Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

असारबाटै शैक्षिक सत्र !

बुधबार, २८ साउन २०७७

रोल्पा - लामो समय देखि अन्योलमा रहेको शैक्षिक गतिविधि शुरु गर्ने बारेमा संघीय सरकार अलमलमै रहेका बेला स्थानीय सरकारले भने शैक्षिक सत्रको गणना नै गर्न सकिने गरी आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन् । यसको पछिल्लो उदाहरण हो – रोल्पा नगरपालिका । 

संविधान र स्थानीय तह सञ्चालन ऐन,२०७४ ले स्थानीय सरकारलाई दिएको अधिकारलाई टेकेर नगरपालिकाले केही उपलब्धी मूलक निर्णय गरेका कारण उक्त अन्योल चिरिएको हो । असार पहिलो साताबाटै नगरका विद्यालयहरुमा भर्नाका लागि अनुमति दिएर अस्तव्यस्त शैक्षिक सत्रलाई व्यवस्थापन शुरु गरिएको थियो । देशभरका शैक्षिक संस्थाले केन्द्र सरकरको निर्णय पर्खिरहेका बेला अनौपचारिक छलफल पश्चात नगरका विद्यालयमा भर्ना गर्न अनुमति दिईएको थियो । नगरपालिकाको उक्त सहजीकरण सँगै नगर भित्रका संस्थागत र सामुदायिक गरी ६२ विद्यालयको शैक्षिक गतिविधी निर्वाध जारी छ । स्थानीय सरकारको अभ्यासका क्रममा पहिलो पटक नगरको अनुमतिका आधारमा असार पहिलो सातामा  विद्यार्थी भर्ना गरिएको हो । पाठ्यपुस्तक वितरण कार्य असार मसान्तमै सकिई सकेको छ । 

बालबालिकालाई सिकाइबाट विमुख गर्नु हुँदैन भन्ने मान्यतामा, विद्यालय, शिक्षक र स्थानीय नागरिकको सहभागीता र समवन्यमा नगरले त्यस्तो निर्णय गरेको मेयर पूर्ण केसी बताउँछन् ।  

उनले भने ‘स्थानीय आवश्यकताका र समय प्रवाहका आधारमा स्वास्थ्य सजगता अपनाउदै यस्तो निर्णय गरिएको हो ।’ 

यसले नगर भित्रका करिब १० हजार विद्यार्थी कुनै न कुनै रुपमा शैक्षिक गतिविधिमा संलग्न हुने बाटो खुलाएको छ । 

'हामी कहाँ नयाँ शैक्षिक सत्र कहिले मान्ने भन्ने कुनै अन्यौल नै छैन, हामीले गरेको निर्णय र जारी गतिविधी प्रचार प्रसार गर्न तिर लागेनौँ सुरुसुरु हाम्रो काम जारी राख्यौं र आज हामी त्यो अन्योल भन्दा माथि छौं' उनले भने 'कतिपय अवस्थामा त संघीय सरकारको निर्णय नआउँदै निर्णय गर्ने ? भन्दै विरोध पनि त हुन सक्थ्यो ! त्यही भएर हामीले हल्ला खल्ला नगरी बालबालिकालाई केन्द्रमा राखेर चुपचाप काम गर्यौं ।'

शैक्षिक गतिविधि शुरु गर्न नगरपालिकाले गरेको निर्णय संघीय सरकारलाई चुनौती दिने उद्देश्यले नभई बालबालिकालाई सिकाइबाट विमुख गर्नु हुँदैन भन्ने मान्यतामा आधारित रहेको उनी बताउँछन् । 

एक नगरपालिका र ९ गाउँपालिका रहेको पहाडी जिल्ला रोल्पालाई अधिकाँश सन्दर्भमा पिछडिएको जिल्लाको रुपमा व्याख्या गरिन्छ  । तर, महामारीका बेला शुरु शैक्षिक गतिविधि सञ्चालनले समेत रोल्पालाई जागरुक वासिन्दाको जिल्ला हो भन्ने कुरा पुष्टि गराएको भन्दै केसी गर्व गर्छन् । 

‘यस्तो संकट आउला भनेर कसैले चिताएको थियो र ? आयो, आए पछि सबै मिलेर चुनौती सामना गर्नुको विकल्प छैन’ हक्कि शैलीमा उनी भन्छन् 'अधिकारका बारेमा जनप्रतिनिधि सचेत नभए को हुन्छ ? सिक्न पाउने बालबालिकाको अधिकार प्रति हामी सचेत भएका हौं ।'

