्दा बढी समयावधि बाँकी रहेका प्राथमिक तहका शिक्षकलाई धुलिखेल नगरपालिकाले सुविधा सहित अवकास दिने भएको छ । उक्त योजनामा सहभागि हुन चाहने शिक्षकलाई भदौ ९ गते भित्र निवेदन दिन पालिकाले सूचना जारी गरेको छ । यसरी सहभागि हुने शिक्षकलाई प्रति शिक्षक १ लाख रुपैंया थप सुविधा दिएर विदा गर्ने पालिकाको योजना छ ।

पालिका भित्रका विद्यालयमा कार्यरत २ सय ८१ मध्ये प्राथमिक तहमा १ सय ५० शिक्षक कार्यरत छन् । प्राथमिक तहको स्थायी दरबन्दीमा कार्यरत शिक्षकको संख्या १ सय ३९ छ । यी मध्ये ३० जना सम्म शिक्षकहरुले उक्त योजनामा सहभागिता जनाउने अनुमान गरेको पालिकाको शिक्षा शाखा प्रमुख माधव प्रसाद शर्माले बताए । 

राष्ट्रिय दरबन्दी मिलान कार्यदलको सुझावका आधारमा विद्यार्थी शिक्षक अनुपात अनुसार पुर्नवितरण गरिएको दरबन्दीमा पालिकाबाट ८१ दरबन्दी कट्टा भएको छ । यी मध्ये प्राथमिक तहका ४७ दरबन्दी खानीखोला र महाभारत गाउँपालिकामा पठाउनु पर्ने भएको छ । शहर बजार केन्द्रित भएर बस्न रुचाउने शिक्षकको मनोविज्ञानका कारण धुलिखेलमा दरबन्दी थुप्रिदैं आएको छ । उक्त धेरै दरबन्दी मध्ये व्यक्तिलाई नै पठाउँदा अनेक सोर्स फोर्स लगाएर फेरी धुलिखेलमै बस्न सक्ने आँकलन गरेर व्यक्ति हटाउने पद मात्रै पठाउने सोच बनाएको शर्मा बताउँछन् । 

'जहाँ विद्यार्थी त्यहाँ शिक्षक हुनु पर्ने त सामान्य कुरा हो, तर धुलिखेलमा प्राथमिक तहमा दरबन्दी थुप्रिएको रहेछ, निमावि र माविमा दरबन्दी पुग्दैन तर प्राथमिकमा धेरै दरबन्दी भयो, मान्छे नै पठाईदिउँ भने अनेक उपाय लगाएर फेरी यहीँ थुप्रिन्छ' उनले भने 'बरु व्यक्तिलाई सुविधा दिएर अवकास दिउँ पद मात्रै पठाईदिउँ भन्ने कार्यपालिकाले तय गरेर यो निर्णय गरेका हौं ।'

पहिलो चरणमा उक्त मापदण्ड बनाईए पनि यस पछि २० बर्ष पुरा भएर पनि अवकास हुन लामो समय बाँकी भएका शिक्षकलाई समेत समेट्ने योजना तयार पारिरहेको शर्मा बताउँछन् । यसका लागि पेन्सनमा जाँदा पाउने तलबको ७५ प्रतिशत सुविधालाई पनि गणना गरेर यो योजनामा सहभागि हुन चाहने शिक्षकलाई २५ प्रतिशतमा समेत समेट्ने गरी सुत्र निर्माण गरेको उनले बताए । यसो गर्दा ५ बर्ष पछि अवकाश हुने शिक्षक पनि योजनामा सहभागि हुन सक्ने र नयाँ शिक्षकलाई कक्षा कोठामा पुर्याउने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ । यसो गर्दा अनावश्यक दरबन्दी कायम रहने समस्या हटी जहाँ विद्यार्थी त्यहाँ शिक्षक पुर्याउन सकिने उनको तर्क छ । 

प्रतिक्रिया