Edukhabar
विहीबार, १३ बैशाख २०८१
शिक्षामा यो साता

एक्ला सत्याग्रही

आइतबार, २५ असोज २०७७

काठमाडौं - चिकित्सा शिक्षा क्षेत्रका बेथिती विरुद्ध सत्याग्रह गर्दै आएका प्रा.डा. गोविन्द केसीको १९ औं सत्याग्रहको २३ दिन विते पछि औपचारिक रुपमा चासो देखाएको सरकारले २७ औं दिनमा गएराती केसीका मागमा सहमती जनाएको छ । उक्त सहमती पछि केसीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर आईतबार विहान १९ औं सत्याग्रहको अन्त्य गरेका छन् । सत्याग्रहको २४ औं दिनमा शिक्षा सचिव गोपीनाथ मैनाली संयोजकत्वमा गठित वार्ता टोली र केसी बिच गएराती ८ बुँदे सहमती भएको थियो । 

उक्त सहमतीका अधिकाँश बुँदामा विगतका जस्तै गर्ने, तिव्रता दिने, अघि बढाउने  जस्ता भाषा प्रयोग गरिएको छ । विगतका पटक पटकका सत्याग्रह पछि सहमती गर्न हरेक पटकका तत्कालिन सरकारले यस्तै भाषा प्रयोग गर्ने तर कार्यान्वयन नगर्ने क्रम निरन्तर छ । यस पटकको सहमतीले पनि विगतका क्रम भंग गर्न सकेको देखिदैंन । कोभिड र आकस्मिक बाहेकका उपचार नगर्ने चिकित्सक सँगको घोषणा पछि सरकारलाई केसीसँग सहमती गर्न दवाव परेको थियो । तसर्थ मध्यरात सम्म वार्ता गरेर सहमती गरिएको हो । 

पढ्नुहोस् सहमतीका बुँदा : २३ दिनमा चासो, सहमती गर्न ३ दिन !

गत साताका सञ्चार माध्यममा प्रकाशित खबरमा केसी सत्याग्रहमा बसेको तीन साता पुरा हुनै लाग्दा उनको स्वस्थ्य अवस्था बिग्रदै गए पनि उनका माग पुरा गर्ने सम्बन्धमा सरकारले कुनै चासो नदेखाएको विषयले प्राथमिकता पाएको थियो । विभिन्न समूह र सार्वजनिक दवावको कारण शिक्षण अस्पताल पुगेको सरकारको प्रतिनिधि टोलीलाई पनि केसीले वार्ता टोली गठन गरेर मात्रै भेट्न आउन सुझाव दिएका थिए । सोही आधारमा सरकारले बनाएको टोलीसँग पटक पटक भएको छलफल पछि सहमती बनेको हो । 

डा. केसीका अधिकांस माग पुरा भैरकेको र कतिपय माग पुरा हुने चरणमा रहेको बताउँदै सरकारी टोलीले उनलाई सत्याग्रह अन्त्य गर्नका लागि अनुरोध गरेको थियो । केसीको माग आफूहरुको क्षेत्राधिकारमा नपर्ने भन्दै  सरकारी  निकायहरू उनका माग पुरा गर्नबाट पञ्छिने गरेका छन् ।

यही बिचमा पूर्व राष्ट्रपति डा. रामवरण यादव र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्याग्रह स्थलमै पुगेर केसीसँग भेटघाट गर्नुको साथै उनका माग अविलम्ब सम्बोधन गर्न सरकार समक्ष अनुरोध गरेको विषय गत साता प्रमुख खब थिए । प्रमुख प्रतिपक्षि दलका नेता, सत्तारुढ दल तगायतका साना रानीतिक दल र नागरिक समाजका सदस्यहरूले पनि तत्काल वार्ता मार्फत उनका माग सम्बोधन गरी जीवन रक्षाका लागि आवश्यक पहल कदमी लिनका लागि सरकारलाई दबाव दिएका थिए । सम्पादकीयमा पनि सरकारले केसीसँग वार्ता गर्नुपर्ने आवाज उठाईएको थियो । नेपाली कांग्रेसले सत्याग्रहको २२ औं दिनमा २२ मिनेट सत्याग्रहमा सहभागी भएको पनि समाचारमा उल्लेख छ ।

