Edukhabar
आइतबार, ३० बैशाख २०८१
खबर/फिचर

सामुदायिकका शिक्षक विद्यार्थी जुटाउँदै, निजीका विद्यार्थी अलपत्र

सोमबार, ०८ भदौ २०७७

गोरखा – पालुङटार नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकले कोरोना कहरबीच पनि विद्यार्थीको घरदैलोमै पुगेर सहजीकरण गरेका छन् । निजी विद्यालयका विद्यार्थीलाई भने वैकल्पिक कक्षाले छुन सकेको छैन ।

आफ्नो क्षेत्रका १० वटै वडाका ५५ वटा विद्यालयका विद्यार्थीमा ईण्टरनेट र टेलिभिजनको पहुँच कमजोर पाइएकोले एफएम रेडियोबाट पढाइ र पाठ्यपुस्तक उपलब्ध गराउन जोड दिएको नगरपालिकाले जनाएको छ । ११ वटा निजी विद्यालयका विद्यार्थीलाई भने वैकिल्पक कक्षामा समावेश गर्न नसकिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख बाबुराम काराखेतीले बताए । 

‘निजी विद्यालयले शिक्षकलाई तलब नदिँदा सँगसँगै लैजान सकिएन’ उनले भने, ‘सामुदायिक विद्यालयकै शिक्षकले सहजीकरण गरेका ठाउँमा आएर निजीका केहि विद्यार्थीले पठनपाठन त गरे तर सबैलाई समेट्न सकिएन,’ तर पाठ्यपुस्तक भिन्न भएकाले उनीहरुको सिकाइलाई एकीकृत गर्न नसकिएको उनी बताउँछन् । 

नगरपालिकाले सिकाइ क्रियाकलापको अनुगमन समेत गरेको थियो । त्यसमा ३० प्रतिशत सम्म सिकाइ उपलब्धी हासिल गरेको पाइएको नगरपालिकाले दावी गरेको छ । शिक्षकहरुले कम्तिमा साप्ताहिक रुपमा बालबालिकालाई गृहकार्य दिँदा उनीहरु पढाई लेखाईमा भुलेको अभिभावकहरु बताउँछन् ।

नगरपालिका भित्र सामुदायिक विद्यालयमा ४ सय ४१ शिक्षक छन् । त्यहाँ ७ हजार विद्यार्थी अध्ययरत छन् । ११ निजी विद्यालयमा करिब १ सय ५० शिक्षक र २ हजार हाराहारीमा विद्यार्थी रहेको तथ्याङ्क छ । 

‘निजी विद्यालयको मुख्य श्रोत भनेकै विद्यार्थीबाट उठ्ने शुल्क हो, त्यही शुल्कबाट शिक्षक तलब सहित संचालन खर्च जुट्ने त हो’ उनले भने, ‘कोरोनाका कारण शुल्क उठाउने अवस्था रहेन, अनी त पठनपाठन पनि ठप्प रह्यो ।’

नगरपालिकाले वैकिल्पक कक्षामा सक्रिय हुन आव्हान गरे पछि सामुदायिकका शिक्षकहरु समय तालिका नै बनाएर विद्यार्थी काउन्सिलिङमा खटिएका छन् । वडा नम्बर ७ को जनज्योति माध्यमिक विद्यालय च्याङलीले शिक्षकहरुलाई विद्यार्थीको घरघरमा पुग्न कार्यविभाजन गरेको थियो । २५ शिक्षकको सिकाइा सहजीकरण कार्यक्रम तालिका बनाएर सामाजिक सञ्जालबाटै सार्वजनिक गरिएको छ । ३/३ जना शिक्षकको समुह बनाएर शिक्षकलाई घरपायक पर्ने टोलमा खटाएको विद्यालयले जनाएको छ ।

‘नगरपालिकाले वैकल्पिक कक्षा सञ्चालन गर्न आग्रह गर्यो’ शिक्षक रविन्द्र कडेंलले भने, ‘विद्यालय र शिक्षकले पहल गरेर विद्यार्थीलाई रेडियो, टेलिजिभनबाट प्रशारण भएका पाठ सुन्न र हेर्न प्रोत्साहन गर्यौं ।’

