Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

जहाँ पायक पर्छ, त्यहीँ पठन पाठन

मंगलबार, २३ भदौ २०७७

बारपाक (गोरखा) - गत १९ गते शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक विद्यार्थी सम्म पुग्नुको विकल्प नरहेको बताउँदै काठमाडौंमा भर्चुअल प्रेस मिट गरिरहँदा यहाँका शिक्षकहरु बालबालिकाको सिकाइमा जुटेको २ साता बितिसकेको थियो । ६ महिना देखि भेटघाट टुटेका शिक्षक र बालबालिकाको सम्बन्ध गत भदौ १ गतेबाट जुटेको मात्रै छैन, सिकाइको प्रकृया पनि शुरु भएको छ । २०७२ सालको महाभुकम्पको केन्द्र बिन्दु बारपाकमा हिजो आज शैक्षिक गतिविधि सहित पूर्वाधार निर्माण पनि जारी छ । टोलटोलमा खटिएका शिक्षकलाई कोरोनाबाट बच्न सचेतना जगाउने काममा समेत संलग्न हुन बारपाक सुलिकोट गाउँपालिकाले आह्वान गरेको छ । 

बालबालिकालाई पायक पर्ने गरी टोलटोलमा निर्धारण गरिएका विभिन्न सिकाइ केन्द्रमा पुग्ने शिक्षकले कोरोनाबाट बच्ने उपाय, रोकथाम, नियन्त्रण आदिका बारेमा सचेतना पनि जगाएका छन् । बालबालिका सचेत भएमा अभिभावकलाई पनि सचेत गराउन सजिलो हुने ठहर गरेर यो विधि अपनाईएको गाउँपालिका अध्यक्ष विष्णु भट्ट बताउँछन् । विद्यार्थी, शिक्षकले साबुपानीले हात धोए पछि मात्रै सिकाइ केन्द्रमा प्रवेश पाउने व्यवस्था मिलाईएको छ । टोलटोलमा तोकिएका सिकाइ केन्द्रमा भने शिक्षकहरुले विद्यार्थीलाई गृहकार्य दिने, परिक्षण गर्ने, उनीहरुको जिज्ञासा समाधान गर्ने गर्छन् । 

‘घरैमा बसेर रेडियो, टेलिभिजन कक्षामा सहभागी भए नभएको पनि शिक्षकले अध्ययन गर्छन्, त्यसका लागि विद्यार्थीलाई सार्वजनिक भवन, खुल्ला स्थान र विद्यालयमा डाकिन्छ’ भट्टले भने ‘शिक्षक र विद्यार्थीको समुह समुह बनाएर पायक पर्ने स्थानमा भेटघाट गर्ने प्रबन्ध मिलाईएको छ ।’ 

शैक्षिक सत्रको ५ महिना वितिसक्दा पनि बालबालिकाको सिकाइका बारेमा प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भए पछि सरकारले पाठ्यक्रम संश्लेषण गर्दै वैकल्पिक सिकाइलाई मान्यता दिने निर्णय गरिसकेको छ । संश्लेषित पाठ्यक्रमलाई भदौ महिना भित्र विद्यालयहरुमा पुर्याउने निर्णय गरेको शिक्षा मन्त्री पोखरेलले उक्त दिनमा सार्वजनिक गरेका थिए । 

बाहिर गएका शिक्षक फर्किए, बाँकी आउँदै   

विद्यालय खोल्न सम्भव नभए पनि शिक्षकलाई बालबालिका सम्म पुर्याउन र शैक्षिक गतिविधि शुरु गर्न ढिलो गर्न नहुने विज्ञहरुले सुझाव दिदैं आएका थिए । टेलिफोन वा त्यो पनि सम्भव नभएका ठाउँमा भौतिक दुरी कायम गरी विद्यार्थीसँग भेटघाट गरेर गृहकार्य एवम् परियोजना कार्य दिने, अध्ययनका लागि परामर्श गर्ने जस्ता कामहरुमा जुट्न मन्त्री पोखरेलले शिक्षकलाई आह्वान गरेका थिए । 

बारपाकमा भने त्यो भन्दा पहिले नै शिक्षकहरुलाई सिकाइमा संलग्न गराई सिकिएको थियो । पालिका भित्र रहेका २ सय ५९ जना शिक्षक मध्ये २० जना शिक्षक जिल्ला बाहिरका थिए । उनीहरुलाई भदौ १ गते भित्र विद्यालयमा हाजिर हुन पालिकाले सूचना जारी गरेको थियो । उनीहरु आउनु अघि गाउँमै रहेका शिक्षकहरुले केन्द्र निर्धारण लगायतका अन्य व्यवस्थापकीय काम सकि सकेका थिए । 