१० बर्षे माओवादी शसस्त्र युद्धको उद्गम जिल्ला रोल्पामा नागरिकको चेतना उच्च भएको उनको बुझाई छ । त्यसैले नागरिकको भावनालाई बुझेर आफूहरुले निर्णय गर्दै आएको उनी दावी गर्छन्  । त्यसैको पछिल्लो उदाहरण विद्यार्थी भर्ना अभियान भएको उनको भनाई छ । लकडाउनका बेलामा पनि आफ्नो कार्य क्षेत्रभिका विद्यालयको अवस्थालाई ध्यान दिदै बन्द अवधिमा योजनामा परेका विद्यालयको भौतिक निर्माण नरोकेको उनले बताए । 

विद्यार्थीको भविष्यलाई अन्योलमा राख्नु भन्दा समय मै केही निर्णय गर्नु उचित मानेर असार पहिलो साताबाटै भर्ना लिन अनुमति दिएको उनको स्पष्टोक्ति छ । उक्त निर्णयले कसैलाई घाटा वा नाफा भन्दा पनि समसामयिक निर्णय भएको उनको बुझाई छ । जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दुर्गा खड्काले नगरको निर्णयसँगै जिल्लाका अन्य पालिकाले समेत उक्त प्रक्रिया अपनाएर विद्यार्थी भर्ना लिन सफल भएको जानकारी दिए । 

'जिल्लामा शैक्षिक सत्र कहिले मान्ने भन्ने बारेको कुनै अन्यौल छैन, किन भने यहाँ सिकाइ जारी छ' उनले भने, 'सरकारले वैकल्पिक सिकाइ विधि शुरु गरेको मिति असार १ बाटै नयाँ शैक्षिक सत्र मान्न सकिने आधार तय भएको छ, तर देशैभर समान शैक्षिक सत्र कायम गर्न त सरकारकै निर्णय आवश्यक पर्छ ।'

कहाँ कसरी शुरु भयो शैक्षिक गतिविधि 

कोरोना भाईरस कोभिड १९ को जोखिमका कारण गत चैत ११ गतेबाट सरकारले शुरु गरेको देशव्यापी लकडाउनका कारण देशभरका सम्पूर्ण विद्यालय बन्द छन् । २५ करोड १७ लाख रुपैंया खर्च गरेर संघीय सरकारले असार १ गते देखि वैकल्पिक विधिबाट सिकाइ शुरु गर्ने घोषणा गर्यो । कति बालबालिका सम्म टेलिभिजन र रेडियोको पहुँच छ भन्ने समेत यकिन नगरि गरिएको उक्त घोषणा काम गरिस् भन्दा गरेँ भन्नु बाहेक विना उपलब्धि सकियो । 

वैकल्पिक विधि अन्र्तगत बालबालिकाको सम्पर्कमा शिक्षकलाई पुर्याउने तर्फ सोचिएन । संघीय सरकार शैक्षिक गतिविधि र विद्यार्थी भर्नाको विषयलाई एकै ठाउँमा राखेर निरन्तर उही निर्णय गर्न व्यस्त छ । फलतः बालबालिकाको सिकाइ कहिले र कसरी शुरु गर्ने भन्ने विषय घोर अन्धकारमा धकेलिदैं छ । 

तर, यो अन्धकार चिर्न रोल्पाले उपाय अपनाएको छ । महामारीका कारण विद्यालय खोल्न पो चुनौती भयो, स्वास्थ्य सजगता अपनाउँदै बालबालिका जहाँ छन् त्यहीँ शिक्षक पुग्न के गाह्रो ? नगरले विद्यार्थी भर्नाको अनुमति दिएसँगै विद्यालयहरुले शिक्षकहरुलाई घर दैलोमै पठाएर असार पहिलो साताबाटै भर्ना अभियान सञ्चालन गरे । कुन विद्यालयमा कति विद्यार्थी भए यकिन भयो । बालबालिकाले आफ्नो विद्यालय र शिक्षक पहिचान गरे । स्थानीय तीन एफएम रेडियो स्टेशन मार्फत् शिक्षकले कक्षा समेत शुरु गरे । यसलाई पालिकाले सहयोग गर्यो । अहिले जिल्ला भरका विद्यार्थीले त्यसबाट फाईदा उठाईरहेका छन् । 