नगरपालिकाले हरेक वडामा वरिष्ठतम प्रधानाध्यापकको संयोजकत्वमा वैकल्पिक कक्षा सञ्चालन समिति बनाएको थियो । विद्यालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजिकरणको लागि तथ्याङ्क फाराम बनाएर विद्यार्थी र अभिभावकको समेत बिवरण संकलन गरेका थिए । फाराममा विद्यार्थीको प्रविधिमा रहेको पहुँचको समेत सर्वेक्षण गरिएको थियो । 

समहुमा खटिएका शिक्षकले रेडियो, टिभी कक्षामा अस्पष्ट भएका विषयवस्तु बालबालिकालाई प्रष्टाउने काम गरेका थिए । पालुङटारकै अकला माविले सरकारले वैकल्पिक कक्षा सुरु गर्नु अघि नै खुल्ला र दुर शिक्षाको कार्यक्रम सुरु गरेको थियो । ६ सय ५० विद्यार्थीलाई गृहकार्य तयार पारेर शिक्षक घरघर जान्थे । 

‘सुरुमा गृहकार्य तयार पारेर विद्यार्थीको घरघर आलोपालो शिक्षक जान्थ्यौं,’ सहायक प्रधानाध्यापक राजेन्द्र रोकाले भने, ‘सरकारले वैकल्पिक कक्षा सुरु गरेपछि रेडियो, टेलिभिजनका कक्षाको सहजीकरण गर्न थाल्यौं ।’

कोरोना महामारीको जोखिमका कारण गृहकार्य लिएर घरघर जान समस्या हुन थाले पछि विद्यार्थीको निश्चित समुह बनाएर सार्वजनिक स्थलमा सहजीकरण गराउन थालिएको रोकाले जनाए । 

‘घरघर जाँदा शिक्षक विद्यार्थी दुबैलाई कोरोना संक्रमणको जोखिम पनि बढि हुने, एउटै शिक्षक धेरै विद्यार्थीको घरघर डुल्दा समय पनि धेरै दिन नसकिने भयो,’ उनले भने, ‘समुह बनाएर कक्षा पिच्छे विद्यार्थीलाई आलोपालो सामुदायिक भवन, खुल्ला स्थलमा डाक्न थाल्यौ ।’ 

शिक्षकहरु पनि विद्यार्थीलाई एक्ला एक्लै भन्दा समुहमा सहजीकरण प्रकावकारी हुने बताउँछन् । विद्यार्थीले शिक्षक बाहेक साथीबाट पनि सिक्ने मौका पाउने उनीहरुको अनुभव छ । जनप्रतिनिधि र नगरपालिकाले प्रोत्साहन गरेका कारण पनि महामारीका बेला वैकल्पिक पठनपाठन विधि सञ्चालन गर्न सहज भएको उनीरुको भनाई छ । 

‘पाठ्यपुस्तक वितरण देखि विद्यार्थीलाई सुचना आदान प्रदान गर्न प्रत्येक वडाको टोलटोलमा रहेको टोल विकास संस्थासँग समन्वय गर्यौं,’ रोकाले भने, ‘यो निकै प्रभावकारी भयो ।’ 

विद्यालयले एसईई दिएर बसेका विद्यार्थी र  उच्च शिक्षा अध्ययन गर्दै गरेका तर कोरोनाले घरमा नै बसेका विद्यार्थीलाई समेत समुदायमा परिचालन गरेको थियो । 

‘वडा कार्यालयसँगको समन्वयमा आफ्नै छिमेकका बालबालिकालाई पढाउन एसईई र क्याम्पस पढ्ने विद्यार्थीलाई खटाएका हौं,’ उनले भने ।   