सत्याग्रहको प्रवृति हेर्दा सत्याग्रहको पक्षमा पर्याप्त समर्थन नरहेको देखिएको छ । केहि अपवाद बाहेक राजनीतिक दल लगायतका अन्य समुहहरू आआफ्नै स्वार्थमा केन्द्रित रहेको देखिन्छ । उनका मागमा सबैले ऐक्यवद्धता जनाएको भएता पनि डा. केसीसँग सत्याग्रमा कोही पनि सहभागी हुन सकेका छैनन् । सर्वसाधारणको पनि खासै चासो र ध्यान पुगेको देखिन्न । यी सन्दर्भहरूले गर्दा पनि सरकारले माग पुरा गर्नमा वेवास्ता गरेको देखिन्छ । डा.केसीको सत्याग्रहको विषयमा सञ्चार माध्यमहरुले प्रसस्त भूमिका खेलेको र अबको पालो सर्वसाधारणको भएको देखिन्छ ।

गत साता धेरै स्थान प्राप्त अर्को खबरमा भौतिक रूपमा विद्यालय खोल्न र  सञ्चालन गर्नमा अन्यौलता देखिएको तथा फरक फरक विकल्प खोजी गर्दै विभिन्न तहका परीक्षा सञ्चालन गरिएको विषय रहेका छन् ।

स्थानीय सरकारको निदेर्शानुसार मुलुकका विभिन्न स्थानमा विद्यालय खोलिएको विषयले साता भरि नै निरन्तरता पाएको छ । गत साता पनि विद्यालय पुनःसञ्चालन गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने हो कि भन्ने  विषयमा अभिभावक, विद्यार्थी र शिक्षकको चासो उच्च रहेको छ । सञ्चार माध्यमका अनुसार केन्द्रीय सरकार र स्थानीय सरकारले फरक फरक नीति लिइदिदा विद्यालय फेरी खोल्ने वा नखोल्ने भन्नेमा दुविधा देखिएको छ । संघीय सरकार र अन्तर्गतका निकायहरूले तत्काल विद्यालय खोल्न नहुने निर्देशन जारी गरिरहेका छन् । शिक्षा मन्त्रीले वर्तमान महामारीको अवस्थामा भौतिक रुपमा नै तत्काल विद्यालयहरू नखोल्न आग्रह गरेका छन् । संक्रमितको संख्या बढे पछी लिखु गाँउपालिकाका विद्यालयहरू पुन बन्द भएका र दोलखा जिल्ला प्रशासन कार्यालयले विद्यालय नखोल्न निर्देशन दिएका समाचारहरु पनि प्रकाशन भएका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकाले भने विद्यालयहरु खोलेको छ । अनलाईन कक्षाको कुनै संभावना नदेखिए पछि विद्यार्थी विद्यालय आउनका लागि बाध्य भएको प्रभात मा वि का प्रधानाध्यापकले बताएका छन् । हुम्लाको नाम्खा गाँउपालिका वडा नं ६ को लिमीमा अर्ध वार्षिक परीक्षा सम्पन्न भएको समाचार आएको छ ।

- शिक्षक तथा कर्मचारीमा कोरोना संक्रमण भएमा निशुल्क उपचार गर्ने नगरपालिकाको प्रतिवद्धता पश्चात चन्द्रागिरी नगरपालिकामा स्वास्थ्य मापदण्ड कायम गर्दै सञ्चालित कक्षा ३ मा पढाई हुँदै । असोज १४, कान्तिपुर दैनिक 

साताको सुरूमा भने छ महिनादेखि बन्द विद्यालय खोल्दा महामारीबाट बच्न आवश्यक स्वास्थ्य सम्बन्धी मापदण्ड पालन गर्दै विद्यार्थी विद्यालय फर्कन थालेका पश्चिम रुकुम, काभ्रे, खोटाङ, सिराहा, कालिकोट, सिन्धुपाल्चोक, महोत्तरी, तनहुँ, नवलपुर, लमजुङ्, बाग्लुङ् लगायतका जिल्लाबाट प्राप्त समाचार प्रकाशन भएका थिए ।