नगरले शैक्षिक गतिविधी सञ्चालनको अनुमति दिए पछि नगरपालिकाको श्री बाल कल्याण नमुना माध्यमिक विद्यालयले शिक्षकहरुलाई अनिवार्य उपस्थित गराएर प्रशासन तथा शैक्षिक गतिविधी शुरु गर्न थाल्यो । पहुँचमा आधारमा विद्यार्थी सहभागि हुने गरी अनलाईनमा आधारित जुम कक्षा र पहुँच नहुनेका लागि रेडियो कक्षाको अनुगमन र टोल कक्षा सञ्चालन शुरु गर्यो ।  

सामुदायिक विद्यालय भए पनि उक्त विद्यालयको कक्षा ९ र १० का सन्र्दभमा प्रविधिमा आधारित कक्षामा विद्यार्थीको शत प्रतिशत उपस्थिती रहेको छ । शुरुमा कक्षा ९ र १० विद्यार्थीका लागि अनलाईन कक्षा मार्फत शुरु गरिए पनि पछि अन्य कक्षाका लागि पनि सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक मधु सुदन पोखरेलले जानकारी दिए । 

विद्यालयका शिक्षकको आपसी सहमती, स्थानीय जनप्रतिनिधी र अभिभावक बीच समवन्य गरेर विषम परिस्थितीमा पनि विद्यालय गतिविधी सञ्चालन गर्न सफल भएको अनुभव छ पोखरेल सर सँग । 

'विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण सकिएको छ, जो जससँग प्रविधि पहुँच छ उनीहरुलाई  अनलाईनबाट, प्रविधिको पहुँचमा नभएकालाई टेलिफोन वा प्रत्यक्ष भेटेरै सिकाइमा जोडिएको छ' उनले भने 'जनप्रतिनिधि, अभिभावक, विद्यार्थी र शिक्षा शाखाको समवन्यका आधारमा विद्यालयले शैक्षिक गतिविधि सञ्चालन गर्न सफल भएको छ ।'

नगरमा टोल कक्षा

नगरमा जहाँ, जुन विद्यालयका विद्यार्थी रहेका छन् उनीहरुलाई स्थानीय टोलमा जम्मा गरी पायक पर्ने विद्यालयका शिक्षकले अध्ययन अध्यापन गराउँदै आएका छन् । त्यसले पनि नगरमा शैक्षिक गतिविधि रोकिन पाएको छैन । सरकारबाट वेतनधारी शिक्षकले अघि पछि राजनीतिक गतिविधी गर्दै आएका भए पनि कोरोना संकटमा आफ्नो जिम्मेवारीबाट पछि हटेका छैनन् । त्यसैले शुरुका २ महिना शैक्षिक गतिविधी बन्द रहे पनि असारबाट शुरु भएको हो । 

पालिकाको शिक्षा शाखाका अधिकृत कृष्ण बहादुर पुनले भने ‘शिक्षा प्रवाह गर्ने मुख्य जिम्मेवारी शिक्षकको हो । त्यसैले यहाँका शिक्षकहरु यस पटक जिम्मेवारी वहन गर्न अग्रमोर्चामा देखिनु भएको छ ।’ 

स्थानीय सरकारको भूमिका 

रोल्पामा अन्य जिल्लाको तुलनामा कोरोना संक्रमणको महामारी कम छ । जिल्लामा २५ संक्रमित मध्ये ३ जना उपचाररत रहेको र अरु निको भएर घर फर्किसकेका छन् । संक्रमितको व्यवस्थापनमा विशेष सर्तकता अपनाउदै उपचार सेवा उपलब्ध गराईएकोले संकट कावुमा राख्न सकेको मेयर केसी बताउँछन् । 

कोरोना महामारीका कारण लामो समय पठन–पाठन हुन नसके पछि कोर्ष नसकिने भन्ने चिन्ता व्याप्त भएको थियो । तर, नगरले असारबाट विद्यार्थी भर्नाको निर्णय गरेर बाटो फुकाए पछि वेकल्पिक विधबाट सिकाइ अघि बढ्न थालेको हो । 