नगरपालिकाका वडा नम्बर ८ का अध्यक्ष शंकरराज कडेंलले नगर शिक्षाले अभियान नै चलाएर बस्तीबस्तीमा शिक्षक पठाएको जनाए । 

‘विद्यार्थीलाई गृहकार्य दिन शिक्षकहरु घरघरमा गए,’ उनले भने, ‘फेरि ५/७ दिनमा गृहकार्य परिक्षण गर्न पनि शिक्षकलाई विद्यार्थी सम्म पुर्याउने मोडल लागु गरियो ।’ 

पूर्व शिक्षक समेत रहेका कडेंलले सचेत अभिभावक रहेका घर परिवारका अधिकाँश बालबालिका वैकल्पिक कक्षामा सहभागि भएको जनाए । 

‘सहज बेलामा पनि छोरोछारीलाई स्कुल पठाउ भनेर आग्रह गर्नुपर्ने अभिभावक भएका ठाउँका बालबालिकालाई समेट्न गाह्रो छ’ उनले भने । सम्भव भएसम्म शिक्षकहरुले विद्यार्थीलाई भेटेर सिकाइ क्रियाकलापमा सहभागी गराउने र पृष्ठपोषण दिने काम गरेको उनले जनाए ।

पालुङ्टार नगरपालिकाको शिक्षा शाखाले वैकल्पिक कक्षा चलाउन वडाहरुमा सिकाइ संयोजक तोकेको थियो । नगरपालिका भित्रका प्रधानाध्यापकहरुको बैठकले प्रत्येक वडामा सिकाइ संयोजक तोक्ने काम गरेको थियो । शिक्षा मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ कार्यान्वयन तथा अनुगमन गर्ने र सिकाइलाई प्रभावकारी बनाउने उदेश्यले सिकाइ संयोजक तोकिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख काराखेतीले जानकारी दिए । उनका अनुसार हरेक वडामा रहेका मध्ये माथिल्लो कक्षा सञ्चालन गर्ने उच्चतम विद्यालयका प्रधानाध्यापकहरु संयोजक रहने र फिडर विद्यालयका प्रधानाध्यापकहरु सदस्य रहने व्यवस्था गरिएको थियो । संयोजकले समन्वय गरी वडा भित्रको सिकाइ सहजीकरणको अनुगमन गर्ने व्यवस्था मिलाइएको हो । नगरपालिकाले नै वडा भित्र रहेका विद्यालय बीच सहकार्य गर्ने वातावरण बनाईदिए पछि वैकल्पिक कक्षा सञ्चालनमा सहज भएको शिक्षकहरु बताउँछन् ।

नगरपालिका भित्रका विद्यालयहरुले गत जेठमा नै सामुदायिक सिकाइ केन्द्रमा विद्यार्थी र अभिभावक बोलाएर पाठ्यपुस्तक वितरण गरेका थिए । त्यहि क्रममा आफ्ना सेवा क्षेत्रका बालबालिकाको अभिलेखिकरण समेत गरिएको थियो । कतिपय विद्यालय क्वारेण्टाईन बनाइएका कारण सिकाइ केन्द्रबाट पुस्तक वितरण गरिएको जनप्रतिनिधिहरु बताउँछन् । अभिलेखिकरण गर्न छुटेका विद्यार्थीलाई फेरि सम्र्पकमा बोलाइएको थियो । विद्यार्थीलाई सामुदायिक भवन, सिकाइ केन्द्र, महिला समुह, युवा समुह, प्राथमिक विद्यालय, चर्च, कृषि भवनमा बोलाएर पनि सिकाइ सहजीकरण गरिएको शिक्षकहरु बताउँछन् ।  