बालबालिकाको सिकाइमा परिवारको  पढेलेखेको एकजना मान्छेले सहयोग गर्ने गरि कुशे गाँउपालिका जाजरकोटमा “घरमा आधारित सिकाइ” कार्यक्रम थालनी भएको छ । चितवनमा भने कक्षा ६ माथिका बालबालिकाले भर्चुअल माध्ययमबाट र कक्षा ५ सम्मकाले घर नजिकै सानो समुहमा सिक्ने गरेको समाचार प्रकाशन भएको छ ।

जाडो सुरू हुनु अगाडी नै शैक्षिक सत्र पुरा गर्नै पर्ने भएकाले  कोभिड १९ को संक्रमण नदेखिएका हिमाली क्षेत्रका विद्यालयहरूलाई खोल्न दिनु पर्ने विचार एक ब्लग लेखमा मार्फत प्रस्तुत गरिएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत मन्त्रालयमा कक्षा १२ को परीक्षा सञ्चालनका विकल्पहरू सिफारिस गरिसकेको भएता पनि मन्त्रालयले निर्णय गर्न ढिला गरिरहेको भन्ने समाचार आएको छ ।

गण्डकी विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा सरकारले उपकुलपति नियुक्ति गरेको समाचार प्रकाशन भएको छ । यस्तै मध्यपश्चिम विश्वविद्यालयले १९ जना आवेदकहरु बीच प्रतिस्पर्धा गराएर रजिष्ट्रार छनोट गरेको पनि समाचार छ ।  नेपालका विश्वविद्यालयहरूको ईतिहासमै पहिलो पटक यसरी खुला प्रतिस्पर्धाबाट रजिष्ट्रारको नियुक्ति गरिएको हो ।

त्रिभुवन विश्वविद्यालय सम्बन्धी विषयहरुमा शिक्षा संकाय, एम. फिल. विषयका विद्यार्थीको परीक्षा फाराम भर्ने मिति असोज मसान्त सम्म भएको, कार्यालयका कर्मचारीमा संक्रमण देखिए पछि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय दुइ दिनका लागि बन्द भएको, त्रिभुवन विश्वविद्यालयको स्वर्ण पदक किन बेचको अपराधमा तीन जनालाई विशेष अदालतद्वारा कारवाही तथा जरिवाना गरिएको समाजशास्त्र केन्द्रिय विभागका सह प्राध्यापक माथि आक्रमण हुँदा गंभिर घाइते भएको विषय गत साताका प्रमुख खबर हुन् । 

साताका अन्य खबरमा सिन्धुलीमा निजी विद्यालयहरुको ५ महिनाको शुल्क नलिने निर्णय, वन विज्ञान अध्ययन संस्थान अन्तरगतको पोखरा क्याम्पसलाई ५० हजार अमेरिकी डलर बराबरको यूनेस्को फेलोसिप प्राप्त भएको, क्यानोपी नेपालद्वारा विद्यालय तहका बालबालिकालाई कथा वाचन र लेखनमा सहजीकरण, समान कामका लागि समान पारिश्रमिकको माग राख्दै पृथ्वीनारायण क्याम्पस पोखराका आंशिक शिक्षकहरु विरोधमा उत्रिएको, भारतको नयाँ दिल्लीमा अक्टोवर ३१ सम्मका लागि विद्यालय बन्द भएको, महामारि अगाडीसम्म शिक्षकका रुपमा कार्यरत व्यक्ति अहिले काठ मिस्त्री हुनु पुगेको, केशरमहल परीसरमा एनओसी लिनेको दिनहुँ घुइचो भएको, भरतपुर महानगरपालिकाको मेयर कार्यक्रम अन्तर्गत वडा नंम्बर पाँचका विपन्न परिवारका एक सय ३५ जना छात्रालाई साइकल वितरण र पाकिस्तानमा महामारीका कारण बन्द भएका सबै शैक्षिक संस्था पुन सञ्चालन भएका विषयहरु रहेका छन् ।

‘शिक्षामा यो साता’ छापा माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरले कान्तिपुर, द हिमालयन टाइम्स दैनिक र सेतो पाटी, नयाँ पत्रिका र दि रिपब्लिका अनलाइन पोर्टलहरूमा २०७७ असोज १४ देखि २० गते सम्म  प्रकाशित शिक्षा सम्वन्धि विषयवस्तुलाई आधार बनाई यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Lonely 'Satyagrahi'

प्रतिक्रिया