त्यस पछि विद्यालयले आगमी वर्षका लागि अनुमानित विद्यार्थीको संख्या निर्धारण गरेका छन् । त्यसै अनुसार योजना पनि बनाएका छन् । नगर शिक्षा कार्यलयले नगरका विद्यालयको अवस्था अनुगमन गरिरहेको छ । नगरका कतिपय विद्यालयमा त समय अनुकुल पारेर प्रत्यक्ष कक्षा सञ्चालन शुरु भईसकेको पनि छ । 

नमुना विद्यालयको नमुना कार्य 

२०२१ सलमा स्थापना भएको रोल्पा नगरपालिका वडा नम्बर–२ स्थित बाल कल्याण माविबाट अध्ययन गरेका थुर्पै व्यक्ति देशको उच्च ओहदोदामा पुगिसकेका छन् । उपराष्ट्रपति नन्द किशोर पुन, उर्जा मन्त्री  बर्षमान पुन र पूर्व सभामुखहरु आनेसरी घर्ती मगर र कृष्ण बहादुर महरा पनि यही विद्यालयका उत्पादन हुन् । 

विद्यालयका प्राधानाध्यापक पोखरेल कोरोना संक्रमणले तीन महिनासम्म बन्दाबन्दी हुँदा यो बर्ष पठन–पाठनै हुन नसक्ने हो की भनेर चिन्तित थिए । तर स्थानीय सरकार र विद्यालयको मतो मिले पछि चुनौतीलाई अवसरमा बदल्न बेर लागेन । 

संकटका बेला शुरु सिकाइका बारेमा पोखरेल सरका कुरा जस्ताको त्यस्तै : 

विश्वब्यापी फैलिएको कोरोना भाईरस महामारीवाट हाम्रो देश पनि अछुतो रहेन । कोरोना महामारीको तिव्र प्रसारलाई रोक्न नेपाल सरकारले संचालनको पूर्व सन्ध्यामा कक्षा १० को परीक्षालाई समेत स्थगित गर्दै देशलाई लकडाउन ग¥यो । हाल लकडाउन अन्त्यको घोषणा गरिए पनि महामारीको संक्रमण र जोखिम झनै तिव्र रुपमा वढेको अवस्था छ । यस अवस्थामा विद्यालयहरु राष्ट्रव्यापि रुपमा बन्द नै छन् । विद्यालय बन्द र महामारी त्रासका कारण बालबालिकाहरुको सिकाइ अवस्था र मनोविज्ञानमा निकै नकारात्मक क्षति पुगेको छ ।

यहि समस्यालाई मध्यनजर गर्दै बालबालिकाको उक्त क्षति न्युनिकरण होस् भन्ने अभिप्रायले केहि सरोकारवालाहरुसँग नियमित समन्वय गरि केहि वैकल्पिक प्रयासहहरु सञ्चालन गरिएको छ । स्थानीय तहसंग समन्वय गरि नयाँ शैक्षिकको लागि माथिल्ला कक्षाका लागि असार १ गत देखिनै रेडियो शिक्षा जारी राखिएको छ ।

विद्यालयबाट यस अवधीमा गरिएका काम यस प्रकार छन् : 

- लकडाउनको बेला महामारीलाई मध्यनजर गर्दै विद्यालयको वेभसाईट र फेसबुक पेज मार्फत शैक्षिक सत्रको नतिजा लाई बैसाख १६ गते नै प्रकाशन गरिएको ।

- बालबालिकालाई हुने संक्रमण जोखिमको ख्याल गर्दै, विद्यालयका शिक्षक परिचालन गरि फोन मार्फत विद्यार्थी लगत संकलन र भर्ना कार्यक्रम सञ्चालन गरिएको ।

- घरमा बसेका बालबालिकालाई सिकाइसंग जोड्न यथेष्ट सामाजिक दुरी कायम गरि कक्षागत समय तालिका अनुसार पाठ्यपुस्तक र छात्रबृत्ति उपलब्ध गराएको ।

- विद्यालय बन्द रहेको वर्तमान अवस्थामा उचित स्वास्थ्य सावधानी र सामाजिक दुरी कायम गरि शिक्षक कर्मचारीलाई विद्यालयमा हाजिर गराई १ हप्ते ‘राईटिङ स्कील वर्कसप’ सञ्चालन गरि प्रश्न बैंक निर्माण एवंम स्थापना गरिएको 

- यहि समयमा शिक्षकहरुको ‘आईटी स्कील’ क्षमता अभिबृद्धि गर्न १ हप्ते अभ्यास कार्यशाला सञ्चालन गरिएको ।