यही बिचमा धादिङ, रौतहट, मकवानपुर चितवन लगायतका जिल्लाबाट ११ जना शिक्षक आई सकेका छन् । गाउँ फर्केका शिक्षकलाई बस्न पालिकाले क्वारेण्टाईन बनाएको छ । ती मध्ये १० शिक्षक १४ दिन क्वारेण्टाईन बसेर काममा जुटिसकेका छन् । एक जनाको होम क्वारेण्टाईन जारी छ । बैतडि, सल्यान लगायतका जिल्लाबाट आउन पर्ने बाँकी ९ जना शिक्षक पनि सम्पर्कमा रहेको र चाँडै आउने तयारीमा रहेको पालिकाले जनाएको छ । बालबालिकाको सिकाइमा शिक्षक परिचालनमा पालिका गम्भिरतापूर्वक  लागेको प्रशासकीय प्रमुख गौतम भण्डारी बताउँछन् । 

'१५/१५ जना विद्यार्थीको समुह  भेला पारेर पठनपाठन गरिएको छ, प्रत्येक जमघटम १५ जना भन्दा धेरै बालबालिका नराख्ने तथा भौतिक दुरी कायम गर्न र मास्क अनिवार्य लगाउन सर्कुलर गरिएको छ' उनले भने । 

शिक्षक जुटे पठन पाठनमा 

बारपाक सुलिकोट गाउँपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयले कोरोना त्रासकै बीच टोलटोलमा कक्षा सञ्चालन गरेको छ । ६ महिना देखि शिक्षक विद्यार्थीको आवागमन ठप्प हुँदा झाडी र झारले ढाक्दै गएको यो विद्यालयको भवन भूकम्पले ढालेको थियो । झण्डै तिन वर्ष अस्थायी टहरोमा मुस्किलले पठन पाठन भयो । अहिले सुविधा सम्पन्न विद्यालय भवन त ठडिएको छ तर विद्यालयमा अध्ययनरत साढे ५ सय विद्यार्थीलाई डाकेर कक्षा चलाउने अवस्था छैन !

‘त्यत्रो भुकम्पको पिडा त झेलियो एक दिन कसो विद्यालयमै बसेर पढाउन नपाईएला !’ प्रधानाध्यापक जनीबहादुर घलेको विश्वास दह्रो छ । 

त्यही विश्वास मनमा लिएर अहिले उनको टिम विद्यालयले बनाएको विभिन्न ३० वटा केन्द्रमा विद्यार्थीको सिकाइमा व्यस्त छ । शिक्षकले टोट टोलमा पुगेर पढाउन थालेका छन् । विद्यार्थीले पढे नपढेको रेखदेख पनि सँगसँगै गरिएको घले बताउँछन् । 

सदरमुकाम गोरखा बजारबाट ५० किलोमिटर उत्तरको बारपाक गाउँ करिब १४ सय घरधुरी एकै ठाउँमा झुरुप्प परेको लमतन्न बस्ती हो । 

त्यहि बस्तीको चोक चोकमा सिक्न सिकाउन शिक्षक विद्यार्थी हाजिर हुन्छन् । 

‘हामी सबै शिक्षक मास्क लगाएर टोल–टोल पुग्यौँ, पहिलो दिन कोरोना बाट बच्ने उपायको बारेमा सिकाउने काम भयो, त्यस पछि पाठ्यक्रमको विषयवस्तुमा छलफल हुन थाल्यो’ घलेले भने । 

भिडभाड नगर्न, हात धुने तथा सरसफाईमा ध्यान दिन, बाहिर जानै परे दुरी कायम गर्न विद्यार्थीलाई सुझाव दिएको शिक्षकहरु बताउँछन् । नियमति रुपमा कहिलेबाट विद्यालय खुल्छ भनेर त्यहाँका विद्यार्थी अभिभावकले चिन्ता व्यक्त गरेका छन् । 

बारपाक ४ को हिमालय मावि सौरपानीले पनि  विद्यार्थीलाई ८ वटा टोल र समुहमा बाँडेको छ । 

‘विद्यालय आसपासका विद्यार्थीलाई विद्यालयमै केन्द्र वनाएका छौं, अन्य ठाउँका  टोल पिच्छे केन्द्र छ’ प्रधानाध्यापक ठाकुर पनेरुले भने, ‘दैनिक तीन घण्टाको दरले विद्यार्थीलाई पठनपाठन गराउन थालिएको छ, कुन टोलबाट कति विद्यार्थी सहभागी भए भन्ने अभिलेख पनि राख्ने गरिन्छ ।’

