Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

सार्क शिक्षा मन्त्री स्तरीय भर्चुअल बैठक : कोभिड १९ पछिको अभ्यास र अनुभव आदान प्रदान

विहीबार, २२ असोज २०७७

काठमाडौं - कोभिड १९ ले सार्क राष्ट्रहरुको शिक्षा क्षेत्रमा पारेको प्रभाव, यस क्षेत्रमा भएका अभ्यास र अनुभवको आदान प्रदान गरिएको छ । नेपाल सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय र सार्क सचिवालयको सहकार्यमा आयोजना गरेको सार्क शिक्षा मन्त्री स्तरीय भर्चुअल बैठकमा सार्कका सबै सदस्य राष्ट्रहरूको सहभागिता रहेको थियो । 

उक्त छलफलमा कोभिड १९ सहित अन्य महामारीमा आगामी दिनमा पारस्परिक सहयोग अझ मजबुत गराउने तथा सार्क सदस्य राष्ट्रहरूबाट विकास गरिएका विद्युतीय सामग्रीको प्रयोग र उच्च शिक्षामा फ्याकल्टी विकास जस्ता कार्यहरूमा सहकार्य गर्न सकिने कुरा व्यक्त गरिएको बैठक पछि शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

'बैठकमा छलफल भएका विषय वस्तुहरूमा मुलतः दुर्गम क्षेत्रमा सिकाइ सहजीकरण, शैक्षिक संस्था पुनः सञ्चालन,  शैक्षिक सत्रको कार्यान्वयन, शिक्षण सिकाइ सामाग्री विकास, सार्वजनिक परीक्षाको व्यवस्थापन तथा शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग जस्ता विषयहरू समेटिएका थिए' विज्ञप्तिमा भनिएको छ, 'यसका साथै शिक्षा सम्बन्धी दिगो विकासको लक्ष्य र सार्क कार्ययोजना खाकाको कार्यान्वयनको विषयमा पनि छलफल भयो ।'

बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कोभिड १९ जस्ता महामारीबाट शिक्षा क्षेत्रले व्यहोर्न पर्ने चुनौतीको सामना गर्न यस प्रकारको बैठकले क्षेत्रीय स्तरमा सामूहिक तत्परताको विकास गर्ने उल्लेख गरे । 
बैठकमा सदस्य राष्ट्रहरूबाट आ आफ्नो देशमा कोभिड १९ को संक्रमणले सृजना गरेको शैक्षिक समस्या तथा चुनौतिहरूको बारेमा उल्लेख गरिएको थियो । नेपालको शैक्षिक अवस्था र प्रयासहरूको सन्दर्भमा सचिव गोपीनाथ मैनालीले प्रस्तुत गरेका गिथए भने बैठकको अध्यक्षता मन्त्री पोखरेलले गरेका थिए ।  बैठकको शुरुमा सार्कका महासचिव इसाला रुवान विराकुनले सार्क मुलुकमा कोभिड १९ को संक्रमणको समग्र अवस्थाको चर्चा गरेका थिए । 

फोटो : सार्क सचिवालय 

प्रतिक्रिया