- शिक्षक, वि.ब्य.स र शैक्षिक सरोकारवालाहरुको बृहत अन्तरक्रिया कार्यक्रम सञ्चालन गरि  शैक्षिक कार्ययोजना निर्माणका लागि सुझाव संकलन गरिएको ।

- छोटो अवधिमा पाठ्यक्रम अनुसार कोर्स पुरा गर्नको लागि ‘टिचिङ्ग प्लान’ निर्माण गरिएको ।

- लकडाउनको अवधिमा पनि आ.व. २०७६/ ७७ को अन्त्यसम्म सम्पन्न गर्नैपर्ने भौतिक निर्माण कार्यलाई आवश्यक मापदण्ड पालन सहित जारी राखि कार्य सम्पन्न गरिएको । 

- हप्तामा एक दिन फरक–फरक कक्षाका विद्यार्थी डाकेर विद्यालयले अध्यापन गराउँदै आएको ।

- नगरमा स्थानीय ३ एफएमबाट दैनिक कक्षा सञ्चालन गरेको ।

- सातामा एक दिन स्वाथ्य सर्तकता अपनाउदै विद्यार्थीलाई उपस्थित गराएर विद्यालयले अध्ययनलाई निरन्तरता दिएको । 

यो बर्ष विद्यालयमा नर्सरीमा ४७, कक्ष १ मा २६, २ मा २०, ३ मा ४, ४ मा  १०, ५ मा १२, ६ मा ६५, ७ मा ३४, ८ मा २२ र कक्षा ९ मा १ सय ५६ नयाँ विद्यार्थी भर्ना भएका पोखरेलले जानकारी दिए ।  यो बर्ष कक्षा १० को अन्तिम परीक्षामा २ सय २० जना विद्यार्थी सहभागि हुँदै थिए । परीक्षा नभए पनि उनीहरुको विवरण पठाईसकिएकाले राष्ट्रिय परीक्षा बोर्डले औपचारिक प्रमाणिकरण गर्ना साथ उनीहरु अब ११ कक्षामा पढ्ने छन् । 
विद्यालयमा १० कक्षा सम्म कुल विद्यार्थी १ हजार ६ सय २८ विद्याथी छन् । कक्षा देखि १० सम्म अंग्रेजी र नेपाली माध्यममा अध्यापन गराउदै आएको छ । कक्षा १ देखि ५ सम्म भने अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको छ । 

प्रत्यक्ष कक्षा समेत शुरु गर्न सकिने अवस्था 

अन्यत्रबाट जिल्ला र घर फर्किएका नागरिकहरुका लागि क्वारेण्टाईन स्थलका लागि उपयोग गरिएका विद्यालय निर्मलीकरण गरेर पूर्ववत अवस्थामा राखिएको छ । बैशाख र जेठ महिनामा विद्यालयहरुलाई क्वारेण्टाईन स्थलका रुपमा उपयोग गरिए पनि अहिले सबै विद्यालय खाली गर्दै निर्मलीकरण गरिएको मेयर केसीले बताए । विद्यालय निर्मलीकरण गरिएकोले भदौबाट नगरमा विद्यालय सञ्चालन गर्न कुनै समस्या नभएको उनको भनाई छ । 

- सम्पादकीय नोट : लामो समय देखि टुटेको शिक्षक र विद्यार्थीको सम्बन्ध ​ जोड्न ढिलो गर्नु हुन्न भन्ने कुरा सामुदायिक विद्यायलयका अधिकाँश शिक्षकलाई मन परेको छैन । कक्षा कोठा तथा सिकाइमा कम तर राजनीतिक बहसमा ज्यादा रुची देखाउने आरोप लाग्दै आएका यस्ता शिक्षकहरुको भिडमा केही शिक्षक छन् जो स्वास्थ्य सजगता अपनाउँदै स्थानीय अनुकुल हुने गरी विद्यार्थीको सम्पर्कमा जुट्न थालेका छन् । कोरोना भाईरस (कोभिड-१९) को जोखिमका कारण बन्द भएका विद्यालयको शैक्षिक गतिविधि शुरु गर्न स्थानीय सरकारले गरेका पहल, शिक्षकहरुले अपनाएको नविनतम शैली र देखिएका अन्योल खोज्ने क्रममा यो साता हामीले यो सामग्री प्रकाशन गरेका हौं ...

प्रतिक्रिया