विद्यालय वरपरका बालबालिका प्रवेशद्धारमै साबुन पानीले हात धोएर कक्षा कोठामा प्रवेश गर्छन् । कक्षा कोठामा भौतिक दुरी कायम गरेर बस्छन् । विद्यालयले पनि अनिवार्य साबुन पानीले हात धुन र माक्स लगाउन भनेको छ । मास्क नलगाउनेलाई  विद्यालयले नै मास्क उपलब्ध गराउने गरी पालिकासँग छलफल शुरु भएको छ । लामो समय सम्म विद्यालय आउन नपाएका विद्यार्थी वैकल्पिक कक्षा शुरु भएसँगै उत्साहित भएका शिक्षकहरु बताउँछन् । 

गाउँपालिकाका विद्यालयहरुले ईण्टरेनट, रेडियो, टेलिभिजनमा पहुँच भएका र प्रविधिका कुनै पनि साधनमा पहुँच नपुग्ने विद्यार्थीको तथ्याङ्क समेत लिएका छन् । भर्ना भएका मध्ये करिब ९० प्रतिशत विद्यार्थी सम्र्पकमा रहेको विद्यालयहरुले जनाएका छन् । पालिका भित्र करिव साढे ५ हजार विद्यार्थी अध्ययनरत रहेको पालिकाले जनाएको छ । यी मध्ये कतिपय बालबालिकालाई त्रासका कारण अभिभावकले नपठाएको शिक्षकहरुले बताए । सरकारले शैक्षिक सत्रको औपचारिक मान्यता दिने भए पछि झन् प्रभावकारी बनाउने उपायहरु खोज्न थालिएको पनेरु बताउँछन् । 

गाउँपालिकाले आग्रह गरे पछि शिक्षकहरु विद्यार्थीको सिकाइलाई निरन्तरता दिन विद्यार्थी खोज्दै टोल–टोलमा पुगेका स्थानीय अभिभावकहरु बताउँछन् । विद्यार्थीको जमघट गराउँदा संक्रमण झन् फैलने हो कि भन्ने चिन्ता चाँहि उनीहरुलाई छ । ‘घरमा कति दिन राख्ने, बालबालिकाले पढ्न लेख्न नै भुल्न थालिसके, केहि पनि नहुनु भन्दा त, साथीभाई भेट्छन्, शिक्षकसँग कुरा गर्छन्, २ –४ कुरा सिक्छन,’ स्थानीय रुद्रनाथ ढकालले भने ।

विद्यालयहरुले आफ्नो अनुकुलता अनुसार सिकाइ सहजिकरण केन्द्र निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ । सामुदायिक भवन, नजिकका विद्यालयलाई सिकाइ केन्द्रको रुपमा प्रयोग गरिएको छ । वडा नम्बर ६ को ताकुकोटको सुर्य ज्योति माध्यमिक विद्यालयले ११  केन्द्र र शिक्षकको ११ समुह बनाएको छ । त्यहाँ दुई चरणमा पढाइ हुन्छ । 

‘विषय मिल्ने गरि शिक्षकहरुको समुह बनाएका छौ’ विद्यालयका प्रध्यानाध्यापक हरिराम दवाडीले भने, ‘आइतबार देखि विहिबार सम्म टोल–टोलमै पढाइ हुन्छ ।’ 

भदौ २ गते पालिका भरिका विद्यालयका प्रध्यानाध्यापकको वैठकले एकैसाथ वैकल्पिक शिक्षा शुरु गर्ने निर्णय पश्चात अभियान शुरु भएको उनले बताए । ‘लामो समय सम्म विद्यार्थी विद्यालय आउन पाएनन्, शैक्षिक सत्रको पनि आधा–आधि हुन लाग्यो, विद्यार्थीले कापी किताव नै हराउन थाले’ उनले भने, ‘यसरी टोलमै पुग्दा विद्यार्थी र शिक्षक, पढाइ र विद्यार्थीको सम्वन्ध शुन्यतामा जाने संभावना रहदैन ।’
बारपाक सुलिकोट गाउँपालिकामा १० मावि, प्रावि निमावि सहित ३१ आधारभुत र ७ बालविकास केन्द्र छन् । ती सबै विद्यालयमा अहिले वैकल्पिक सिकाइको अभियान शुरु भएको गाउँपालिकाका शिक्षा संयोजक भिम कुमार श्रेष्ठ बताउँछन् । 