नगरपालिकाले स्थानीय एफएम रेडियोसँग सहकार्य गरेर कक्षागत पाठहरु प्रशारण गरेको छ । पालुङटार नगरपालिमा भित्र सुनिने छिमेकी तनहुँ जिल्लाका एफएम रेडियोबाट पनि पाठहरु प्रशारण गर्ने व्यवस्था मिलाएको काराखेतीले जनाए । छिम्केश्वरी, पालुङटार, बन्दीपुर, पावर र गोरखा सहित ५ वटा एफएमबाट कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए । ‘विद्यार्थीलाई पाठ सुन्ने व्यवस्था मिलाउन अभिभावक, बुद्धिजीवी, युवा समुह, महिला समुहलाई भन्यौ’ उनले भने, ‘शिक्षकहरुलाई अनुगमनमा परिचालन गर्यौं ।’ 

शिक्षा तथा मावन स्रोत विकास केन्द्रले तयार पारेका पाठहरु र केहि स्थानीय विषय शिक्षकले तयार पारेका पाठहरु प्रशारण गर्ने व्यवस्था मिलाइएको थियो । केन्द्रले टेलिभिजनबाट प्रशारण गरेका पाठहरु हेर्न सुन्न विद्यार्थीलाई विद्यालय मार्फत आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरे पछि भने भाद्र २ गतेबाट शिक्षक विद्यार्थी ‘फेस टु फेस’ हुने अवस्था नरहेको शिक्षकहरुले बताए । ‘विद्यार्थीले एफएम रेडियो, टेलिभिजनबाट पाठ सुन्ने पढ्ने गरेका छन्’ उनले भने, ‘शिक्षकहरु विद्यार्थीसम्म पुगेर सहजीकरण गर्ने काम हुन सकेको छैन ।’ 

जिल्लाभर भाद्र १४ गतेसम्मलाई निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा खुकुलो भए पछि फेरि शिक्षकहरु परिचालन गरिने शिक्षा शाखाले जनाएको छ । 

‘जमघट रोकिएको मात्रै हो, अहिले पनि बालबालिकाले एफएम रेडियोबाट पाठ सुन्ने काम गरेका छन्, शिक्षक अभिभावकहरुलाई विद्यार्थीले पढे नपढेको ख्याल राख्न भनेका छौँ’ उनले भने, ‘अवस्था सहज हुने बित्तिकै फेरि शिक्षकहरुलाई टोलटोलमा पठाउँछौं ।’ 

विद्यालय खुल्ने र साविककै शैलीमा पठन पाठन हुने सम्भावना तत्कालै देखिन्न । संकट छ, स्वास्थ्य सावधानी अपनाउनु मुख्य कुरा हो । तर महामारी देखाएरै शिक्षकहरु घर घरमा चुप बस्ने, स्थानीय सरकार पनि वास्ता नगर्ने हो भने कहिले सम्म बालबालिकाको सिकाइ रोकिराख्ने ?

यो प्रश्नको उत्तर खोज्न ईच्छा भएका कोही शिक्षक र स्थानीय सरकारका जनप्रतिनिधि छन् भने पालुङटारले अपनाएको यो शैली उनीहरुका लागि उदाहरणीय अभ्यास हुन सक्छ । 

- सम्पादकीय नोट : लामो समय देखि टुटेको शिक्षक र विद्यार्थीको सम्बन्ध ​ जोड्न ढिलो गर्नु हुन्न भन्ने कुरा सामुदायिक विद्यायलयका अधिकाँश शिक्षकलाई मन परेको छैन । कक्षा कोठा तथा सिकाइमा कम तर राजनीतिक बहसमा ज्यादा रुची देखाउने आरोप लाग्दै आएका यस्ता शिक्षकहरुको भिडमा केही शिक्षक छन् जो स्वास्थ्य सजगता अपनाउँदै स्थानीय अनुकुल हुने गरी विद्यार्थीको सम्पर्कमा जुट्न थालेका छन् । कोरोना भाईरस (कोभिड-१९) को जोखिमका कारण बन्द भएका विद्यालयको शैक्षिक गतिविधि शुरु गर्न स्थानीय सरकारले गरेका पहल, शिक्षकहरुले अपनाएको नविनतम शैली र देखिएका अन्योल खोज्ने क्रममा यो साता हामीले यो सामग्री प्रकाशन गरेका हौं ...

प्रतिक्रिया