‘पहिले त्रासै त्रासले गर्दा संचालन गर्न सकिएन, अहिले नियमित रुपमा टोल–टोलमा वैकल्पिक सिकाइको अभियान भइरहेको छ,’ उनले भने । 

साउन अन्तिम सम्म गाउँपालिमामा कोरोना संक्रमित रहेको र केहि विद्यालयमा क्वारेण्टाईन बनाएका कारण पनि कक्षा चलाउन नसकेको उनले जनाए ।

गाउँपालिकाले प्रविधिको पहुँचमा नभएका बालबालिकालाई शिक्षा तथा मावन स्रोत विकास केन्द्रले तयार पारेको स्वःअध्ययन पुस्तिका छपाइ गरेर वितरण थालेको छ । पहिलो चरणमा २ हजार ४ सय प्रति पुस्तिका छपाइ गरेर निशुल्क वितरण गरिएको छ । शिक्षक विद्यार्थीले त्यहि पुस्तिकालाई आधार मानेर पठनपाठन गरेका छन् । अहिले गाउँपालिकामा कोरोना संक्रमितको संख्या शुन्यमा पुगेको छ । संक्रमण देखिएकाहरु पनि निको भएर घर फर्किसकेका छन् । 

‘पालिकामा अहिले संक्रमित भएर उपचाररत कोहि पनि छैनन्, जोखिम कम हुँदै गएको अवस्थामा घरमै वसेका विद्यार्थीलाई केहि कुरा सिक्न सिकाउन पाउँदा राम्रो भए झै लाग्छ,’ श्रेष्ठले भने, ‘गोरखा जिल्ला भर दुइ साता निषेधाज्ञा थियो, बाहिरबाट मान्छे आउजाउ थिएन,  त्यो बेला टोल–टोल पुग्न सहज भएको महसुस गरेका थियौँ । 

निषेधाज्ञा खुले पछि मान्छेको चहलपहल बढेको र अभिभावकहरुले पनि शिक्षक एउटा टोलबाट अर्को टोल पुग्दा जोखिम बढेको गुनासो गरेकाले केही अफ्ठ्यारो स्थिति सिर्जना भएको श्रेष्ठ बताउँछन् । जोखिमको अवस्था हेरेर आवश्यकता अनुसार अभियान स्थगित गर्न पनि सकिने श्रेष्ठले संकेत गरे ।

अहिलेको अवस्था भनेको महामारीको अवस्था हो । यस्तो प्रतिकुल समयमा साविककै शैलीमा विद्यालय खोलेर पठन पाठन हुन्छ भनेर कुर्नु भनेको बालबालिकाको सिकाइमा अवरोध कायम गर्नु हो । जहाँ प्रविधिको पहुँच छ त्यहाँ प्रविधिबाट सिकाइ हुन्छ, जहाँ सहज प्रविधि पहुँच छैन त्यहाँको विकल्प भनेको स्वास्थ्य सावधानी अपनाउँदै शिक्षक र बालबालिकाको सम्बन्ध जोडिराख्ने उपाय अवलम्बन नै हो । बारपाक सुलिकोट गाउँपालिकाको यो अभ्यास पनि 'जहाँ जे उपलब्ध छ, त्यही अपनाउने शैली'को एउटा उदाहरण हो । 

 सम्पादकीय नोट : लामो समय देखि टुटेको शिक्षक र विद्यार्थीको सम्बन्ध ​ जोड्न ढिलो गर्नु हुन्न भन्ने कुरा सामुदायिक विद्यायलयका अधिकाँश शिक्षकलाई मन परेको छैन । कक्षा कोठा तथा सिकाइमा कम तर राजनीतिक बहसमा ज्यादा रुची देखाउने आरोप लाग्दै आएका यस्ता शिक्षकहरुको भिडमा केही शिक्षक छन् जो स्वास्थ्य सजगता अपनाउँदै स्थानीय अनुकुल हुने गरी विद्यार्थीको सम्पर्कमा जुट्न थालेका छन् । कोरोना भाईरस (कोभिड-१९) को जोखिमका कारण बन्द भएका विद्यालयको शैक्षिक गतिविधि शुरु गर्न स्थानीय सरकारले गरेका पहल, शिक्षकहरुले अपनाएको नविनतम शैली र देखिएका अन्योल खोज्ने क्रममा यो साता हामीले यो सामग्री प्रकाशन गरेका हौं ...

प्रतिक्रिया